…संक्षेपमा.
- २०२४ मा फिनल्यान्डमा बिजुलीको बिलमा औसतमा ७ प्रतिशतले कमी।
- विद्युतीय ताप प्रयोग गर्नेहरूको औसत २१० युरो बचत।
- वायु ऊर्जाको उत्पादन बढेकोले बिजुलीको मूल्य घट्यो।
फिनल्यान्डको ऊर्जा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२४ मा फिनल्यान्डका घरपरिवारले बिजुलीको बिलमा सन् २०२३ को तुलनामा ७ प्रतिशत कम तिरेका छन्। यसमा बिजुलीको मूल्य, प्रसारण शुल्क र कर सबै समावेश छन्। औसतमा प्रत्येक घरपरिवारले वार्षिक ७५ युरो बचत गरेका छन् भने विद्युतीय ताप प्रयोग गर्नेहरूले औसत २१० युरो बचत गरेका छन्।
प्राधिकरणका अनुसार यदि धेरैजसो विद्युत वितरण कम्पनीहरूले प्रसारण शुल्क नबढाएको भए बचत अझ बढी हुन सक्थ्यो। प्रसारण शुल्कमा औसतमा २ प्रतिशतले वृद्धि भएको थियो। बिजुलीको बजार मूल्य घट्नु र उपभोक्ताहरूले सस्तो सम्झौताहरू रोज्नुले समग्र मूल्यमा कमी आएको हो। अहिले बिजुलीको लागत कोभिड महामारी र ऊर्जा संकटअघिकै अवस्थामा पुगेको छ।
२०२० देखि बिजुलीको मूल्य शून्य वा नकारात्मक समेत हुने गरेको छ। २०२२ मा यो विरलै हुने गरेकोमा, गत वर्ष यस्तो समय ९०० पटक पुगेको थियो । परिणामस्वरूप उपभोक्ताहरूले ३७ दिनसम्म बिजुली प्रयोग गर्दा प्रसारण शुल्क मात्र तिरे, बिजुलीको मूल्य तिर्नु परेन। यसको प्रमुख कारण वायु ऊर्जाको तीव्र बृद्धि हो। वायु ऊर्जाको उत्पादन उच्च हुँदा बिजुलीको मूल्य घट्छ भने हावा नचल्दा मूल्य बढ्छ। गत वर्ष बिजुली उत्पादनमा वायु ऊर्जाको हिस्सा २५ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्ष १८ प्रतिशत थियो। यद्यपि, बिजुलीको भण्डारणमा सुधार आउँदा शून्य मूल्यको समयमा कमी आउने अनुमान गरिएको छ।

फिनल्यान्डमा बिजुलीको मूल्यमा आएको कमीले उपभोक्ताहरूलाई राहत दिएको छ। वायु ऊर्जाको उत्पादनमा भएको वृद्धिले बिजुलीको मूल्यमा गिरावट ल्याएको छ, तर प्रसारण शुल्कमा भएको वृद्धिको कारणले यो लाभ केही कम भएको छ।
फिनल्यान्डको ऊर्जा व्यापार संघका अनुसार करसहितको कुल बिजुलीको मूल्य युरोपेली संघको औसतभन्दा केही कम छ। तर, बिजुलीको मूल्यमा फिनल्यान्ड युरोपमा तेस्रो सस्तो देश हो। फिनल्यान्डमा भन्दा स्वीडेन र नर्वेमा बिजुली अझै सस्तो छ। प्रसारण शुल्क र करको कारण फिनल्यान्डको मूल्य युरोपेली संघको औसतको नजिक पुगेको हो।
फिनिश ऊर्जा (Finnish Energy)का प्रबन्ध निर्देशक युक्का लेस्केलाका अनुसार कोइलामा निर्भर देशहरूमा बिजुलीको मूल्य निकै महँगो छ। फिनल्यान्डमा नवीकरणीय ऊर्जाले बिजुलीको मूल्य घटाउन मद्दत गरेको उनले बताए। उदाहरणका लागि, कोइलामा निर्भर पोल्यान्डमा बिजुलीको मूल्य फिनल्यान्डको भन्दा दोब्बरभन्दा बढी छ। साथै, फिनल्यान्डमा बिजुली उत्पादनबाट हुने उत्सर्जनमा भारी गिरावट आएको छ।





