संक्षेपमा
- विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेकालाई पिआर लिन धेरै सजिलो।
- विश्वविद्यालय र एप्लाइड साइन्स विश्वविद्यालयका स्नातकबिच विभेद।
- ४० हजार युरो कमाउनेलाई ४ वर्षमै पीआर।
फिनल्यान्ड सरकारले स्थायी बसोबास अनुमति (PR) सम्बन्धी कानुनमा संशोधन गर्दै आगामी ८ जनवरी २०२६ देखि नयाँ नियम लागू गर्ने भएको छ।
पिआर सम्बन्धी नयाँ व्यवस्थाले विशेष गरी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस (UAS) मा अध्ययनरत नेपाली लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मारमा पार्ने देखिएको छ।
फिनल्यान्डका UAS बाहेकका अन्य साधारण विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेकालाई भने पिआरमा निकै सहुलियत दिइएको छ।
नयाँ नियम अनुसार अब पिआर पाउन सामान्यतया ६ वर्ष फिनल्यान्डमा निरन्तर बसेको हुनुपर्नेछ। यसका साथै आवेदकले दुई वर्षको कार्य अनुभव र फिनिस वा स्वीडिस भाषाको पर्याप्त ज्ञान भएको प्रमाण पेस गर्नुपर्नेछ।
केही विशेष अवस्थामा भने ४ वर्षमै पिआर पाउन सकिने प्रावधान राखिएको छ। वार्षिक ४० हजार युरोभन्दा बढी आम्दानी हुने वा उत्कृष्ट भाषा ज्ञान भएकाहरूले यो सहुलियत पाउनेछन्।
यस्तै, फिनल्यान्डले मान्यता दिएको (विदेशी) विश्वविद्यालयबाट स्नातकोत्तर वा सोभन्दा माथिल्लो डिग्री (जस्तै एमफिल, पिएचडी) हासिल गर्नेहरूले पनि ४ वर्षमै पिआरका लागि आवेदन दिन सक्नेछन्।
तर नयाँ कानुनले स्नातक तहका विद्यार्थीहरूका बिचमा भने स्पष्ट विभेद गरेको छ। फिनल्यान्डका विश्वविद्यालयबाट स्नातक पूरा गर्नेहरूले निश्चित समय कुर्नु नपर्ने गरी पिआर आवेदन दिन पाउने सुविधा पाउनेछन्।
तर एप्लाइड साइन्स (UAS) विश्वविद्यालयबाट स्नातक गर्नेहरूलाई भने यो विशेष सहुलियतबाट वञ्चित गरिएको छ। उनीहरूले पिआर पाउनका लागि ६ वर्षको सामान्य अवधि वा ४ वर्षको विशेष सर्तहरू नै पूरा गर्नुपर्नेछ।

विद्यार्थी सङ्गठनको विरोध
विद्यार्थी सङ्गठन JAMKO लगायतले यो नियमको कडा विरोध गरेका छन्। उनीहरूका अनुसार एप्लाइड साइन्स विश्वविद्यालय र अन्य विश्वविद्यालयको डिग्रीको स्तर समान भए पनि कानुनले विभेद गर्नु अन्यायपूर्ण छ।
फिनल्यान्डमा रहेका नेपाली विद्यार्थीहरूको ठुलो हिस्सा एप्लाइड साइन्स विश्वविद्यालयमा अध्ययनरत छ। यो नयाँ नियमले धेरै नेपाली युवाहरूको भविष्य र स्थायी बसाइँको योजनामा अनिश्चितता थपेको छ।
संसदले पारित गरेको यो संशोधनले फिनल्यान्डको श्रम बजारमा आवश्यक दक्ष जनशक्तिलाई निरुत्साहित गर्न सक्ने देखिन्छ। एप्लाइड साइन्सका स्नातकहरू व्यावहारिक रूपमा दक्ष हुने भए पनि उनीहरूलाई कम प्राथमिकतामा राखिएको छ।
यदि कसैले ८ जनवरी २०२६ भन्दा अगाडि नै पिआरका लागि आवेदन दिएमा नयाँ नियम लागू हुने छैन। अध्यागमन विभाग मिग्रीका अनुसार ७ जनवरीको मध्यरात सम्म पुराना आवेदनहरू लिइने छ।
८ जनवरी वा त्यसपछि दिइने सबै आवेदनहरूमा नयाँ नियमहरू नै लागू हुनेछन्। आवेदन दिनुअघि सबै सर्तहरू पूरा भएको सुनिश्चित गर्न मिग्रीले आग्रह गरेको छ।





