नेपालीलाइनेनका बारे

नेपालीलाइनेन हेलसिन्की, फिनल्यान्डबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हाम्रो लक्षित पाठक वर्ग फिनल्यान्डमा रहेको नेपाली समुदाय हो। नेपालीलाइनेनको प्रकाशन सन् २०२५ को अप्रिल महिनादेखि शुरू भएको हो। यसको प्रकाशक फिनल्यान्डमा दर्ता भएको मिडिया कम्पनी Takura Communications & Publishing Oy हो। सोही कम्पनीले Suomi News नामको अङ्ग्रेजी अनलाइन पनि सञ्चालन गर्छ। 

नेपालीलाइनेनलाई सञ्चार र अनुसन्धानमा एक दशकभन्दा बढी अनुभव भएका मिडिया पेसाकर्मीहरू तथा अनुसन्धानकर्ताहरूले सञ्चालन गरेका हुन्। यसको नेतृत्व विगत १७ वर्ष देखि फिनल्यान्डमा बसेका र फिनल्यान्डको प्रतिष्ठित हेलसिन्की युनिभर्सिटीबाट अन्तराष्ट्रिय सम्वन्ध र विकास अध्ययनमा पिएचडी अनुसन्धान पुरा गरेका मनोज भुसालले गरेका छन्। नेपालीलाइनेनले फिनल्यान्डको आम सञ्चार परिषद् (JSN) द्वारा निर्देशित पत्रकारिता सिद्धान्तहरूको पालना गर्दछ र उच्च मिडिया नैतिकता र आचारसंहिता अनुरूप काम गर्छ।

नेपालीलाइनेन मार्फत तपाईँ फिनल्यान्ड र यहाँको नेपाली समुदायसँग सम्बन्धित समाचार, लेख, तथा विविध जानकारी प्राप्त गर्न सक्नुहुन्छ। हामी मुख्यतः हाम्रा सामाग्रीहरू नेपाली भाषामा प्रकाशित गर्छौँ तर कहिलेकाहीँ फिनिश र अङ्ग्रेजी भाषामा पनि समाचार र लेखहरू प्रकाशन गर्ने हाम्रो उद्देश्य छ। नेपालीलाइनेनमा एउटा डिजिटल लाइब्रेरी र Job Vacancies पोर्टल पनि बनाउने हाम्रो दीर्घकालीन सोच छ र त्यो दिशामा हामी काम गरिरहेका छौँ।

नेपालीलाइनेन हाम्रा सहयोगी सदस्यहरूको वार्षिक सदस्यतामा निर्भर छ। हाम्रा नियमित समाचारहरू सबै पाठकहरूलाई उपलब्ध भए पनि विशेष रिपोर्टहरू भने हाम्रा ‘सहयोगी सदस्य’हरूका लागि मात्र उपलब्ध छन्। नेपालीलाइनेनका सहयोगी सदस्यलाई प्रिमियम स्टोरिज, प्रिमियम अडियोहरू, प्रिमियम भिडियोहरूइभेन्ट क्यालेन्डर लगायतका सामाग्रीमा पहुँच हुन्छ। नेपालीलाइनेनको सहयोगी सदस्य बनी तपाईले फिनल्यान्डमा रहेको नेपाली भाषाको पहिलो नेपाली अनलाइन पत्रिकाको विकासमा ठुलो सहयोग पुर्याउनुहुन्छ।

नेपालीलाइनेनमा विज्ञापन दिई तपाई आफ्नो व्यापार व्यवसायलाई फिनल्यान्डमा बसोबास गर्ने करिब ११,००० नेपालीभाषीहरु माझ पुर्‍याउन सक्नुहुन्छ।

यो वेबसाइटका अलावा तपाई हामीसँग विभिन्न सामाजिक सञ्जालमा (फेसबुक, इन्स्टाग्राम, टिकटक, र लिकंडइन) जोडिन सक्नु हुन्छ। हाम्रै निगरानीमा चल्ने Nepali Society Finland नामको फेसबुक ग्रुपमा जोडिई फिनल्यान्ड सम्बन्धी विभिन्न सूचना र समाचारहरू पनि प्राप्त गर्न सक्नुहुन्छ।

नेपालीलाइनेन फिनल्यान्डमा बस्ने वा बाहिरै बसेर भएपनि फिनल्यान्डका बारे रूचि राख्ने नेपालीहरूको साझा चौतारी हो। नेपालीलाइनेनमा लेख रचनाहरू पठाएर तपाईं आफ्ना विचार र अनुभवहरू हाम्रा पाठकहरूमाझ बाढ्न सक्नुहुन्छ। तपाईं हामीलाई कुनै समाचार वा रिपोर्टिगंको बारे सुझाव दिन वा सिधै समाचार पनि पठाउन सक्नुहुन्छ। हामीलाई सम्पर्क गर्दा सम्पर्क फारम वा हाम्रो इमेल ([email protected]) प्रयोग गर्नुहोस्।  

नेपालीलाइनेन वेबसाइटमा विभिन्न जानकारीमूलक लेखहरू प्रकाशित गरिन्छ। हाम्रा समाचार र लेखहरूले विभिन्न प्रशासनिक प्रक्रिया, कानुनी विषयहरू, र स्वास्थ्य लगायतका क्षेत्रमा गहन जानकारी प्रदान गर्छन्। तर नेपालीलाइनेनमा प्रकाशित जानकारीहरू केवल सूचना प्रवाहका लागि मात्र हो। हामी प्रशासनिक सेवा, कानुनी परामर्श, शिक्षा, रोजगारी, वा स्वास्थ्य सल्लाहकार सेवा प्रदान गर्दैनौ।

नेपालीलाइनेनको गोपनीयता नीति, प्रयोगका सर्तहरू, र डाटा मेटाउने तरिकाका बारेमा पनि जानकारी लिनुहोस्।

फिनल्यान्डमा नेपालीहरू

Statistics Finland को पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको सँख्या १०,००० कटेको छ। सन् १९९० मा जम्मा १५ जना नेपाली नागरिकहरू फिनल्यान्डमा रहेको कुरा फिनिश सरकारी तथ्याङ्कमा उल्लेख छ। सो संख्या बढ्दै सन् २००० मा ९८, सन् २०१० मा ११३३ हुँदै सन् २०२० सम्म आउँदा ४००० नाघेको देखिन्छ। पछिल्ला वर्षहरूमा यो सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।

नेपाली आप्रवासीहरूको ठुलो हिस्सा विद्यार्थीहरू छन्। धेरै नेपालीहरू रेस्टुरेन्ट क्षेत्रमा पनि कार्यरत रहेका छन्। फिनल्यान्डका विभिन्न क्षेत्रमा रहेका नेपाली रेस्टुरेन्टको संख्या १०० नाघेको छ। यसबाहेक धेरै नेपालीहरू स्याहार-सुसार (care), लजिस्टिक्स (logistics) र अन्य विभिन्न क्षेत्रमा पनि संलग्न छन्। केही नेपालीहरू शिक्षा, अनुसन्धान, आइटी, तथा उद्यमशीलता (entrepreneurship) मा पनि सक्रिय छन्।

फिनल्यान्डको नेपाली समुदाय पनि सक्रिय छ। गैर आवासीय नेपाली सङ्घका अलावा धेरै नेपाली गैरसरकारी र सांस्कृतिक संस्थाहरू पनि छन्। यी संस्थाहरूले विभिन्न समयमा सांस्कृतिक कार्यक्रमहरू, चाडपर्वहरू तथा सामाजिक भेलाहरू आयोजना गरी नेपाली पहिचान र नेपाली भाषा प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै आएका छन्।

हाम्रा पार्टनरहरू

नेपालीलाइनेनको इभेन्ट पार्टनर फिनल्यान्डमा रहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी हाम्रो इभेन्ट्स हो। स्पोर्टिङ पार्टनर हिमालयन स्पोर्ट्स क्लब (HSC) हो।