यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। हाम्रो सहयोगी सदस्य बनी सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
विश्वभर क्रिसमसलाई उल्लासपूर्ण रूपमा मनाइन्छ। फिनल्यान्डमा पनि क्रिसमस यहाँको प्रमुख चाड हो। नेपालमा ‘कसले कसरी दसैँ मनायो’ भनेर मिडियाले लेखेजस्तै यहाँ पनि ‘कसले कसरी क्रिसमस मनायो’ भनेर मिडियाले निरन्तर रिपोर्टिङ्ग गर्छन्।
‘अस्पतालमा बिरामीको क्रिसमस’, ‘ड्युटीमा रहने कर्मचारीको क्रिसमस’, साथै ‘घरबारविहीनहरूको क्रिसमस’ आदी हेडलाइनमा फिचरहरू आउँछन्।
यसै मेसोमा नेपालीलाइनेनले फिनल्यान्डका जेलमा चाहिँ कैदीहरूले क्रिसमस कसरी मनाउँछन् भन्ने विषयमा लेखिएका विभिन्न स्टोरीहरू अध्ययन गरेर यो रिपोर्ट तयार गरेको हो।
जेलमा पनि हुन्छ क्रिसमसको चहलपहल
फिनल्यान्डको कारागार प्रणाली संसारकै सबैभन्दा मानवीय मध्ये एक मानिन्छ। यो ‘नर्मालिटी प्रिन्सिपल’मा आधारित छ। यसको अर्थ कारागारभित्रको जीवन सकेसम्म बाहिरी समाजको जस्तै हुनुपर्छ भन्ने हो।
यद्यपि क्रिसमसका बेला पनि बाहिरको जस्तो उल्लासमय वातावरण भने कारागारमा हुँदैन। यी ‘उदार’ भनिएका कारागारहरूमा पनि खास गरि क्रिसमसजस्ता चाडका बेला एक किसिमको भारी मौनता हुन्छ र कैदीहरूमाझ घरको सम्झनाले डेरा जमाउँछ।
जति नै उदार भए पनि कारागारको अग्लो पर्खालभित्रको संसार भने अलि फरक नै हुन्छ।
“यहाँ सान्ता आउने वाला छैनन्,” भान्ता कारागारकी इकाई प्रबन्धक अन्निका फिनबर्गले हेलसिन्गीन उतिसेतले लेखेको एक रिपोर्टमा भन्छिन्, “यो मनोरञ्जन केन्द्र होइन, कारागार हो। तर यसको अर्थ यहाँ क्रिसमस मनाइँदैन भन्ने चाहिँ होइन।”
उक्त पत्रिकाका अनुसार भान्ता कारागारमा हाल ३२० देखि ३४० जना कैदीहरू छन्। तीमध्ये अधिकांश पुर्पक्षका लागि थुनामा रहेकाहरू हुन्। यहाँ क्रिसमसको चहलपहल बाहिरी संसारको तुलनामा निकै कम देखियो। केही वार्डहरूमा एउटा सानो क्रिसमस ट्री र केही सजावटका सामान राखिएका थिए।
कारागारहरूमा चाडपर्वको मुख्य आकर्षण भनेकै खाना हो। कैदीहरूलाई परम्परागत फिनिस क्रिसमस खाना जस्तै सुँगुरको मासु/ह्याम, क्रिसमसका हलुवाहरू, उसिनेको आलु र क्रिसमस टार्ट दिइन्छ। धेरैजसो कारागारमा कैदीहरू आफैँले भान्सामा यी परिकारहरू बनाउन सहयोग गर्छन्।
तर कारागारमा कैदीहरूले चाहे जति भने खान पाउँदैनन्। बाहिर मानिसहरू अघाउन्जेल खान्छन्, तर कारागारमा भने भाग लगाइएको खाना मात्र उपलब्ध हुन्छ।
‘क्रिसमस शान्ति’ को अलिखित सम्झौता
मध्य फिनल्यान्डको कुओपियो कारागारका आपराधिक अनुसन्धान सुपरभाइजर तेमु मात्ताले YLE को फिचरमा बताए अनुसार कारागारभित्र क्रिसमसको छुट्टै मनोविज्ञान हुन्छ। क्रिसमस नजिकिँदै गर्दा कैदीहरूमा एक प्रकारको गम्भीरता र शान्ति छाउँछ।
“उनीहरू यो समयमा यहाँ होइन, कतै अरू नै ठाउँमा हुनुपर्ने थियो भन्ने कैदीहरूलाई महसुस हुन्छ,” मात्ता भन्छन्। “त्यसैले उनीहरूमाझ एउटा अलिखित सम्झौता हुन्छ—क्रिसमसमा झगडा नगर्ने। सानातिना कुरामा विवाद नगरी शान्त बस्ने कोसिस उनीहरूले गर्छन्।”
अर्थात् फिनल्यान्डको ७०० वर्ष पुरानो “क्रिसमस शान्ति” घोषणाको परम्परालाई जेलभित्र पनि सम्मान गरिन्छ। यो समयमा जेलभित्रको तनाव र झैँ-झगडा तुलनात्मक रूपमा कम हुने कर्मचारीहरूको अनुभव छ।
क्रिसमसको दिनमा कैदी बस्ने सेलका ढोकाहरू अरू दिनभन्दा केही बढी समयका लागि खुला राखिन्छन्। तर धेरै कैदीहरू बाहिर निस्कनुको साटो आफ्नै कोठामा एक्लै बस्न रुचाउँछन्।
“हुन सक्छ उनीहरूले जीवनमा गलत निर्णयहरू गरे होलान्, तर बाल्यकालका मिठा यादहरू, परिवार र प्रियजनसँग बिताएका पलहरू उनीहरूको मानसपटलमा घुमिरहन्छन्। त्यो एकान्त उनीहरूको त्यही यादसँगको सामीप्यता हो।” मात्ता भन्छन्।
बाहिर बस्नेले क्रिसमसका बेला उपहार लिने र दिने खुबै गर्छन्। तर के कैदीहरूले क्रिसमसको उपहार पाउँछन् त?
कारागारमा नियम अलि कडा छ। परिवार र साथीभाइले लुगाफाटा वा अन्य सामान पठाउन सक्छन्, तर ती उपहारहरू ‘गिफ्ट र्याप’ वा आकर्षक कागजले बेरिएका हुनुहुँदैन।
“यदि कसैले उपहार प्याक गरेर ल्यायो भने, हामीले त्यसलाई खोल्नै पर्छ। सुरक्षा जाँच नगरी कुनै पनि सामान भित्र जाँदैन,” फिनबर्गले Helsingin Uutiset को फिचरमा भन्छिन्। त्यसैले धेरै परिवारहरूले झन्झट बेहोर्नुभन्दा कैदीको बैङ्क खातामा पैसा जम्मा गरिदिन्छन्। त्यही पैसाबाट उनीहरूले कारागारको क्यान्टिनमा मिठाई वा अन्य खानेकुरा किन्न सक्छन्। यद्यपि क्रिसमसको सार्वजनिक बिदामा क्यान्टिन पनि बन्द रहन्छ।
भेटघाटको समय पनि अरू दिनजस्तै सीमित हुन्छ—निरीक्षणसहितको भेट ४५ मिनेट र बिना निरीक्षणको भेट ३ घण्टा।
फिनल्यान्ड आफैँ पनि अहिले फेरिएको छ। फिनल्यान्डका कारागारहरूमा अहिले विदेशी मूलका र विभिन्न धर्मावलम्बी कैदीहरूको सङ्ख्या बढ्दो छ। सबै कैदीहरू इसाई धर्म मान्दैनन्।
बहु-सांस्कृतिक बन्दै छन् कारागार
फिनल्यान्ड आफैँ पनि अहिले फेरिएको छ। फिनल्यान्डका कारागारहरूमा अहिले विदेशी मूलका र विभिन्न धर्मावलम्बी कैदीहरूको सङ्ख्या बढ्दो छ। सबै कैदीहरू इसाई धर्म मान्दैनन्।
कतिपयलाई त क्रिसमसको सजावट नै मन पर्दैन। फिनबर्ग भन्छिन्, “हामीले सबैको भावनाको कदर गर्नुपर्छ। धेरै कैदीहरू क्रिसमसलाई कुनै पर्वका रूपमा लिँदैनन्, त्यसैले हामी यसलाई धेरै तामझामपूर्ण बनाउँदैनौँ।”
जेलका पादरीले आयोजना गर्ने क्रिसमस प्रार्थनामा पनि सबै कैदी सहभागी हुन पाउँदैनन्। सुरक्षाका कारण र कतिपय कैदीहरूलाई अन्यसँग सम्पर्क गर्न निषेध गरिएको हुनाले यस्ता प्रार्थनाहरू साना समूहहरूमा मात्र सीमित गरिन्छ।
केही कैदीहरू क्रिसमस क्यारोल (भजन) गाउने कार्यक्रममा पनि सहभागी हुन्छन्। Maaseudun Tulevaisuus पत्रिकाको एक रिपोर्ट अनुसार कतिपय कारागारमा पास्टरहरूले कैदीहरूलाई नयाँ वर्षको क्यालेन्डर र साना उपहारहरू पनि बाँड्ने गर्छन्।
के क्रिसमसमा कारागारका गार्डहरू अलि नरम र फरक हुन्छन्? तेमु मात्ताका अनुसार नियम सबैका लागि सधैँ समान हुनुपर्छ। तर गार्डहरू पनि मानिस नै हुन् भन्ने उनी स्वीकार गर्छन्।
“मानवीय भावना कहिलेकाहीँ नियमभन्दा अलि माथि जान सक्छ। कसैमा क्रिसमसको भावना बढी छ भने उनीहरूको व्यवहारमा अलि बढी लचकता वा दया देखिन सक्छ,” उनी भन्छन्।
परिवारसँगको सम्पर्कलाई प्राथमिकता
क्रिसमसको समयमा कारागार प्रशासनले कैदीहरूको परिवारसँगको सम्पर्कलाई प्राथमिकता दिन्छन्। भिडियो कल र भेटघाटमा पनि अलि लचकता अपनाइन्छ।
विशेष गरी महिला जेलहरूमा (जस्तै हामेनलिन्ना जेल) आमाहरूका लागि आफ्ना बच्चाहरूसँग समय बिताउन विशेष प्रबन्ध मिलाइन्छ। MTV Uutiset को एक रिपोर्ट अनुसार जेलभित्र बालबालिकाहरूका लागि सान्ता आउने र उपहार दिने कार्यक्रमहरू समेत गरिन्छ।
जसले आफ्नो सजायको निश्चित भाग काटिसकेका छन् र जसको व्यवहार राम्रो छ, उनीहरूलाई क्रिसमस मनाउन केही दिनका लागि घर जाने अनुमति समेत दिइन्छ।








