यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
.संक्षेपमा.
- नर्डिक क्षेत्रकै सबैभन्दा ठूलो तिब्बती बौद्ध मठको फिनल्यान्डमा स्थापना।
- फिनल्यान्डमा बुद्ध धर्मका अनुयायी बढे, स्थानीय फिनिसहरूको पनि आकर्षण बढ्यो।
- बौद्ध मन्दिरहरू स्थापना गर्न थाई महिलाहरूको विशेष भूमिका।
फिनल्यान्डको योकियोइनेन सहरमा गत अगस्त महिनामा एउटा विशेष समारोहको आयोजना भयो। विश्वभरीबाट भिक्षुहरू, लामाहरू र भिक्षुणीहरूसहित ३०० जना भन्दा बढी अतिथिहरू आएर त्यहाँ निर्मित नयाँ स्तुपाको पवित्रीकरण समारोहमा सहभागी भए।
यो नयाँ स्तुपा थपिएपछि योकियोइनेनको बौद्ध मन्दिर नर्डिक क्षेत्रकै सबैभन्दा ठूलो बौद्ध मठ/मन्दिर बनेको छ।
गत समरमा निर्माण सम्पन्न भएको उक्त स्तुपा फिनल्यान्डकै सबैभन्दा ठूलो त हुने नै भयो। उक्त स्तुपाभित्र एक लाखभन्दा बढी मन्त्रहरू, अवशेषहरू र पवित्र वस्तुहरू राखिएका छन्।
उक्त स्तुपा फिनल्यान्डको दानकोशा लिङ्ग बौद्ध समुदायको आध्यात्मिक केन्द्र बनेको छ।
अगस्टमा भएको पवित्रीकरण समारोहको नेतृत्व उत्तरी भारतको मिन्द्रोलिङ मठकी सम्मानित महिला शिक्षिका एच.एच. जेत्सुन खान्द्रो रिनपोछेले गरेकी थिइन्।
फिनल्यान्डमा बौद्ध धर्मको बढ्दो लोकप्रियता
फिनल्यान्डमा बौद्ध धर्म मान्नेहरूको संख्या निरन्तर वृद्धि भइरहेको देखिएको छ। यो वृद्धि आप्रवासन र स्थानीय फिनिसहरूको बढ्दो चासो दुवैका कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन्।
पहिलो त थाइल्याण्ड, भियतनाम, र चीन जस्ता देशहरूबाट फिनल्यान्डमा बसाइँ सर्ने मानिसहरूको संख्या बढेकोले बौद्ध धर्मावलम्बीहरूको संख्या पनि बढेको हो। संख्यामा थोरै भएपनि नेपालबाट समेत बौद्ध धर्म मान्ने मानिसहरू फिनल्यान्ड बसाइँ सरेका छन्।
कुनै समय आफैँ बौद्ध भिक्षुको रूपमा अध्ययन गरेका हामेनलिन्नाका अनुसन्धानकर्ता योहानेस केयर्न्सकाअनुसार आप्रवासी पृष्ठभूमि भएका बौद्धहरूको संख्या फिनल्यान्डमा गत दस बर्षमा दोब्बर भएर २०,००० भन्दा बढी पुगेको छ।
सरकारी तथ्याङ्क अनुसार आधिकारिक रूपमा दर्ता भएका बौद्ध धर्मावलम्बीहरूको संख्या भने त्यो भन्दा निकै थोरै करिब २००० छ।
स्थानीय फिनिसहरुका लागि बौद्ध धर्ममा चासो प्रायः आध्यात्मिक खोजीबाट उत्पन्न हुन्छ। ध्यान र सचेतनताको लोकप्रियताले पनि भूमिका खेलेको छ।
सन् २००० को दशकको सुरुदेखि फिनल्यान्डमा स्थानीय फिनिसहरूको नेतृत्वमा ३० भन्दा बढी बौद्ध समुदायहरू गठन भएको देखिन्छ। जसमा तिब्बती र जेन बौद्ध धर्म सबैभन्दा धेरै छन्। यो क्रम निरन्तर छ, र बढिरहेको छ।
हाल फिनल्यान्डमा करिब ४० वटा विभिन्न बौद्ध संघ-संस्थाहरू र गुम्बाहरू सक्रिय छन्। हेलसिन्की, तुर्कु र अन्य शहरहरूमा गुम्बाहरू स्थापना भएका छन्।
थाई महिलाहरू छन् मन्दिर निर्माणमा सक्रिय
हेलसिन्की विश्वविद्यालयकी अनुसन्धानकर्ता मित्रा हार्कोनेनले फिनिश बौद्ध धर्ममा थाई महिलाहरूको भूमिकाको अध्ययन गरेकी छिन्।
अचम्मको कुरा त के छ भने फिनिसहरूसँग विवाह गरेर फिनल्यान्ड बसाइँ सरेका धेरै थाई महिलाहरू बौद्ध धर्म सम्बन्धी कार्यक्रमहरूको सक्रिय आयोजक र धार्मिक नेताहरू नै छन्।
नुर्मियार्भी, तुर्कु, लोह्या र ताम्पेरेजस्ता सहरहरूमा थाई बौद्ध मन्दिरहरू स्थापना र सञ्चालन गर्नेहरू पनि उनीहरू नै हुन्।
कोष सङ्कलन गर्ने, भिक्षुहरूलाई बोलाउने, र मन्दिर सञ्चालन कायम राख्ने सबै कामको नेतृत्व उनीहरूले नै गर्छन्।
स्थानीय मानिसहरुका लागि बौद्ध धर्ममा चासो प्रायः बढ्दो धर्मनिरपेक्ष समाजमा आध्यात्मिक खोजीबाट उत्पन्न हुन्छ। ध्यान र सचेतनताको लोकप्रियताले पनि भूमिका खेलेको छ।
फिनिस युवाहरूमा बढ्दो छ चासो
हार्कोनेनले सन् २०२२ मा बौद्धको रूपमा आफूलाई पहिचान गर्ने वा बौद्ध धर्म अभ्यास गर्ने २०-४० वर्ष उमेरका फिनिस युवाहरूको अनुभव अध्ययन गरेकी थिइन्।
सर्वेक्षणका ५६ उत्तरदाताहरूमध्ये आधाभन्दा बढीले कुनै न कुनै बौद्ध समुदायमा आबद्ध भएको बताएका थिए।
“म युवाहरूको बीचमा बौद्ध धर्मप्रति धेरै सकारात्मक चासो देख्छु। बौद्ध धर्मलाई अन्धविश्वासको रूपमा नभएर मानसिक अभ्यास र दर्शनको रूपमा लिइन्छ,” हार्कोनेनले फिनिस सार्वजनिक प्रसारण YLE लाई दिएको एउटा अन्तर्वार्तामा भनेकी छन्।
“म बौद्ध धर्मका कट्टर अभ्यासकर्ताहरू देख्छु। उनीहरू धेरै गम्भीर छन्। धेरै अभ्यास गर्छन्। समुदाय र धर्मगुरूसँग गहिरो सम्बन्ध राख्छन्। तिनीहरू सबै बौद्ध समुदायहरूमा छन् र प्राय: युवा पुरुषहरू हुन्।” उनी भन्छिन्।
फिनल्यान्डमा स्थानीय नागरिकहरूमा पनि ध्यान योग र बौद्ध दर्शनप्रति आकर्षण बढिरहेको देखिन्छ। धेरै फिनिसहरूले यसलाई धर्मभन्दा पनि जीवन जिउने कला वा मानसिक शान्तिको माध्यमका रूपमा अपनाइरहेका छन्।








