यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- महिलाको हत्या अत्यधिक क्रूर र निर्मम ढंगले गरिएको प्रहरीको प्रारम्भिक अनुमान।
- ६९ वर्षीय संदिग्ध श्रीमान् गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना।
- संदिग्ध व्यक्तिको कुनै अरु आपराधिक रेकर्ड छैन।
गत शनिवार हेलसिन्कीको माल्मिनकार्तानोमा भएको महिलाको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति उनकै श्रीमान रहेको खुलेको छ।
हेलसिन्की प्रहरीले मृतकका ६९ श्रीमानलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा अनुसन्धान अघि बढाएको हो।
शनिबार हेलसिन्कीको माल्मिनकार्तानोस्थित एक निजी घरमा करिब ७० वर्षीया महिला मृत फेला परेकी थिइन्।
घटनास्थलमा प्रहरी पुग्दा मृतक महिलाका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका थिए। यो जोडी एउटै अपार्टमेन्टमा बस्दै आएका थिए।
प्रहरीका अनुसार यो घटना अत्यधिक क्रूर र निर्मम तरिकाले घटाइएको देखिन्छ। त्यसैले यसलाई साधारण हत्या नभई जघन्य अपराधको शीर्षकमा अनुसन्धान गरिँदैछ।
प्रहरीका अनुसार मृतक महिलाको शरीरमा हिंसाका स्पष्ट संकेतहरू देखिएका छन्। तर हत्या कसरी गरियो भन्नेबारे प्रहरीले विस्तृत जानकारी अझै दिएको छैन।
शनिबार दिउँसो साढे २ बजे प्रहरीले घटनाको सूचना पाएको थियो। मृतकका आफन्तले लामो समयसम्म सम्पर्क गर्न नसकेपछि चिन्तित भई मद्दतका लागि ११२ मा खबर गरेका थिए।
प्रहरी घटनास्थलमा पुग्दा अपार्टमेन्टमा दम्पती बाहेक अन्य कोही नभएको बताइएको छ। घाइते अवस्थामा भेटिएका पुरुषलाई तत्काल अस्पताल लगिएको थियो।
अस्पतालमा उपचाररत ती पुरुषको अवस्था अहिले स्थिर रहेको बताइएको छ। स्वास्थ्य स्थितिकै कारण प्रहरीले उनीसँग अहिलेसम्म बयान लिन सकेको छैन।
हेलसिन्की प्रहरीको हिंसात्मक अपराध शाखाले प्राविधिक जाँच र सोधपुछमार्फत अनुसन्धान जारी राखेको छ। संदिग्ध व्यक्तिलाई बुधबार अदालतमा पेस गरी थप अनुसन्धानका लागि थुनामा राख्ने तयारी गरिएको छ।
अनुसन्धानबाट खुले अनुसार यो दम्पती उक्त अपार्टमेन्टमा भर्खरै मात्र बसाइँ सरेको फिनल्यान्डको सार्वजनिक प्रशारण संस्था YLE ले लेखेको छ। अपार्टमेन्टको ढोका वा सूचना बोर्डमा उनीहरूको नामसमेत परिवर्तन गर्न भ्याइएको थिएन।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको कुनै पनि पूर्व आपराधिक पृष्ठभूमि अर्थात् क्रिमिनल रेकर्ड छैन।
माल्मिनकार्तानो हेलसिन्कीको पश्चिमी भागमा पर्ने एक आवासीय क्षेत्र हो। यो क्षेत्रमा धेरै आप्रवासी तथा विद्यार्थीहरूको बसोबास रहेको छ।
फिनल्यान्डलाई विश्वकै सुरक्षित देशहरूमध्ये एक मानिए पनि यहाँ हुने अधिकांश हत्याका घटनाहरू घरायसी विवाद वा मादक पदार्थको सेवनसँग जोडिएका हुन्छन्।
फिनिस कानुन अनुसार ‘हत्या’ (Murha) र ‘मानव वध’ (Tappo) बीच फरक हुन्छ। योजनाबद्ध वा अत्यधिक क्रूर तरिकाले मानिस मारेको खण्डमा त्यसलाई ‘हत्या’ भनिन्छ र यसको सजाय आजीवन कारावास हुन सक्छ।








