यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
हेलसिन्की, फिनल्यान्ड – युरोपको सुरक्षा परिदृश्यमा नाटकीय परिवर्तन र रुसको युक्रेन आक्रमणले ल्याएको चिन्ताबिच फिनल्यान्डले नेटो सदस्यता मात्र लिएन संयुक्त राज्य अमेरिकासँग एक महत्त्वपूर्ण रक्षा सहयोग सम्झौता (Defense Cooperation Agreement – DCA) मा हस्ताक्षर गर्यो। डिसेम्बर २०२३ मा वासिङ्टन डी.सी. मा सम्पन्न यो सम्झौताले फिनल्यान्डको दसकौँ लामो तटस्थताको नीतिलाई औपचारिक रूपमा अन्त्य गर्दै नेटो सदस्यता पछिको नयाँ सुरक्षा मार्गचित्र कोर्यो। DCA सम्झौताका फाइदा र जोखिमहरू के-के छन्? फिनल्यान्डले आफ्नो रक्षा र विदेश नीतिमा किन यति ठुलो परिवर्तन गर्यो? फिनल्यान्डमा अमेरिकी सेना र हतियार राख्दाका जोखिमहरू के-के छन्? नेपालीलाइनेनको यो विशेष लेख यिनै विषय वरिपरि घुमेको छ।
युक्रेनमाथि भएको रुसी आक्रमण पश्चात् फिनल्याण्डले आफ्नो सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्याउँदै अप्रिल २०२३ मा नेटोको पूर्ण सदस्य बन्यो। शीतयुद्धकालदेखि नै असंलग्नता र तटस्थताको नीति अपनाएको फिनल्याण्डका लागि यो सम्झौता एक ऐतिहासिक कदम थियो।
तर फिनल्यान्ड नेटो सदस्यतामा मात्र सन्तुष्ट भएर भने बसेन। नेटो सदस्यता लिएको करिब ८ महिना पछि १८ डिसेम्बर २०२३ का दिन वाशिंगटन डिसीमा फिनल्यान्ड र अमेरिकाले नयाँ द्विपक्षीय रक्षा सहयोग सम्झौता (डीसीए) मा हस्ताक्षर गरे।

फिनल्याण्डका रक्षा मन्त्री आन्ती हाक्कानेन (एनसीपी) र त्यो बेलाका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। समारोहमा फिनल्याण्डकी विदेश मन्त्री एलिना भाल्तोनेन पनि सहभागी थिइन् ।
फिनल्याण्ड र संयुक्त राज्य अमेरिकाबिचको नयाँ रक्षा सम्झौताबारे फिनिश मिडियाहरूले महत्त्वपूर्ण कभरेज दिई लामो समयसम्म रिपोर्टिङ गरेका थिए।
हस्ताक्षर समारोहमा बोल्दै अमेरिकी विदेश मन्त्री ब्लिन्केनले फिनल्यान्ड र अमेरिकाबिचको सम्बन्धको प्रशंसा गरेका थिए। उनले सन् २०२३ फिनल्याण्ड र संयुक्त राज्य अमेरिकाबिचको सहकार्यको दृष्टिले ऐतिहासिक रहेको बताएका थिए।
फिनल्याण्डले नेटोको नयाँ सदस्यको रूपमा पुर्याएको योगदानको पनि उनले प्रशंसा गरेका थिए।
“फिनल्याण्डले नेटो गठबन्धनमा पहिले नै महत्त्वपूर्ण योगदान दिइरहेको छ,” उनले भनेका थिए। “प्राविधिक विशेषज्ञता सेयर गर्दै, नेटो सैन्य अभ्यासहरू आयोजना गर्ने र त्यसमा सामेल हुने, रक्षामा जीडीपीको दुई प्रतिशत खर्च गर्ने लक्ष्यलाई पुरा गर्ने काम पनि फिनल्याण्डले गरिसकेको छ।”
DCA सम्झौतालाई फिनिश संसदले २०२४ जुलाई १ मा र राष्ट्रपति साउली निनिस्तोले २०२४ जुलाई ५ मा अनुमोदन गरेका थिए।


नयाँ सम्झौता पछि अमेरिकाले छोटो सूचनाकै आधारमा फिनल्याण्डमा सेना पठाउन सक्ने भयो र आफ्ना हतियारहरू भण्डारण गर्न सक्ने भयो।
रूसको कडा प्रतिक्रिया
फिनल्याण्डसँग १३४० किलोमिटर भन्दा लामो सिमाना सेयर गर्ने पूर्वी छिमेकी रूसले DCA सम्झौता पछि कडा प्रतिक्रिया दियो जुन अपेक्षित नै थियो। २०२३ डिसेम्बर १९ मा रूसले फिनिश राजदूत आन्ती हेलान्टेरालाई आफ्नो विदेश मन्त्रालयमा सम्झौताप्रति चासो व्यक्त गर्न बोलाएको थियो। रूसी अधिकारीहरूले फिनल्याण्डले अमेरिकालाई आफ्ना सैन्य आधारहरूमा पहुँच दिनु क्षेत्रीय स्थिरतामा खतरा हो र हामी आवश्यक कदम चालिरहेका छौं भन्ने प्रतिक्रिया दिएका थिए। त्यसपछि पनि अमेरिका र फिनल्याण्डबीचको रक्षा सहयोग सम्झौतामा रूसले नकारात्मक प्रतिक्रिया जनाएको छ। रूसले यसलाई आफ्नो सुरक्षाको लागि खतराको रूपमा हेरेको छ र यसले बाल्टिक क्षेत्रमा तनाव बढाउने चेतावनी दिएको छ। रुसी अधिकारीहरूले यो सम्झौताले यस क्षेत्रमा सैन्य गतिविधि बढाउने दाबी गरेका छन्।
रूसले बारम्बार नेटोको विस्तारलाई आफ्नो सिमानामा सुरक्षा खतराको रूपमा व्याख्या गरेको छ। फिनल्याण्डको नेटो सदस्यता र अमेरिकासँगको रक्षा सम्झौतालाई रूसले आफ्नो सुरक्षा स्थितिमा भएको उल्लेख्य परिवर्तनको रूपमा लिएको छ।
यद्यपि रूसको प्रतिक्रियालाई लिएर धेरै अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषकहरूले विभिन्न धारणा राखेका छन्। कतिपयले यसलाई रूसको आफ्नो प्रभाव क्षेत्र जोगाउने प्रयासको रूपमा हेर्छन् भने अरूले यसलाई नेटोको विस्तारले रूसलाई थप आक्रामक बनाउन सक्ने चेतावनीको रूपमा लिएको देखिन्छ।
के छ DCA सम्झौतामा?
DCA सम्झौताले अमेरिकी सेनालाई फिनल्याण्डका १५ वटा रणनीतिक सैन्य आधारहरू र क्षेत्रहरूमा पहुँच प्रदान गर्छ। यसमा प्रमुख हवाई अड्डाहरू (जस्तै रोभानिएमी, कुओपियो-रिसाला), नौसैनिक अड्डा (उप्पिनिएमी, टुर्कु), स्थल सेनाका ग्यारिसन क्षेत्रहरू र भण्डारण स्थलहरू समावेश छन्। सम्झौता अनुसार अमेरिकी सेनाले यी क्षेत्रहरूलाई निम्न उद्देश्यका लागि प्रयोग गर्न सक्नेछन्:
- तालिम र अभ्यास: फिनिस सेनासँग संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने।
- उपकरण भण्डारण: सैन्य सामग्री, हतियार र उपकरणहरू पूर्व-स्थापित (pre-position) गर्ने।
- लजिस्टिक्स: इन्धन भर्ने, मर्मत सम्भार गर्ने र अन्य लजिस्टिक गतिविधि सञ्चालन गर्ने।
- अस्थायी उपस्थिति: आवश्यकता अनुसार अमेरिकी सैनिकहरूको अस्थायी तैनाथी।
यो सम्झौताले अमेरिकी सेनाको फिनल्याण्डमा स्थायी आधार स्थापना गर्ने भन्दा पनि आवश्यकता अनुसार पहुँच र सुविधा सुनिश्चित गर्ने कुरामा जोड दिएको छ। “यो सम्झौता हाम्रो रक्षालाई बलियो बनाउने र अमेरिका तथा अन्य नर्डिक देशहरूसँगको सहकार्यलाई गहिरो बनाउने महत्वपूर्ण औजार हो,” सम्झौता हस्ताक्षरपछि मन्त्री ह्याकानेनले भनेका थिए।
DCA सम्झौताका कारण अमेरिकी हतियारहरू फिनिश भूमिमा भण्डारण गर्न मिले पनि आणविक हतियारहरूको सम्बन्धमा भने यो सम्झौताले कुनै प्रभाव पार्ने छैन। फिनल्याण्डको विद्यमान कानुनले फिनिश भूमिमा आणविक हतियारहरूको भण्डारण र ढुवानीलाई निषेध गरेको छ।
छोटकरीमा DCA
| विवरण | विवरण |
|---|---|
| हस्ताक्षर मिति | २०२३ डिसेम्बर १८ |
| लागू मिति | २०२४ सेप्टेम्बर १ |
| सैन्य आधारहरूको संख्या | १५ |
| मुख्य उद्देश्य | रक्षा सामग्री भण्डारण, तालिम, संकटको समयमा सहयोग |
| NATO सम्बन्ध | फिनल्याण्डको NATO सदस्यता दायित्व पूरा गर्न मद्दत गर्छ |
| रूसी प्रतिक्रिया | क्षेत्रीय स्थिरतामा खतरा भनी चासो व्यक्त, कदम चाल्ने घोषणा |
DCA सम्झौताले निम्त्याएको शङ्का
हेलसिन्की सानोमात पत्रिकाका अनुसार नयाँ रक्षा सम्झौताले अमेरिकालाई फिनिश भूमि प्रयोग गर्न सहज बनाइदियो। जस्तो नर्वेमा समेत गर्न नसकिने कतिपय कुराहरू फिनल्याण्डमा गर्न अमेरिकी सेना सक्षम हुने भयो।
नयाँ सम्झौता पछि अमेरिकाले छोटो सूचनाकै आधारमा फिनल्याण्डमा सेना पठाउन सक्ने भयो। DCA सम्झौताले अमेरिकी सेनालाई फिनल्यान्डमा सैन्य पूर्वाधार निर्माणका लागि अमेरिकी कँग्रेसले पठाएको रकम प्रयोग गर्न पनि अनुमति दियो।
अर्कोतर्फ अमेरिकी सैनिकहरू फिनल्याण्डमा प्रशिक्षण र अभ्यासका लागि पहिले भन्दा सहज रूपमा आउन सक्ने भए।
माथि भनिएझै DCA सम्झौताका कारण फिनल्याण्डले आफ्ना करिब १५ सैन्य क्षेत्रहरू अमेरिकी सेनाको प्रयोगको लागि उपलब्ध गराउनु पर्ने भयो। अमेरिकाले आफूलाई उपलब्ध यी सैन्य क्षेत्रहरूमा आफ्ना हतियार र अन्य सैन्य आपूर्तिहरू भण्डारण गर्न सक्ने भयो।
फिनल्याण्डको नेटो सदस्यताले नै उसको परम्परागत सैनिक तटस्थताको नीतिलाई समाप्त गरिसकेको थियो। DCA ले यस नयाँ यथार्थलाई थप मजबुत बनायो। यो सम्झौताले फिनल्याण्डलाई नेटोको सामूहिक सुरक्षा छाताभित्र मात्र नभई अमेरिकासँग प्रत्यक्ष र बलियो द्विपक्षीय सुरक्षा सम्बन्ध स्थापित गर्न मद्दत पुऱ्याएको धेरैको टिप्पणी छ। विश्लेषकहरूका अनुसार रुससँग १३४० किलोमिटर लामो सीमा जोडिएको फिनल्याण्डका लागि यो सम्झौता उसको सुरक्षा सुनिश्चित गर्ने एक व्यावहारिक र आवश्यक कदम हो।
नेटोमा हुँदाहुँदै किन फिनल्यान्डले DCA सम्झौेता गर्यो?
राजनीतिक वृत्तमा कहिलेकाहीँ चर्चा हुने विषय हो – यदि भविष्यमा कुनै अमेरिकी प्रशासनले नेटोबाट बाहिरिने निर्णय गऱ्यो भने के हुन्छ? यस्तो अप्रत्याशित तर सम्भावित अवस्थामा पनि फिनल्याण्ड र अमेरिकाबीचको DCA सम्झौताले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
यो सम्झौता नेटोभन्दा फरक एक द्विपक्षीय सम्झौता हो। यसको अर्थ यदि अमेरिका नेटो गठबन्धनबाट अलग भए तापनि यो सम्झौता (जबसम्म दुवै पक्षले रद्द गर्दैनन्) कायमै रहन सक्छ। यसले फिनल्याण्डलाई अमेरिकासँगको प्रत्यक्ष सुरक्षा सम्बन्धको एक अतिरिक्त तह प्रदान गर्दछ जुन नेटोको राजनीतिक उतारचढावबाट तुलनात्मक रूपमा स्वतन्त्र हुन सक्छ। यसले फिनल्याण्डलाई अमेरिकी सुरक्षा छाताको निरन्तरताको एक प्रकारको ‘हेजिङ’ (सुरक्षा उपाय) प्रदान गर्दछ।
DCA ले अमेरिकी सेनालाई फिनल्याण्डका विभिन्न स्थानहरूमा पहुँच दिन्छ तर यसको मतलब तत्कालै ठूलो संख्यामा अमेरिकी सैनिकहरू स्थायी रूपमा तैनाथ हुने भन्ने होइन। हाल (अप्रिल २०२५ सम्म) फिनल्याण्डमा अमेरिकी सेनाको उपस्थिति मुख्यतया संयुक्त सैन्य अभ्यासहरूमा सहभागी हुने, पूर्व-स्थापित उपकरणहरूको व्यवस्थापन गर्ने र रोटेसनल (चक्रीय) रूपमा आउने तालिम टोलीहरूमा सीमित छ।
सम्झौताले भविष्यमा आवश्यकता अनुसार उपस्थिति बढाउने मार्ग भने प्रशस्त गरेको छ। यसले अमेरिकी सेनालाई बाल्टिक सागर र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति र अपरेशनल क्षमता बढाउन रणनीतिक रूपमा महत्वपूर्ण स्थान प्रदान गर्दछ। फिनल्याण्डको उच्च प्रविधियुक्त सेना र कठिन मौसममा पनि अपरेसन गर्न सक्ने क्षमता अमेरिकी सेनाका लागि पनि महत्वपूर्ण हुनसक्छ।
सोझो अर्थमा भन्दा फिनल्याण्ड र अमेरिकाबीचको रक्षा सहयोग सम्झौता (DCA) बदलिँदो विश्व व्यवस्था र युरोपेली सुरक्षा चुनौतीहरूको पृष्ठभूमिमा फिनल्याण्डले आफ्नो सुरक्षा सुदृढ गर्न चालेको एक निर्णायक कदम हो। यसले नेटो सदस्यतालाई पूरक बनाउँदै अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याएको धेरैको विश्लेषण छ। यो सम्झौताले फिनल्याण्डको प्रतिरक्षा क्षमता बढाउने मात्र नभई सम्भावित अमेरिकी नेटो बहिर्गमनको अवस्थामा पनि एक रणनीतिक सुरक्षा कवच प्रदान गर्दछ। तर यसका सम्भावित बेफाइदा र यसले निम्त्याउन सक्ने जोखिमहरू पनि छन्। आलोचकहरूका अनुसार फिनल्याण्डको यो कदमले उत्तरी युरोपमा अमेरिकी सैन्य पहुँच बढाउँदै समग्र क्षेत्रीय सुरक्षा र स्थायित्वमा दूरगामी प्रभाव पार्ने निश्चित छ।
फिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति
हालसम्म अमेरिकाको फिनल्याण्डमा सैन्य उपस्थिति तालिम र अभ्यासका लागि ‘घुम्ती’ आधारमा छ। अहिलेसम्म फिनल्याण्डमा स्थायी अमेरिकी सैन्य आधारहरू छैनन्। तर कतिपय स्रोतहरूले करिब ५,००० अमेरिकी सैनिकहरू फिनल्याण्डमा तैनाथ हुन सक्ने अनुमान गरेका छन्। तर यो संख्याको औपचारिक पुष्टि भएको छैन। तालिम अभ्यासका लागि सन् २०२४ अप्रिलमा करिब १,६०० अमेरिकी सेनाहरूले नर्वेबाट फिनल्याण्डसम्म ९०० किलोमिटरको यात्रा गरेको थिए। यो तालिम अभ्यासको हिस्सा थियो। अमेरिकी सेनाको फिनिश उत्तरी क्षेत्रमा हुने उपस्थिति रूससँगको सिमानाका कारण त्यसैपनि महत्त्वपूर्ण छ।








