.संक्षेपमा.
- सरसफाई कम्पनीको नक्कली जागिर देखाएर ठगी।
- प्रति व्यक्ति १० हजार युरोसम्म असुलेको आरोप।
- एस्टोनियन र बंगलादेशी सहित १६ जनामाथि अनुसन्धान।
हेलसिन्की प्रहरीले फिनल्यान्डमा अवैध रूपमा मानिसहरू ल्याउने एक ठूलो गिरोह बारेको अनुसन्धान सकेको छ। प्रहरीका अनुसार सरसफाई क्षेत्रको नक्कली रोजगारदाता बनेर यो गिरोहले दर्जनौं मानिसलाई ठगेको आशंका छ।
एस्टोनियन, बंगलादेशी र केही पाकिस्तानी नागरिक संलग्न समूहले मानिसहरूबाट हजारौं युरो असुलेर नक्कली कागजातका आधारमा आवासीय अनुमति दिलाउने प्रयास गरेका थिए। यो मुद्दा अब अभियोजककहाँ पुगेको छ।
प्रहरीका अनुसार भ्रामक र गलत जानकारीका आधारमा २० जनालाई सफलतापूर्वक फिनल्यान्ड ल्याइएको थियो। थप करिब ५० जनालाई यसैगरी ल्याउने प्रयास भने असफल भएको थियो।
यो अपराधमा कुल १६ जना संदिग्ध रहेको प्रहरीले जनाएको छ। तीमध्ये केही एस्टोनियाका र केही बंगलादेशका नागरिक हुन्। फिनल्यान्ड ल्याइएका व्यक्तिहरू मुख्यतया बंगलादेशी नागरिक थिए भने केही पाकिस्तानी नागरिक पनि ठगीमा परेका थिए।
प्रहरीले फिनल्यान्ड आउन खोज्ने हरेक व्यक्तिसँग हजारौं युरो असुलिएको अनुमान गरेको छ। यो रकम प्रति व्यक्ति १० हजार युरोसम्म हुन सक्ने बताइएको छ। उनीहरूलाई फिनल्यान्डमा काम र राम्रो जीवनको आशा देखाएर उक्त रकम असुलिएको थियो।
फिनल्यान्ड आइपुगेका २० जनामध्ये कसैले पनि ती कम्पनीहरूमा काम भने पाएनन्।
यसरी हुन्थ्यो ठगी
पत्रकार कात्री किर्सीले फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE मा लेखेको रिपोर्टका अनुसार एस्टोनियन संदिग्धहरूले फिनल्यान्डमा कम्पनीहरू सञ्चालन गर्थे, जसको नाममा आवासीय अनुमतिका लागि आवेदन दिइन्थ्यो।
बंगलादेशी र पाकिस्तानी बिचौलियाहरूले आवेदक एस्टोनियन संदिग्धबीच सम्पर्क गराउने काम गर्थे।
संदिग्धहरूको उद्देश्य नक्कली रोजगारदाता बनेर, कागजात किर्ते गरेर र अध्यागमन विभाग (मिग्री) लाई गलत जानकारी दिएर आवासीय अनुमति प्राप्त गर्नु थियो।
यसरी कुल ६ वटा कम्पनीको नाममा आवेदन दिइएको थियो, जसमध्ये चारवटा कम्पनी संदिग्धहरूकै नियन्त्रणमा थिए।
यसरी पारियो अलपत्र
फिनल्यान्ड आइपुगेका २० जनामध्ये कसैले पनि ती कम्पनीहरूमा काम भने पाएनन्।
“उनीहरू यहाँ आइपुगे, तर उनीहरूको हातमा केही थिएन,” एक प्रहरी अधिकारीले पत्रकार कात्री किर्सीको रिपोर्टमा भनेका छन्। “यस्ता मानिसहरू निकै जोखिमपूर्ण अवस्थामा हुन्छन्।”
अध्यागमन विभागले करिब ५० वटा आवेदन अस्वीकार गरेको थियो। प्रहरीले सन् २०२२ देखि २०२५ को मध्यसम्म यो अपराध चलेको आशंका गरेको छ।
यो घटनामा नौ जना पक्राउ परेका थिए भने पाँच जना थुनामा छन्। प्रहरीले यस्तो अपराध बढ्दै गएको र यसमा फस्ने जोखिम उच्च रहेको बताएको छ।
नेपालीलाइनेनले गत केही सातादेखी यस्तै प्रकृतिका घटनामा जंगलमा काम गर्ने भनेर फिनल्यान्ड ल्याइएका नेपालीहरू ठगिएका बारे विभिन्न रिपोर्टहरू प्रकाशित गर्दै आएको छ।





