संक्षेपमा
- हेलसिन्कीमा १५० भन्दा बढी नेपाली तथा विदेशी उद्यमी र लगानीकर्ताहरूको जमघट।
- नर्डिक क्षेत्रमा नेपालीहरूको उद्यमशीलता बढाउने समिटको मुख्य उद्देश्य।
- फिनल्यान्डमा नेपाली लक्षित पहिलो व्यावसायिक सम्मेलन।
फिनल्यान्ड र नर्डिक क्षेत्रमा रहेका नेपालीहरूलाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यले हेलसिन्कीमा शुक्रबार आयोजना गरिएको बाटो समिट २०२६ भव्य रुपमा सम्पन्न भएको छ।
पहिलो पटक आयोजना भएको सम्मेलनमा १५० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय संस्थापक, लगानीकर्ता र स्टार्टअप उत्साहीहरू सहभागी थिए।
यो वर्ष सम्मेलनको मुख्य नारा ‘नेपाली उद्यमशील मानसिकताको निर्माण’ रहेको थियो। समिटलाई नेपालीलाइनेनले पनि मिडिया पार्टनरका रुपमा प्रवर्द्धन गरेको थियो।
कार्यक्रमको सुरुवातमा समिटका मुख्य साझेदारहरू सिसु-केयरका विजय बानियाँ, रेसिमेटरका बरुण बस्याल र नोर्डेसका प्रकाश पन्तले मन्तव्य राखेका थिए।
कार्यक्रमको मध्यतिर आयोजना भएको प्यानल छलफलमा पनि भाग लिएका उनीहरूले फिनल्यान्डमा विदेशी पृष्ठभूमिका उद्यमीहरूका लागि रहेका अवसर र चुनौतीहरूबारे बोलेका थिए भने आफ्ना संघर्षका कथाहरू पनि सुनाएका थिए।
प्यानल छलफलको सहजीकरण बीजीप्ले क्यापिटलका संस्थापक विजय गुरुङले गरेका थिए। कार्यक्रम संचालन प्रकृती अर्याल शाहले गरेकी थिइन्।
समिटका लागि डेनमार्कबाट हेलसिन्की आएकी नर्डिक मेकर्सकी निमा सोफिया टिस्डाल र आल्तो विश्वविद्यालयका अपूर्व गानूले लगानीकर्ताको अपेक्षा र उद्यमशील मानसिकताका बारेमा विशेष प्रस्तुति दिएका थिए।
टिस्डालले डेनमार्कमा आफूले युवावस्थामा सुरु गरेको कम्पनी निकै ठुलो बन्दाको रोचकअनुभव सुनाएकी थिइन्।
नेपाली स्टार्टअपहरुको ‘पिच’
नेपाली स्टार्टअप संस्थापकहरूले आफुले बनाएका वा बनाइरहेका कम्पनीहरुका बारेमा दिएको प्रस्तुति समिटको मुख्य आकर्षण थियो।
समिटमा ९ जना नेपाली संस्थापकहरूले आफ्ना स्टार्टअप र आइडियाहरू निमा सोफिया टिस्डाल र नोकिया भेन्चर्सका तरुण शर्मा सम्मिलित जुरीसामु प्रस्तुत गरेका थिए।
जुरीले हरेक ‘पिच’ (प्रस्तुति) लाई ध्यानपूर्वक सुनेर विभिन्न प्रश्नहरू सोधेका थिए। उनीहरुले बिजनेस आइडिया, बजारको अवस्था, भविष्यमा ग्रोथको अवसर र लगानीको तयारी कस्तो छ भन्नेबारे सल्लाह-सुझावहरू दिएका थिए।
पिच गर्ने स्टार्टअपहरूमा प्रविधि (Tech), एआई (AI), औद्योगिक उत्पादनदेखि लिएर डेनमार्कबाट आएको एउटा नयाँ किसिमको बेकरी समेत थिए।
दोस्रो प्यानल छलफलमा मारिया ०१ (Maria 01) की सरिता रुनेबर्ग, एन्फ्युसकी मोनिका लीकामा र एन्टलर्सका युस्सी काल्लास्भुओ सहभागी थिए।
रुनेबर्गले हाल लगानी जुटाउन गाह्रो भए पनि एआई र डिफेन्स जस्ता क्षेत्रमा राम्रो अवसर रहेको बताएकी थिइन्।
लीकामाले लगानीकर्तालाई विश्वस्त पार्न ठोस योजना हुनुपर्ने सुझाव दिइन् भने काल्लास्भुओले ठूला र चुनौतीपूर्ण सपना देख्न संस्थापकहरूलाई प्रेरित गरेका थिए।
बाटोका संस्थापक विकास गुरुङले दोस्रो प्यानल छलफलको सहजीकरण गरेका थिए।
समिटमा एट्लानका पौरिया केले लगानी योग्य स्टार्टअप कसरी बनाउने भन्ने विषयमा बोलेका थिए।
फिनल्यान्ड स्टार्टअप इकोसिस्टमको लागि युरोपकै चर्चित गन्तव्य मानिन्छ।

सहभागीहरूको सकारात्मक प्रतिक्रिया
नेपालीलाइनेनसँग कुरा गरेका सहभागीहरूले खास गरी मुख्य वक्ताहरूको प्रस्तुति, प्यानल छलफल र नेटवर्किङको अवसरलाई निकै रुचाएको देखिन्थ्यो।
हेलसिन्की बाहिरबाट आएका एक सहभागीले फिनल्यान्डमा नेपाली समुदायका लागि धेरै मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरे पनि यस्तोखाले कार्यक्रम पहिलो पटक देखेको र यस्ता कार्यक्रम थप हुनुपर्ने बताए।
समिटको मुख्य आयोजक बाटो (Bato Oy) का संस्थापक विकास गुरुङले नर्डिक र युरोपमा नेपाली समुदायमा प्रतिभा भए पनि उद्यमशीलताको क्षेत्र एकदमै सीमित रहेको नेपालीलाइनेनलाई बताए।
धेरै कम नेपालीले मात्रै कम्पनी खोल्ने र स्टार्टअप इकोसिस्टममा सहभागी हुने गरेको उनको भनाइ थियो।
“बाटो समिटले यही अवस्था परिवर्तन गर्न खोजेको हो। र पहिलो प्रयास नै निकै सफल भयो,” गुरुङले भने।
आयोजकका अनुसार समिटप्रतिको आकर्षणका कारण उपलब्ध सम्पुर्ण टिकटहरू पहिल्यै बिक्री भैसकेका थिए।
फिनल्यान्ड स्टार्टअप इकोसिस्टमको लागि युरोपकै चर्चित गन्तव्य मानिन्छ। कार्यक्रम आयोजना भएको स्थान ‘मारिया ०१’ (Maria 01) लाई पनि युरोपकै अग्रणी स्टार्टअप क्याम्पसको रूपमा लिइन्छ।
विदेशीको संख्या बढ्दै गएको फिनल्यान्डमा आप्रवासीहरूले उद्यमशीलतामा चासो देखाउनुलाई अर्थतन्त्रको लागि सकारात्मक मानिन्छ। तर भाषा र स्थानीय नेटवर्किङको अभावले गर्दा आप्रवासी उद्यमीहरूले अझै पनि सुरुवाती चरणमा विभिन्न चुनौतीहरू सामना गरिरहेका छन्।









