.संक्षेपमा.
- एक ग्राहकले अर्कोलाई चोरी गरेको भन्दै भुइँमा पछारेर नियन्त्रणमा लिए।
- लिडिलले हिंसात्मक तरिकाको विरोध गर्यो।
- घटना बारे सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस।
हेलसिन्कीस्थित काम्पीको ग्रानिटीहाउस लिडिल सुपर मार्केटमा गत मङ्गलवार साँझ एक असामान्य घटना भयो। एक ग्राहकले चोरी गरेर भाग्न लागेको भन्दै अर्को एक व्यक्तिलाई बलपूर्वक नियन्त्रणमा लिए। उक्त व्यक्तिलाई भुईँमा पछारेको भिडियो सामाजिक सञ्जालभरि फैलियो।
यो घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस सिर्जना गर्यो। कतिपयले ग्राहकको कदमको समर्थन गरेका छन् भने अन्यले हिंसात्मक तरिकाले समाधान खोज्नु गलत भएको टिप्पणी गरेका छन्।
लिडिल आफैँ पनि बल प्रयोग गर्ने ग्राहकको पक्षमा बोलेन। “चोरलाई रोक्ने ग्राहकको मनसाय राम्रो भए पनि हामी यस्तो किसिमको पक्राउ प्रक्रियालाई स्वीकार गर्न सक्दैनौँ।” लिडिलका क्षेत्रीय निर्देशक आक्सेली माकिसालोले यस घटनाप्रति असहमति जनाउँदै उनले फिनिस भाषाको ट्याबलोइड पत्रिका इल्तालेहतीलाई भनेका छन्। माकिसालोका अनुसार पसलमा चोरी हुनु एक गम्भीर समस्या हो, तर त्यसको समाधान प्रहरी र सुरक्षाकर्मीमार्फत गरिनु पर्छ।
@iltalehti Kampin Graniittitalon Lidlissä oli tiistai-iltana 1. heinäkuuta hurja tilanne. Lukijan kuvaamalla videolla näkyy, kuinka miesasiakas ottaa toisen asiakkaan kiinni ja heittää tämän kaupan lattialle. Tilanne tapahtui kassa-alueen läheisyydessä. Silminnäkijän mukaan tilannetta oli edeltänyt näpistys. #iltalehti #uutinen #uutiset #suomi ♬ alkuperäinen ääni – Iltalehti
हेलसिन्की प्रहरीका अपराध आयुक्त लास्से मान्नीनेनका अनुसार साधारण नागरिकहरूसँग पनि अपराधी पक्राउ गर्ने अधिकार छ, तर बल प्रयोग उचित र आवश्यक मात्रामा हुनुपर्छ। उनका अनुसार यो घटनाको अनुसन्धान जारी छ र मामलालाई चोरीको रूपमा हेरिएको छ।
प्रारम्भिक जाँचमा लिडिलबाट पक्राउ परेका व्यक्तिलाई कुनै गम्भीर चोटपटक नलागेको बताइएको छ। तर विभिन्न विज्ञहरूका अनुसार चोरी गरेको आरोपित उक्त युवालाई भुईँमा यसरी बजारिएको थियो कि उनको टाउकोमा गम्भीर चोटपटक लाग्न सक्थ्यो वा मृत्यु नै पनि हुन सक्थ्यो।
फिनिस कानुन अनुसार सामान्य नागरिकहरूले कैद सजाय हुन सक्ने अपराध वा सामान्य चोरी, ठगी, सवारी साधन चोरी, क्षति र धोखाधडी जस्ता मामलामा शङ्कास्पद व्यक्तिलाई पक्राउ गर्न सक्छन्। तर यस्तो अधिकार प्रयोग गर्दा उचित बल मात्र प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ।
लिडिलले आफ्ना कर्मचारीहरूलाई यस्ता घटनामा तत्काल सुरक्षाकर्मी वा प्रहरीलाई सूचित गर्न निर्देशन दिएको छ। कम्पनीका अनुसार चोरी र लुटपाट रोक्न उनीहरूले सुरक्षा व्यवस्था कडा बनाउँदै लगेका छन्।

प्रहरीले सर्वसाधारणलाई यस्ता परिस्थितिमा आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न र कानुन कार्यान्वयन निकायलाई सूचित गर्न आग्रह गरेको छ।
प्रहरीले घटनामा संलग्न दुवै पक्षसँग थप सोधपुछ गर्ने जनाएको छ। प्रहरीले सर्वसाधारणलाई यस्ता परिस्थितिमा आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न र कानुन कार्यान्वयन निकायलाई सूचित गर्न आग्रह गरेको छ।





