संक्षेपमा
- प्रहरीको आदेश नमानेको अभियोगमा मुद्दा दायर।
- गत वर्ष जुन २५ मा हेलसिन्कीको प्रदर्शनमा परेकी थिइन् पक्राउ।
- अदालतमा स्वयं उपस्थित हुन भने नपर्ने।
विश्वचर्चित जलवायु अधिकारकर्मी ग्रेटा थनबर्गविरुद्ध फिनल्यान्डमा आपराधिक मुद्दा दायर गरिएको छ। अभियोजकले २२ वर्षीया स्विडिस नागरिक थनबर्गलाई प्रहरीको आदेश नमानेको आरोपमा सजायको माग गरेका छन्।
हेलसिन्की सानोमात पत्रिकाका अनुसार यो मुद्दा हिजो शुक्रबार हेलसिन्की जिल्ला अदालतमा दर्ता भएको हो। समाचार अनुसार थनबर्गमाथि सन् २०२४ को जुन २५ मा कानुन उल्लंघन गरेको आरोप छ।
उनले सो दिन हेलसिन्कीको मुख्य सहरी क्षेत्रमा ‘एलोकापिना’ (Elokapina) समूहले आयोजना गरेको प्रदर्शनमा भाग लिएकी थिइन्।
एलोकापिनाले जलवायु संकटलाई चर्चामा ल्याउन ‘तुफानको चेतावनी’ नामक अभियान अन्तर्गत यातायात रोकेर प्रदर्शन गरेको थियो।
फिनल्यान्ड आएकी थनबर्गले सोही दिन संसद भवन अगाडि फिनल्यान्ड सरकार र संसदलाई सम्बोधन गर्दै भाषण पनि गरेकी थिइन्।
भाषणपछि प्रदर्शनकारीहरू जुलुससहित अघि बढेका थिए।
पछिल्ला वर्षहरूमा यस्ता सयौँ मुद्दा अदालतमा पुगेका छन्। अधिकांश मुद्दा प्रहरीको आदेश नमानेको विषयमै केन्द्रित छन्।
पक्राउ परेकी थिइन् थनबर्ग
प्रहरीले प्रदर्शन रोक्न र सडक खाली गर्न आदेश दिएको थियो। तर प्रदर्शनकारीले नमानेपछि प्रहरीले उनीहरूलाई बोकेर बसमा राख्न सुरु गरेको थियो।
सोही क्रममा थनबर्गलाई पनि प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। अहिले दायर गरिएको मुद्दा यही घटनासँग सम्बन्धित रहेको बताइएको छ।
फिनिस अदालतले सामान्यतया एलोकापिनाको प्रदर्शनसम्बन्धी मुद्दामा आरोपीलाई इजलासमा उपस्थित हुन बाध्य पार्दैन। त्यसैले थनबर्ग पनि हेलसिन्कीको अदालतमा उपस्थित हुनुपर्ने छैन, यद्यपि उनी चाहेमा अदालतमा उपस्थित हुन् सक्नेछिन्।
एलोकापिनाका सदस्यहरूमाथि लागेको आरोप सामान्य प्रकृतिको हुने भएकाले प्रायः प्रहरी वा अभियोजकले जरिवाना गरेर टुंग्याउन सक्छन्। तर जरिवाना स्वीकार नगरेको खण्डमा मुद्दा अदालतसम्म पुग्ने गर्छ।
पछिल्ला वर्षहरूमा यस्ता सयौँ मुद्दा अदालतमा पुगेका छन्। अधिकांश मुद्दा प्रहरीको आदेश नमानेको विषयमै केन्द्रित छन्।
हेलसिन्की सानोमात (HS) को तथ्यांकअनुसार अधिकांश आरोपीले सजाय पाएका छन्। यस्तो कसुरमा सामान्यतया १० दिनको कमाइ बराबरको सजाय हुने गरेको छ।





