संक्षेपमा
- फिनल्यान्डमा युरो-ज्याकपटको मुख्य पुरस्कार २४ औं पटक पर्यो।
- अहिलेसम्मकै चौथो ठूलो युरो-ज्याकपट पुरस्कार।
- समुहमा हैन एक्लै किनेका थिए चिट्ठा।
फिनल्यान्डमा शुक्रबार राती भएको युरो-ज्याकपट चिट्ठा घोषणामा एक भाग्यशाली व्यक्तिले ७ करोड ४१ लाख अर्थात् ७४.१ मिलियन युरोको मुख्य पुरस्कार जितेका छन्।
चिट्ठा कम्पनी भेइक्काउसका अनुसार रकम विजेता हेलसिन्कीका बासिन्दा हुन्। समुहमा नभएर उनले एक्लै उक्त चिट्ठा किनेका थिए।
फिनल्यान्डको इतिहासमा युरो-ज्याकपटको मुख्य पुरस्कार परेको यो २४ औं पटक हो। भेइक्काउसका अनुसार यो जित फिनल्यान्डमा अहिलेसम्म परेका पुरस्कारहरू मध्ये चौथो ठूलो हो।
मुख्य पुरस्कार बाहेक अन्य धेरैले पनि आकर्षक रकम जितेका छन्। ‘५+१’ नम्बर मिलाउने चार जनाले प्रति व्यक्ति ६ लाख ३० हजार ७५० युरो प्राप्त गरेका छन्।
त्यसैगरी, ५ वटा मुख्य नम्बर मिलाउने ११ जनाले जनही १ लाख २९ हजार ३५० युरो जितेका छन्। यस पटकको विजयी नम्बरहरू १०, १५, २९, ३४ र ३८ हुन् भने स्टार नम्बरहरू २ र ९ रहेका थिए।
फिनल्यान्डमा यस्ता चिट्ठाहरूमा नेपाली लगायतका आप्रवासीहरूको पनि निकै रुचि रहने गरेको छ। यद्यपि चिट्ठाको लतमा लागेर धेरै पैसा खर्च गरेका र मानसिक र पारिवारिक अप्ठ्यारोमा परेका उदाहरणहरू पनि छन्।
त्यसैले यस्ता चिट्ठा किन्दा अत्यन्तै सावधानी पुराउने र जित्ने आशामा धेरै रकमको चिट्ठा किनेर पैसा खेर फाल्ने काम गर्नु हुँदैन।





