0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका वनमा काम गर्ने विदेशी कामदार माथि शोषण, पीडित हुनेमा नेपाली पनि

    सामान्यतया निर्माण वा रेस्टुरेन्ट क्षेत्रमा जस्तै वन क्षेत्रमा पनि श्रमिकहरूको अधिकार हनन गर्ने र दर्ता नगरी काममा लगाउने प्रवृत्ति बढेको अधिकारीहरूले बताएका छन्।

    .संक्षेपमा.


    • गत पाँच वर्षमा २० भन्दा बढी कम्पनीहरूले विदेशी कामदारमाथि भेदभाव र शोषण गरेको पाइयो।
    • नेपाल लगायत एशियाली मुलुकका कामदारहरू पनि प्रभावित।
    • तलब, स्वास्थ्य सेवा र कार्यस्थल सुरक्षामा गम्भीर कमीकमजोरीहरू भेटियो।

    फिनल्याण्डको वन उद्योगमा काम गर्ने विदेशी श्रमिकहरू व्यापक रूपमा शोषणमा परेको तथ्य उजागर भएको छ। क्षेत्रीय राज्य प्रशासनिक एजेन्सी (AVI) को अनुगमनमा विगत पाँच वर्षमा २० भन्दा बढी कम्पनीहरूले राष्ट्रियताको आधारमा भेदभाव गरेको पाइएको छ। पीडित हुनेमा नेपाली नागरिक पनि छन्।

    केही कम्पनीहरूले कानुनको जानीजानी उल्लंघन गर्ने र अनुसन्धानको दायरामा आउने बित्तिकै कम्पनी बन्द गरेर नयाँ नाममा त्यही काम गर्ने गरेको समेत खुलासा भएको छ। विशेषगरी इस्टोनिएन कम्पनीहरूद्वारा सञ्चालित फर्महरूमा कामदारहरू व्यापक रूपमा शोषणमा परेको AVI को अनुसन्धानमा खुलेको छ।

    कामदारहरूलाई सामूहिक सम्झौता अनुसारको तलब नदिने, स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र सुरक्षा उपकरण उपलब्ध नगराउने जस्ता समस्याहरू देखिएका छन्। यो समस्या पूर्वी फिनल्याण्डमा अझ विकराल देखिएको छ। यसले वन क्षेत्रको प्रतिष्ठित PEFC (Programme for the Endorsement of Forest Certification) प्रमाणीकरणलाई समेत जोखिममा पारेको छ।

    फिनल्यान्डको वन क्षेत्रमा काम गर्ने श्रमिकको अभाव भएपछि विदेशी कामदारहरूलाई ‘मौसमी कामदार’को रूपमा काम गराउने प्रचलन पछिल्लो समय बढेको छ। तर निर्माण वा रेस्टुरेन्ट क्षेत्रमा जस्तै यहाँ पनि श्रमिकहरूको अधिकार हनन र दर्ता नगरी काममा लगाउने (कालोबजारी काम) प्रवृत्ति बढेको अधिकारीहरूले बताएका छन्।

    क्षेत्रीय प्रशासन कार्यालयकी वरिष्ठ निरीक्षक मेर्या लाकोनेनले फिनिश प्रशारण संस्था YLE लाई बताए अनुसार, कामदारको शोषण हुने समस्या “निर्माण र रेस्टुरेन्ट क्षेत्र जस्तै वन क्षेत्रमा पनि एउटा ठूलो समस्याको रूपमा विकसित भएको छ।”

    दिगो वन व्यवस्थापन संघ (KMI) की कार्यकारी निर्देशक काइसा केट्टुनेनका अनुसार सानातिना त्रुटिहरू विदेशी कम्पनीहरूलाई फिनिस कानुनबारे जानकारी नभएर हुन सक्छ, तर गम्भीर प्रकृतिका घटनाहरूले कानुन पालना गर्ने नियत नै नरहेको देखाउँछ।

    AVI की प्रमुख निरीक्षक लाक्कोनेनका अनुसार वन क्षेत्रमा श्रम शोषण र कालोबजारी काम अब एक सामान्य घटनाजस्तै भएको छ। “हामीकहाँ कालो काम भइरहेको बारे बारम्बार सूचना आउँछ,” उनले भनिन्।

    निरीक्षणका क्रममा वृक्षारोपण वा झाडी सफाइ जस्ता कामहरूमा देखाइएको उत्पादन अस्वाभाविक देखिने गरेको छ, जसले गर्दा दर्ता गरिएका कामदारको संख्याले त्यति काम गर्न सम्भव नहुने र थप अघोषित कामदार लगाइएको वा तोकिएभन्दा लामो समय काम गराइएको आशंका उब्जिन्छ।

    कस्ता छन् लापरवाही?

    AVI का अनुसार सबैभन्दा ठूलो समस्या सामूहिक सम्झौताको पालना नहुनु देखिएको छ। तलब, स्वास्थ्य सेवा र कार्यस्थल सुरक्षामा गम्भीर कमीकमजोरीहरू पाइएका छन्। कामदारहरूसँग सुरक्षा उपकरण वा उपयुक्त कपडा नहुने, वा झाडी काट्ने मेसिनमा ब्लेड गार्डसमेत नहुने अवस्था छ। लाक्कोनेनका अनुसार एभिआईको तथ्यांकले समस्याको वास्तविक भयावहता पूर्ण रूपमा देखाउँदैन किनकि एजेन्सीले सीमित स्थानमा मात्र निरीक्षण गर्न भ्याउँछ र लामो अनुगमन प्रक्रियाका कारण दोषी कम्पनीले सजाय पाउनुअघि नै काम सकेर बन्द भइसक्ने अवस्था पनि छ।

    विदेशी मौसमी कामदारहरूलाई मुख्यतया बिरुवा रोप्ने र झाडी सफाइ गर्ने जस्ता परम्परागत हातले गर्नुपर्ने वनका कामहरूमा लगाइन्छन्। फिनल्याण्डको सबैभन्दा ठूलो निजी वन मालिक/कम्पनी टोर्नाटरका वनहरूमा काम गर्ने झण्डै आधा कामदारहरू विदेशबाट आउने गरेका छन्। टोर्नाटोरका अनुसार उनीहरूकहाँ काम गर्ने करिब ६००-७०० जना विदेशी कामदारहरू मध्ये धेरै रोमानिया, युक्रेन, नेपाल र थाइल्यान्डका छन्।

    “फिनल्यान्डको वन क्षेत्रमा विदेशी श्रमिक शोषणको यो समस्या अब निर्माण र रेस्टुरेन्ट क्षेत्र जस्तै एउटा गम्भीर चुनौती बनेको छ।” 

    मेर्या लाकोनेन, वरिष्ठ निरीक्षक, क्षेत्रीय प्रशासन कार्यालय (AVI)

    स्वदेशी कामदार पाउन कठिन हुँदै गएपछि बाल्टिक देशहरू, अन्य युरोपियन देशहरू (रोमानिया, युक्रेन), एसियाली मुलुकहरू (विशेष गरि नेपाल र थाइल्याण्ड) र उत्तर अफ्रिकी देशहरूबाट समेत कामदारहरू आउने गरेका छन्।

    हाल टोर्नाटरले फिनिस कम्पनीहरूबाट मात्र वन सेवा खरिद गर्दछ, जसले विदेशी कामदारहरूलाई प्रत्यक्ष वा कहिलेकाहीँ उपठेकेदारमार्फत काममा लगाउँछन्। यस्ता उपठेकेदारहरूमा इस्टोनिएन कम्पनीहरू पनि छन्। गत वर्ष AVI ले टोर्नाटरको वनमा काम गर्ने एक इस्टोनिएन उपठेकेदार कम्पनीलाई निर्देशनात्मक चेतावनी दिएको थियो। उक्त कम्पनीले कामदारहरूलाई सवारी भत्ता ठीकसँग नदिएको र दुर्घटना बीमा पनि नगरिदिएको पाइएको थियो। शोषणको समस्या यस्तै उपठेकेदार कम्पनीहरूमा बढी देखिएको छ।

    (के तपाईँ फिनल्यान्डको बन क्षेत्रमा काम गर्दा यस्तै शोषण र भेदभावको सिकार हुनु भएको छ? के तपाई आफ्ना अनुभवहरू आफ्नो परिचय नखुलाई पूर्णतः गोप्य रूपमा हाम्रा पाठकहरूमाझ बाड्न चाहनुहुन्छ? चाहनुहुन्छ भने हामीलाई WhatsApp +358 41 715 7816, इमेल [email protected], वा सम्पर्क फारम मार्फत सम्पर्क गर्नुहोस्। – नेपालीलाइनेन) 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप