.संक्षेपमा.
- अमेरिकाले गर्यो फिनल्यान्डसँग ११ आइसब्रेकर पानीजहाज किन्ने सम्झौता।
- रुसले आक्रमण गरेमा फिनल्यान्डको सशक्त रक्षा गर्ने ट्रम्पको वाचा।
- राष्ट्रपति ट्रम्पले खुलेरै गरे फिनल्यान्डको प्रशंसा।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले फिनल्यान्डलाई आक्रमण गरिहालेमा फिनल्यान्डलाई हर तवरले सघाउने प्रतिबद्धता दिएका छन्।
फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र प्रधानमन्त्री पेत्तेरी ओर्पोसँग ओभल अफिसमा भेटेपछि ट्रम्पले उक्त कुरा बताएका हुन्। रुसले आक्रमण गरेमा अमेरिकाले फिनल्यान्डको रक्षा गर्छ कि गर्दैन भनेर एक पत्रकारले ट्रम्पलाई सोधेका थिए।
“फिनल्यान्ड नेटोको सदस्य हो।” ट्रम्पले भने। “हामी जोडदार रूपमा फिनल्यान्डको रक्षा गर्नेछौँ।”
यद्यपि पुटिनले फिनल्यान्डमा आक्रमण गरिहाल्छन् भन्ने आफूलाई नलागेको ट्रम्पले बताएका थिए।
पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले फिनल्यान्डको आइस ब्रेकर जहाज बनाउने क्षमता र फिनिस सेनाको पनि खुलेरै प्रशंसा गरे। उनले राष्ट्रपति स्टब र प्रधानमन्त्री ओर्पोलाई फिनल्यान्डले रुससँग कहिले देखि समस्या भोगिरहेको छ भनेर सोधेका थिए।
राष्ट्रपति स्टबले सन् १३०० देखि नै फिनल्यान्ड र रुसबिच विभिन्न समस्या रहेको बताएका थिए। उनले फिनल्यान्डको सेना युरोपकै ठुलो र शक्तिशालीमध्ये एक रहेको बताएका थिए।
ओभल अफिसमा भएको भेटपछि राष्ट्रपति ट्रम्पले फिनल्यान्ड र फिनिसहरूको पनि प्रशंसा गरे। “फिनल्यान्ड एक महान् देश हो, जहाँ निकै राम्रा मानिसहरू बस्छन्,” उनले भने।
बिहीबार राष्ट्रपति ट्रम्पसँगको भेटपछि फिनल्यान्डका नेताहरूले भ्रमणलाई निकै सफल भएको बताएका छन्।
आइसब्रेकर पानीजहाजका लागि ऐतिहासिक सहमती
राष्ट्रपति स्टब र प्रधानमन्त्री ओर्पोको ह्वाइट हाउस भ्रमण दुई देशबीचको सम्बन्धमा एक महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ। भ्रमणको मुख्य उपलब्धि भने अमेरिकाले फिनल्यान्डसँग ११ वटा आइसब्रेकर पानीजहाज किन्ने ऐतिहासिक सहमति हो।
राष्ट्रपति स्टबका अनुसार यो सम्झौता फिनल्यान्ड र अमेरिकाको द्विपक्षीय सम्बन्धको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो।
राष्ट्रपति स्टबका अनुसार यो सम्झौता फिनल्यान्ड र अमेरिकाको द्विपक्षीय सम्बन्धको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो।
सम्झौता अनुसार ११ मध्ये चारवटा आइसब्रेकर फिनल्यान्डमा निर्माण गरिनेछ भने बाँकी सातवटा अमेरिकी भूमिमा बनाइनेछ। यो सहमतिले फिनल्यान्डको जहाज निर्माण उद्योग र प्राविधिक विशेषज्ञतालाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो मान्यता दिएको ठानिएको छ।
ओभल अफिसमा राष्ट्रपति स्टबले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको खुलेर प्रशंसा गरेका थिए। उनले नेटो देशहरूलाई आफ्नो रक्षा खर्च बढाउन प्रेरित गरेकोमा र युरोपलाई रुसी ऊर्जामाथिको निर्भरता कम गर्न आग्रह गरेकोमा ट्रम्पलाई धन्यवाद दिए।
स्टबले अमेरिकी र फिनिस सेनाबिचको सहकार्य बढेको, फिनल्यान्डले अमेरिकासँग ६४ वटा एफ-३४ फाइटर जेट किन्न लागेको लगायतका प्रसङ्ग उठाएका थिए।
मध्यरातको त्यो फोन कल
भेटपछि फिनिस मिडियालाई लक्षित स्टब र ओर्पोको पत्रकार सम्मेलनमा स्टबले राष्ट्रपति ट्रम्पले मध्यरातमा गरेको एक फोन कलका बारे रोचक प्रसङ्ग सुनाएका थिए।
फिनल्यान्ड र अमेरिकाबीच पहिले दुईवटा नयाँ र एउटा प्रयोग भइसकेको (पुरानो) आइस ब्रेकरबारे छलफल भएको थियो।
अगस्ट महिनाको एक रात स्टब सुतिसकेका थिए तर उनको फोनको घण्टी बज्यो। फोनमा राष्ट्रपति ट्रम्प थिए।
“हामीलाई त्यो प्रयोग भैसकेको पुरानो जहाज चाहिँदैन,” ट्रम्पले फोनमा भनेका थिए। “बरु हामी चारवटा नयाँ जहाज अर्डर गर्छौं।”
यहीँबाट आइस ब्रेकर सम्झौताले पूर्ण आकार लिन थाल्यो, जुन सुरुमा सोचिएभन्दा धेरै ठूलो (११ वटा) हुन गयो।
अमेरिकासंग रहेका अहिलेका जहाजहरू निकै पुराना भएकाले कम्तिमा ४० नयाँ आइस ब्रेक्रर जहाज खरिद गर्ने तैयारी रहेको समाचार केहि महिना पहिले सार्वजनिक भएको थियो।
हिउँ/बरफ फुटाउने जहाज बनाउने क्षेत्रमा फिनल्यान्डलाई महारथी नै मानिन्छ। संसारका ८० प्रतिशत आइस ब्रेकरको डिजाइन फिनल्यान्डले गरेको हो, र तीमध्येका तीन-चौथाइ जहाज यहीँ बनेका हुन्।
नयाँ आइसब्रेकर जहाजको मुल्य १०० मिलियनदेखि १ अर्ब अमेरिकी डलरसम्म पर्छ।





