संक्षेपमा
- रुसबाट आउने हावाले बिहीबारदेखि तापक्रम ह्वात्तै घटाउने।
- दक्षिण र मध्य फिनल्यान्डमा राति माइनस ३० डिग्रीसम्म पुग्ने सम्भावना।
- जनवरीको अन्तिम सातासम्मै मौसम चिसो रहने पूर्वानुमान।
फिनल्यान्डमा यो साताको मध्यदेखि फेरी कठांग्रिने जाडो हुने भएको छ। फिनिस मौसम विज्ञान संस्थान (FMI) का अनुसार रुसबाट आउने चिसो हावाले बिहीबारदेखि देशभरको तापक्रम माइनसमा झार्नेछ।
बिहीबारअघि भने मौसम अहिलेकै जस्तो सामान्य रहनेछ। हिउँ पग्लिएर बाटो केही भने चिप्लो हुन सक्छ।
मौसमविद् हान्नु भाल्ताका अनुसार बिहीबार पश्चिम क्षेत्रमा माइनस ५ देखि १० र पूर्व तथा उत्तरी क्षेत्रमा १० देखि १५ डिग्रीसम्म चिसो हुनेछ।
फिनिस मौसम विज्ञान संस्थानका अनुसार तत्काल मौसम न्यानो हुने सम्भावना छैन। जनवरीको अन्तिम सातासम्मै तापक्रम निकै कम रहने प्रक्षेपण छ।
साताको अन्त्यतिर दक्षिण र मध्य फिनल्यान्डमा रातको समयमा तापक्रम माइनस २० देखि ३० डिग्रीसम्म पुग्न सक्नेछ। यद्यपि यति धेरै चिसो हुनका लागि आकाश सफा हुनुपर्छ र हावा चलेको हुनुहुँदैन।
दिउँसोको समयमा भने दक्षिण र मध्य भागमा माइनस १० देखि १५ डिग्रीको हाराहारीमा तापक्रम रहने प्रक्षेपण छ। उत्तरमा योभन्दा बढी चिसो हुन सक्छ।
फिनल्यान्डमा माइनस २५ वा ३० डिग्रीको चिसोलाई गम्भीरतापूर्वक लिइन्छ। यस्तो मौसममा बाहिर निस्कँदा ‘लेयरिङ’ गरेर अर्थात् धेरै पत्र लुगा लगाएर निस्कनु पर्छ।
विशेष गरी छाला देखिने भागहरू छोप्न र बालबालिकाहरूलाई लामो समय बाहिर नराख्न सुझाव दिइन्छ। साथै, घरका झ्यालढोका राम्ररी बन्द गरेर ‘हिटिङ सिस्टम’ सही अवस्थामा छ कि छैन जाँच्न पनि सल्लाह दिइन्छ।





