संक्षेपमा
- दक्ष जनशक्तिको अभावले सन् २०२३ मा ६५ हजार रोजगारी गुम्यो।
- नयाँ पेटेन्ट र आविष्कारमा विदेशी वैज्ञानिकहरूको ६० प्रतिशत योगदान।
- आधाभन्दा बढी विदेशी विद्यार्थीहरू रोजगारी नपाएर फिनल्यान्ड छोड्न बाध्य।
फिनल्यान्डको आर्थिक समृद्धि र उत्पादकत्व वृद्धिका लागि उच्च शिक्षित विदेशी आप्रवासीहरूको भूमिका अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्।
हेलसिन्की विश्वविद्यालयकी पिया दोलिभो र अर्थशास्त्री टेड आप्टरका अनुसार दक्ष जनशक्ति विना फिनल्यान्डमा लगानी भित्र्याउन कठिन हुनेछ।
पिया दोलिभो र टेड आप्टरले हेलसिन्की सानोमात पत्रिकामा एक लेख लेख्दै यस्तो धारणा राखेका हुन्।
सन् २०२१ मा फिनल्यान्डका ६० प्रतिशत पेटेन्टमा विदेशी आविष्कारकहरूको संलग्नता रहेको उदाहरण पनि उनीहरूले उल्लेख गरेका छन्।
हेलसिन्की विश्वविद्यालयमा नवीनता कार्यमा संलग्न ७० प्रतिशत व्यक्तिहरू अन्तर्राष्ट्रिय पृष्ठभूमिका रहेको उनीहरूले लेखमा जनाएका छन्।
विदेशी विशेषज्ञहरूले फिनल्यान्डको आविष्कार गर्ने क्षमता र आर्थिक सफलतालाई बढावा दिने उनीहरूको तर्क छ।
फिनल्यान्डमा हाल बेरोजगारीको समस्या भए पनि धेरै क्षेत्रमा अझै दक्ष कामदारको अभाव छ। श्रम मन्त्रालयको प्रतिवेदन अनुसार सन् २०२३ मा जनशक्तिको अभावले ६५ हजार रोजगारी सिर्जना हुनै सकेन।
विज्ञहरूका अनुसार दक्ष जनशक्ति नभएको ठाउँमा वैदेशिक लगानी पनि आकर्षित हुँदैन। लगानीकर्ताहरूले त्यस्ता देश रोज्छन् जहाँ उनीहरूलाई आवश्यक पर्ने विशेषज्ञहरू उपलब्ध हुन्छन्।
हाल फिनल्यान्डका विश्वविद्यालयहरूमा करिब ३० हजार विदेशी विद्यार्थीहरू अध्ययनरत छन्। तर तीमध्ये करिब आधा विद्यार्थीहरू स्नातक पछि आफ्नो योग्यता अनुसारको काम नपाएर देश छोड्न बाध्य छन्।
विदेशी विज्ञहरूलाई रोक्न नसके आर्थिक विकासको लक्ष्य हासिल गर्न कठिन हुने विज्ञहरूको चेतावनी छ।
यी प्रतिभाशाली युवाहरूलाई देशमै रोक्नु फिनल्यान्डको भविष्यका लागि निकै चुनौतीपूर्ण र आवश्यक छ रहेको तर्क दोलिभो र आप्टरले गरेका छन्।
स्वीडेन, जर्मनी र बेलायत जस्ता देशहरूले दक्ष विदेशीलाई आकर्षित गर्न धेरै सुविधाहरू दिइरहेको र फिनल्यान्डले पनि यी देशहरूसँग प्रतिस्पर्धा गर्न र आफ्नो अर्थतन्त्र बलियो बनाउन सक्रिय हुनुपर्ने उनीहरूको तर्क छ।
विदेशी विज्ञहरूलाई रोक्न नसके आर्थिक विकासको लक्ष्य हासिल गर्न कठिन हुने विज्ञहरूको चेतावनी छ।
फिनल्यान्डमा पछिल्लो समय आप्रवासन नीतिमा कडाइ भइरहेको छ। तर आर्थिक क्षेत्रका विज्ञहरूले भने वृद्ध हुँदै गएको जनसंख्या र दक्ष जनशक्तिको अभाव पूरा गर्न विदेशीहरूलाई स्वागत गर्नुपर्नेमा जोड दिँदै आएका छन्। विशेषगरी प्रविधि र स्वास्थ्य क्षेत्रमा विदेशी जनशक्तिको माग उच्च छ।





