.संक्षेपमा.
- फिनल्यान्ड र ईयूका राजदुतको प्रधानमन्त्री शुसिला कार्कीसँग भेट।
- जनाए प्रजातन्त्र, विकास र मानव अधिकारमा प्रतिबद्धता।
- ‘जेन-जी’ आन्दोलनका माग सम्बोधन गर्न युरोपेली लगानी र रोजगारी सिर्जनामा जोड।
नेपालमा हालै भएको ‘जेन-जी’ आन्दोलनपछिको राजनीतिक परिदृश्यमा फिनल्यान्ड र युरोपेली संघ (ईयू) ले नेपालको प्रजातन्त्र, सुशासन र आर्थिक विकासमा आफ्नो समर्थन पुनः पुष्टि गरेका छन्।
फिनल्यान्डका राजदूत पेत्री पुहाक्का सहितको युरोपेली प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी नेपालको नयाँ यात्रामा सँगै रहने प्रतिबद्धता जनाएको हो।
काठमाडौंमा भएको भेटमा ईयू राजदूत भेरोनिक लोरेन्जो, फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभल र जर्मन दूतावासका प्रतिनिधि पनि सहभागी थिए।
उनीहरूले नेपालको प्रजातान्त्रिक प्रक्रिया, कानुनी शासन र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि आफ्नो पूर्ण समर्थन रहेको बताए।
नेपालको लोकतन्त्रलाई बलियो बनाउन सुशासनका विभिन्न परियोजनाहरूमा पनि फिनल्यान्डको महत्वपूर्ण लगानी रहेको छ।
फिनल्यान्ड नेपालको पुरानो र भरपर्दो विकास साझेदार हो। फिनल्यान्डले दशकौंदेखि नेपाललाई खानेपानी तथा सरसफाइ (WASH), शिक्षा, जलवायु परिवर्तन अनुकूलन र लैङ्गिक समानता जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ।
नेपालको लोकतन्त्रलाई बलियो बनाउन सुशासनका विभिन्न परियोजनाहरूमा पनि फिनल्यान्डको महत्वपूर्ण लगानी रहेको छ।
युरोपेली प्रतिनिधिमण्डलले नेपालको आर्थिक वृद्धि, ईयू लगानी आकर्षित गर्ने र नेपालीका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरामा जोड दिएको छ।
प्रतिनिधिमण्डलले आफूहरू नेपालको एक विश्वसनीय आर्थिक तथा राजनीतिक साझेदार भएको बताउँदै नेपालको समृद्धिमा सघाउन #TeamEurope सधैं तयार रहेको स्पष्ट पारेको छ।





