.संक्षेपमा.
- फिनल्यान्डका करिब १२% खुद्रा पसलहरूमा खाद्य लेबलिङको समस्या।
- विदेशी मूलका पसलहरूमा एलर्जी र सामग्री सम्बन्धी जानकारी फिनिश/स्वीडिश भाषामा नरहेको।
- भाषागत समस्या र अतिरिक्त लागतका कारण व्यवसायीहरू लेबलिङ गर्न अनिच्छुक।
फिनल्याण्डको खाद्य प्राधिकरणले गत वर्ष गरेको २,५०० भन्दा बढी खुद्रा पसलहरुको निरीक्षणमा करिब १२ प्रतिशत पसलहरुले अनुचित रुपमा लेबल गरिएका खाद्य उत्पादनहरु बिक्री गरिरहेको पाइएको छ। यो समस्या विशेषगरी विदेशी मूलका जातीय पसलहरुमा बढी देखिएको छ। खाद्य उत्पादनमा प्रयोग भएका सामग्रीहरु र एलर्जी गराउने तत्वहरुको जानकारी फिनिश वा स्वीडिश भाषामा उल्लेख गर्नुपर्नेमा नगरिएको पाइएको छ।
फिनिश खाद्य प्राधिकरणकी वरिष्ठ विशेषज्ञ Tuulikki Lehto ले फिनिश प्रशारण संस्था YLE लाई भने अनुसार, “लेबलिङको कमी एकदमै गम्भीर विषय हो। एलर्जीका कारण ग्राहकलाई अस्पताल भर्ना हुनुपर्ने स्थिति पनि आउन सक्छ।”
उदाहरणका लागि Vaasa शहरमा पाँच विदेशी मूलका जातीय पसलहरुले आफ्नै खाद्य सामग्रीहरु फिनल्याण्ड आयात गर्छन्। यीमध्ये दुई पसललाई यस वर्ष र गत वर्ष अपर्याप्त लेबलिङका लागि धेरै पटक चेतावनी दिइएको छ। एउटा कम्पनीले समस्या सुधारेको छ भने अर्कोले बारम्बार चेतावनी पाउँदा पनि सुधार गरेको छैन।
बहुसांस्कृतिक उद्यमी संघका प्रतिनिधि Heiman Khezri ले कानून र नियमहरुको पालना गर्नुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए। उनका अनुसार सबै विदेशी मूलका उद्यमीहरुलाई कानूनी आवश्यकताहरुको बारेमा जानकारी नभएर पनि समस्या भएको हुन सक्छ।
Vaasa सहर वातावरण कार्यालयका निर्देशक Esa Hirvijärvi ले भने यस विषयमा आर्थिक पक्ष पनि रहेको बताए। उनका अनुसार फूड लेबलहरुको अनुवाद नगर्ने र पुन: लेबलिङ नगर्ने कम्पनीहरुले कम लागतमा काम चलाउन सक्छन्, जबकि कानून पालना गर्नेहरुले बढी खर्च गर्नुपर्छ।

लेबलिङको कमी एकदमै गम्भीर विषय हो। एलर्जीका कारण ग्राहकलाई अस्पताल भर्ना हुनुपर्ने स्थिति पनि आउन सक्छ।
– Tuulikki Lehto, फिनिश खाद्य प्राधिकरणकी वरिष्ठ विशेषज्ञ
फिनिश खाद्य प्राधिकरणकी Tuulikki Lehto ले यो समस्याको एक समाधानको रूपमा उद्यमीहरूका लागि संयुक्त थोक विक्रेताको अवधारणा प्रस्ताव गरेकी छिन्, जसले उत्पादन सम्बन्धी जानकारीहरूलाई केन्द्रीकृत गर्न सक्छ। त्यसैगरी खुद्रा विक्रेताहरूले कानूनी प्रावधानहरूसँग परिचित हुनुपर्ने वा सहयोगका लागि एजेन्टको सहयोग लिन सक्ने उनको सुझाव छ।
बहुसांस्कृतिक उद्यमी संघका Heiman Khezri ले जानकारी प्रवाहमा सरकारी निकायहरूको महत्वपूर्ण भूमिका रहने बताए। “आवश्यक जानकारीहरू एकै स्थानमा उपलब्ध छैनन्, विभिन्न सरकारी वेबसाइटहरूमा छरिएर रहेका छन्। फिनिश र स्वीडिश भाषा बाहेक अन्य भाषाहरूमा पनि नियमहरूको जानकारी उपलब्ध गराउन सकिए राम्रो हुने थियो,” Khezri ले भने।
फिनिश खाद्य प्राधिकरणले खाद्य जानकारी मार्गदर्शन प्रकाशित गरेको छ तर यो फिनिश र स्वीडिश भाषामा मात्र उपलब्ध छ। यद्यपि युरोपेली संघको लेबलिङ कानून सबै युरोपेली संघका भाषाहरूमा र अनलाइनमै उपलब्ध छ।
द्विभाषिक नगरपालिकाहरू जस्तै Vaasa मा उत्पादनको लेबल दुवै राष्ट्रिय भाषाहरूमा हुनुपर्छ। एकभाषिक क्षेत्रहरूमा भने स्थानीय आधिकारिक भाषा मात्र पर्याप्त मानिन्छ।
सरकारी निकायहरूले यस समस्यालाई गम्भीरतापूर्वक लिएका छन् र पटक-पटक चेतावनी दिँदा पनि सुधार नगर्ने व्यवसायीहरूलाई जरिवाना गर्ने सम्मको कारबाही गर्न सक्ने चेतावनी दिएका छन्।
…खाद्य लेबलिङमा के-के हुनुपर्छ?.
- खाद्य वस्तुको नाम।
- सामग्रीहरूको सूची।
- एलर्जी उत्पन्न गर्ने पदार्थहरू र उत्पादनहरू हाइलाइट गर्नुपर्छ।
- विशेष सामग्री वा सामग्री समूहहरूको मात्रा।
- सामग्रीको तौल वा मात्रा।
- न्यूनतम भण्डारण मिति वा उपभोग गर्नुपर्ने मिति र केही उत्पादनहरूको हकमा फ्रिज गरिएको वा जमाईएको मिति।
- खाद्य व्यवसाय सञ्चालन गर्ने व्यक्तिको नाम, व्यापार नाम वा व्यवसाय नाम, र ठेगाना।
- आवश्यकता बमोजिम खाद्य उत्पत्तिको देश वा मूल स्थान।
- आवश्यकता बमोजिम भण्डारण र प्रयोग सम्बन्धी निर्देशनहरू।
- यदि अल्कोहलको मात्रा १.२% भन्दा बढी छ भने त्यसको जानकारी।
स्रोत: फिनिस खाद्य प्राधिकरण





