लन्डनस्थित आप्रवासन परामर्शदाता हेन्ले एन्ड पार्टनर्सले सार्वजनिक गरेको पछिल्लो हेन्ले पासपोर्ट सूचकांक अनुसार फिनल्यान्डले विश्वका शक्तिशाली पासपोर्टको सूचीमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।
हेन्ले पासपोर्ट सूचकांक २०२५ का अनुसार फिनल्यान्डको पासपोर्ट विश्वको तेस्रो सबैभन्दा शक्तिशाली राहदानी बनेको छ।
फिनल्यान्डका नागरिकहरूले विश्वका १८९ गन्तव्यहरूमा भिसा बिना वा आगमन भिसा (visa-on-arrival) को सुविधामा यात्रा गर्न सक्छन्।
हेन्ले पासपोर्ट सूचीले विभिन्न देशका राहदानीले कति देशमा सहज पहुँच राख्छन् भन्ने आधारमा वरीयता निर्धारण गर्दछ।
यस वर्षको वरीयतामा सिंगापुरले आफ्नो पहिलो स्थान कायमै राखेको छ। सिंगापुरका नागरिकले १९३ देशमा सहज यात्राको अनुमति पाएका छन्। दोस्रो स्थानमा जापान र दक्षिण कोरिया छन्। यी देशका नागरिकले १९० देशमा भिसा-रहित पहुँच पाउँछन्।
तेस्रो स्थानमा फिनल्यान्डसँगै फ्रान्स, जर्मनी, इटाली, र स्पेन छन्। युके छैठौं, अष्ट्रेलिया सातौं, क्यानडा आठौं, र अमेरिका दसौं स्थानमा छन्।
दक्षिण एसिया र नेपालको स्थिति
विश्वव्यापी यात्रा स्वतन्त्रताको यो दौडमा दक्षिण एसियाली देशहरूको अवस्था भने मिश्रित छ। भारतले आफ्नो वरीयतामा उल्लेख्य सुधार गर्दै ७७ औं स्थानमा उक्लिएको छ। भारतीय पासपोर्ट वाहकहरूले अब ५९ देशमा भिसा-रहित पहुँच पाउनेछन्।
नेपालको पासपोर्ट भने कमजोर अवस्थामै रहेको छ। ताजा रिपोर्टअनुसार नेपाल ९९ औं स्थानमा छ र नेपाली नागरिकले केवल ३८ देशमा मात्र भिसा-रहित वा आगमनमा भिसाको सुविधा पाउँछन्। यो तथ्यांकले नेपाली नागरिकहरूका लागि अन्तर्राष्ट्रिय यात्रा अझै पनि चुनौतीपूर्ण रहेको देखाउँछ।
पाकिस्तानको पासपोर्ट विश्वकै कमजोर पासपोर्टमध्ये एकको रूपमा ९६ औं स्थानमा छ, जसले केवल ३२ देशमा मात्र सहज पहुँच दिन्छ। बंगलादेशको अवस्था नेपालभन्दा केही माथि रहेको छ। अन्तिम स्थानमा अफगानिस्तानको पासपोर्ट रहेको छ।





