.संक्षेपमा.
- फिनल्यान्डका कारागारहरू भरिभराउ अवस्थामा।
- सन् २०३० सम्ममा १,००० भन्दा बढी थप कैदी स्थानको आवश्यकता पर्ने।
- एस्टोनियाका कारागारहरूमा भने खाली स्थान उपलब्ध।
कारागारहरूमा बढ्दो भिडभाड समस्या समाधान गर्न फिनल्यान्डको न्याय मन्त्रालयले विदेशी कारागारहरूमा स्थान भाडामा लिने बारे अध्ययन सुरु गरेको छ। खासगरि कैदीहरूलाई एस्टोनिया पठाउने उद्देश्य सहित अध्ययन थालिएको हो। फिनल्यान्डकी न्याय मन्त्री तथा फिन्स पार्टीकी नेतृ लेना मेरीको निर्देशनमा यो अध्ययन सुरु भएको हो।
हालै सरकारले ४०० नयाँ कैदी स्थानका लागि थप बजेट विनियोजन गरेको भए तापनि फिनल्यान्डका कारागारहरू अहिले ऐतिहासिक रूपमा भरिभराउ अवस्थामा छन्। सन् २०२७ सम्ममा तुर्कु कारागारमा १४० थप कैदी स्थान निर्माण गर्ने योजना छ। साथै ताम्पेरे क्षेत्रमा एउटा नयाँ बन्द कारागार निर्माण गर्ने योजना पनि रहेको छ।
युरोपका अन्य देशहरूले पनि यस्तै व्यवस्था गरेका छन्। स्वीडेन र एस्टोनियाबीच भखरै भएको सम्झौताले १८ वर्ष माथिका कैदीहरूलाई एस्टोनिया पठाउन सकिने व्यवस्था गरेको छ। स्वीडेन र फिनल्यान्डमा भन्दा एस्टोनियामा कैदि राख्नु सस्तो पनि पर्छ। डेनमार्कले पनि कोसोभोसँग ३०० कैदी कक्ष भाडामा लिने सम्झौता गरेको छ।
फिनल्यान्डको दण्ड सेवा विभागका अनुसार सन् २०३० सम्ममा १,००० भन्दा बढी थप कैदी स्थानको आवश्यकता पर्ने अनुमान गरिएको छ।
यो योजना कार्यान्वयन गर्न कानुनी परिवर्तन र थप बजेटको आवश्यकता पर्ने मन्त्री मेरीले बताएकी छिन्। फिनल्यान्डको दण्ड सेवा विभागका अनुसार सन् २०३० सम्ममा १,००० भन्दा बढी थप कैदी स्थानको आवश्यकता पर्ने अनुमान गरिएको छ।
उता एस्टोनियामा भने कारागारमा कैदी निकै कम छन् र कुनै कुनै कारागारहरू त खालि नै रहेका छन्। उदाहरणका लागि टार्टु जेलको क्षमता करिब १,००० कैदीको भए पनि हाल केही सय कैदी मात्र राखिएका छन्। एस्टोनियाभरि करिब ३,००० जेल क्षमता भए पनि आवश्यकता यसको आधा मात्र छ। खाली जेलहरूको मर्मत सम्भार एस्टोनियालाई महँगो भएको छ। एस्टोनियाले यसअघि नेदरल्यान्ड्ससँग पनि जेल भाडामा दिने बारे वार्ता गरेको थियो।





