0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिन्स पार्टीका उच्च नेताले आप्रवासीलाई भने ‘कमसल जमात’, चौतर्फी विरोध

    फिन्स पार्टीका प्रथम उपसभापति तथा सांसदले आप्रवासीहरूलाई 'कमसल' भनेपछि फिनल्यान्डको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। रंगभेदी पार्टीसंग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री ओर्पोको समेत आलोचना भएको छ भने विपक्षी ग्रिन पार्टीले त विरोध प्रदर्शन समेत गरेको छ।

    .संक्षेपमा.


    • सत्तारुढ फिन्स पार्टीका नेता तथा सांसदले आप्रवासीलाई ‘कमसल खाले’ भने।
    • अन्य दलका नेताहरूद्वारा उक्त टिप्पणीको कडा आलोचना।
    • प्रधानमन्त्री ओर्पोले गरे टिप्पणीको आलोचना, अरू पार्टीले गरे ओर्पोकै विरोध।

    फिनल्यान्डको सत्तारुढ गठबन्धनमा सामेल राष्ट्रवादी फिन्स पार्टीका प्रथम उपसभापति तथा सांसद तेमु केस्कीसार्याले आप्रवासीहरूलाई “कमसल” भनी गरेको टिप्पणीले फिनल्यान्डको राजनीतिमा ठूलो तंरग सिर्जना गरेको छ।

    उनले राष्ट्रिय टेलिभिजनमा एक बहसको क्रममा आप्रवासीका कारण फिनल्यान्डमा लाखौंको संख्यामा “कमसल” मानिसहरू भित्रिएको बताएका थिए। उनले आप्रवासीहरूले फिनल्यान्डलाई विकासोन्मुख देशजस्तै बनाएको टिप्पणी गरेका थिए।

    “आप्रवासन खतरा मात्र होइन, यो आंशिक रूपमा घटिसकेको महाविपत्ति हो,” उनले भने। “एकै पुस्तामा, लाखौंको संख्यामा अधिकांश heikkolaatuisia अर्थात् ‘कमसल गुणस्तरका’ आप्रवासीहरू भित्रिएका छन्।”

    बहसमा सहभागी ग्रिन पार्टीकी अध्यक्ष सोफिया भिर्ताले तत्कालै प्रतिवाद गरिन्। “तेमु, यो बहसको स्तरभन्दा धेरै माथि छन् उनीहरू,” उनले केस्किसार्याको टिप्पणीमा आपत्ति जनाउँदै भनिन्, “निश्चित रूपमा धेरै माथि।”

    बहसमै सहभागी नेसनल कोलिसन पार्टी (कोकुमुस) की पिया कौमाले पनि मानवीय मूल्यको रक्षा गर्नुपर्नेमा जोड दिइन्।

    “हामीले कसैको पनि मानवीय गरिमामाथि प्रहार गर्नुहुँदैन,” उनले भनिन्, “मानवीय मूल्यको हिसाबले उनीहरू अरू सबै सरह समान स्तरमा छन्।”

    तर केस्किसार्या रोकिएनन्।

    “अफ्रिकी र मध्य पूर्वीय मूलका मानिसहरू शैक्षिक, सांस्कृतिक र व्यावसायिक रूपमा फिनिस नागरिकसरह समान स्तरका छन् त?” उनले प्रतिप्रश्न गरे।

    सर्वत्र विरोध

    केस्किसार्याको टिप्पणी केबल एक सांसदको व्यक्तिगत विचार थिएन। उनी फिन्स पार्टीका प्रथम उपसभापति हुन्, जुन प्रधानमन्त्री पेत्तेरी ओर्पो नेतृत्वको गठबन्धन सरकारको एक महत्वपूर्ण हिस्सा हो।

    प्रधानमन्त्री ओर्पोले तुरुन्तै केस्किसार्याको भनाइको खण्डन गरे। “म यस्ता टिप्पणीहरूलाई स्वीकार गर्न सक्दिन,” उनले भने, “यो विषयमा सरकार र संसदीय दलहरूभित्र छलफल हुनेछ।”

    तर विपक्षी दलहरूका लागि प्रधानमन्त्रीको यो प्रतिक्रिया पर्याप्त थिएन। प्रधानमन्त्रीलाई रंगभेदी पार्टीलाई काखी च्यापेर सरकारमा सामेल बनाएको भन्दै विपक्षी दलहरूले प्रश्न गरिरहेका छन्।

    प्रमुख विपक्षी दल एसडीपीका नेताहरूले पनि उक्त भनाईको विरोध गरेका छन्। तर सबैभन्दा चर्को विरोध भने ग्रिन र वामपन्थी गठबन्धनले गरेका छन्।

    वामपन्थी गठबन्धनकी अध्यक्ष मिन्या कोस्केलाले केस्कीसार्याको भनाईलाई सिधै नस्लवादको संज्ञा दिइन्।

    “यो फिन्स पार्टीको गल्ती होइन। यो उनीहरूको घट्दो लोकप्रियताको छटपटी र नस्लवाद हो,” उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। “के प्रधानमन्त्री ओर्पो यस्तै भनाइलाई सामान्यीकरण गर्न चाहनुहुन्छ?”

    ग्रिन पार्टीकी अध्यक्ष सोफिया भिर्ताले त स्टुडियोमै प्रतिवाद मात्र गरिनन्, सामाजिक संजालमा पनि “हिजो ए स्टुडियो मा जे देखियो त्यो स्विकार्य हुन सक्दैन” भन्ने सन्देशका साथ फोटो राखिन्।

    जहाँबाट आएका भएपनि सबै मान्छेहरु समान छन् भन्ने अंग्रेजीमा लेखिएको टिसर्ट लगाएर भिर्ताले अर्को फोटो पनि राखिन्। ग्रिन पार्टीले त रंगभेदको विरोधमा फिनल्यान्डको संसद् भवन अगाडी विरोध प्रदर्शनको आयोजना समेत गर्यो।

    ग्रिन पार्टीकी अध्यक्ष सोफिया भिर्ताले त स्टुडियोमै प्रतिवाद मात्र गरिनन्, सामाजिक संजालमा पनि “हिजो ए स्टुडियो मा जे देखियो त्यो स्विकार्य हुन सक्दैन” भन्ने सन्देशका साथ फोटो राखिन्।

    आप्रवासीको दुख्यो मन

    राजनीतिक दाउपेच र आरोप-प्रत्यारोपभन्दा पर यी शब्दहरूको सबैभन्दा गहिरो असर फिनल्याण्डमा बस्ने हजारौं आप्रवासीहरूमा परेको देखिन्छ। वर्षौंदेखि फिनल्याण्डलाई आफ्नो घर बनाएर बसेका, यहाँको समाजमा योगदान पुर्‍याएका र यहाँका कडा चिसोसँग अभ्यस्त भएका मानिसहरूका लागि ‘कमसल’ शब्द एक अपमानजनक प्रहार थियो।

    “जब तपाईंले आफ्नो देश छोडेर नयाँ ठाउँमा भविष्य बनाउन आउनुहुन्छ, तपाईंले भाषा, संस्कृति र अनेकौं चुनौतीहरूसँग संघर्ष गर्नुपर्छ,” एक मध्य पूर्वीय आप्रवासी जस्ता देखिने व्यक्तिले सामाजिक संजालमा लेखेका छन्।

    “हामी कर तिर्छौं, रोजगारी सिर्जना गर्छौं र यो समाजको हिस्सा बन्न हरसम्भव प्रयास गर्छौं। तर जब एकजना प्रमुख नेताले तपाईंलाई ‘कमसल’ भन्छन्, त्यसले तपाईंको आत्मसम्मानमाथि नै प्रश्न उठाउँछ। यस्तो लाग्छ हामीले जति गरे पनि हामी सधैं दोस्रो दर्जाको नागरिक नै रहिरहनेछौं।” उनले लेखेका छन्।

    केस्कीसार्याले बोलेका कुरा सहि कि गलत?

    खासगरि फिन्स पार्टीका समर्थकहरूले केस्कीसार्याले बोलेको कुरा सत्य भएको र त्यसलाई अतिरंजित गर्नु नपर्ने भन्दै उनको प्रतिरक्षा गरेका छन्।

    तर केस्कीसार्याको आप्रवासनसम्बन्धी टिप्पणी तथ्य जाँचमा भने गलत सावित भएको छ। तथ्याङ्कमा आधारित विश्लेषणले उनका धेरै दाबीहरू या त भ्रामक वा असत्य रहेको देखाएको हो।

    इल्ता-सानोमात पत्रिकाको अनुरोधमा जनसंख्या विकास र आप्रवासनका विशेषज्ञ डा. तिमो आरोले केस्कीसार्याका भनाइहरूको तथ्य जाँच गरेका थिए। डा. आरो फिनल्यान्डमा यस क्षेत्रका एक प्रसिद्ध विशेषज्ञ मानिन्छन्।

    केस्कीसार्याले ‘जनसंख्या प्रतिस्थापन’ (väestönvaihto) लाई तथ्याङ्कीय सत्य भनेका थिए। तर डा. आरोले यसलाई ‘अफवाह’ भनेका छन्। उनका अनुसार फिनल्यान्डको जनसंख्यामा परिवर्तन भइरहेको सत्य हो, तर यसलाई ‘प्रतिस्थापन’ भन्नु अतिशयोक्तिपूर्ण र गलत व्याख्या हो।

    केस्कीसार्याले फिनल्यान्डमा श्रम-आधारित आप्रवासन नभएको र अधिकांश आप्रवासीहरू सामाजिक सुरक्षा र सुविधाका लागि आउने दाबी गरेका थिए। तर तथ्याङ्कले यो दाबीलाई पनि गलत देखाउँछ। गत वर्ष काम र अध्ययनका लागि भिसा आवेदन दिनेहरूको संख्या सामाजिक सुरक्षाका लागि आवेदन दिनेहरूको भन्दा निकै बढी थियो।

    डा. आरोका अनुसार सन् २०२३ मा कामका लागि १५,०२४ र अध्ययनको लागि १४,१६३ पहिलो आवेदन परेको थियो। यसको तुलनामा अन्तर्राष्ट्रिय सुरक्षा अर्थात् शरणका लागि केवल २,३९९ आवेदनहरू थिए।

    केस्कीसार्याले फिनल्यान्डमा एक लाख विदेशी बेरोजगार रहेको दाबी गरे पनि सरकारी तथ्याङ्क अनुसार जुलाई २०२५ को अन्त्यमा विदेशी बेरोजगारहरूको संख्या ५४,२३५ थियो।

    साथै उनले आप्रवासीहरूलाई ‘कम गुणस्तरका’ भनेर टिप्पणी गरेका थिए, जसलाई डा. आरोले ‘अर्थहीन’ भन्दै खण्डन गरेका छन्।

    उनका अनुसार फिनल्यान्डमा बस्ने अधिकांश आप्रवासीहरू काम र अध्ययनका लागि आउने र उनीहरूका परिवारका सदस्य हुन्। त्यसमा धेरै त युक्रेनी शरणार्थी वा अन्य युरोपेली संघका नागरिकहरू पनि छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप