.संक्षेपमा.
- पूर्व सांसद तुर्तिआइनेन रुस बसाइँ सरे, शरणका लागि दिए आवेदन।
- फिनल्यान्डको संसदलाई ३०,००० युरो तिर्न बाँकी।
- रुस-समर्थक र आप्रवासीका कडा आलोचक।
फिनल्यान्डका विवादास्पद पूर्व सांसद आनो तुर्तिआइनेनले रुसमा राजनीतिक शरणका लागि आवेदन दिएका छन्। रुस-समर्थक र रुसी प्रचार फैलाउने एक अमेरिकी अनुसन्धानकर्ता क्रिस्टोफर हेलालीले सामाजिक सञ्जाल X मार्फत यो जानकारी दिएका हुन्।
हेलालीका अनुसार तुर्तिआइनेनले याल्टा अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा आफ्नो सम्बोधनका क्रममा शरण मागेको घोषणा गरेका हुन्।
यसअघि यसै हप्ता तुर्तिआइेननले आफ्नो युट्युब भिडियोमा आफू मस्को सरेको र रुसी भाषा सिकिरहेको बताएका थिए।
फिनल्यान्डमा सधैँ आप्रवासी र खास गरी शरणार्थीको विरोध गर्ने उनी अन्ततः आफै राजनैतिक शरण माग्दै रुस पुगेका छन्।
फिनल्यान्डको संसदले तुर्तिआइनेनसँग उनलाई भुक्तानी गरिएको पार्टी समूहको ३०,००० युरो फिर्ता मागिरहेको छ। उनले अहिलेसम्म संसदलाई एक युरो पनि तिरेका छैनन्।
तुर्तिआइनन सन् २०१९ मा पेरुस सुओमालाइनन (Finns Party) को सूचीबाट संसदमा निर्वाचित भएका थिए।
अमेरिकामा प्रहरीद्वारा मारिएका जर्ज फ्लोयडको खिल्ली उडाएपछि उनलाई संसदीय समूहबाट निष्कासन गरिएको थियो। निष्कासनमा परेपछि उनले आफ्नै एक्लो संसदीय समूह खडा गरेका थिए।
उनी आप्रवासीहरूको पनि कट्टर आलोचक थिए।
सांसद रहँदा तुर्तिआइनेन रुस-समर्थक विचार र खोप-विरोधी गतिविधिका कारण चर्चामा थिए। उनी आप्रवासीहरूको पनि कट्टर आलोचक थिए।
उनलाई शरणार्थी केन्द्रको विरुद्धमा हिंसा भड्काएको आरोपमा दोषी ठहर गरिएको थियो। उनले मानिसहरूलाई हतियार उठाउन र गृहयुद्ध सुरु गर्न आह्वान गर्नेजस्ता विवादास्पद काम गर्ने गरेका थिए। उनले इबोला महामारी अफ्रिकामा जनसंख्या नियन्त्रणमा राख्ने प्रकृतिको तरिका हो भनेर दाबी गरेका थिए।





