.संक्षेपमा.
- हेलसिन्की नगरले प्रदान गर्ने स्वास्थ्य, शिक्षा, रोजगारी र अन्य महत्त्वपूर्ण सेवाहरूबारे विस्तृत जानकारी दिइने।
- कार्यक्रम २७ जुलाई आइतबारका दिन माउनुलास्थित Stadin Yhteisötalo मा हुने।
- स्थानीय विकास, नागरिक सहभागिता, र फिनल्यान्डको परिवर्तित आप्रवासन कानुनबारे जानकारी र सल्लाह लिने मौका।
गैर-आवासीय नेपाली संघ (NRNA) फिनल्यान्डले हेलसिन्कीमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी एक महत्त्वपूर्ण अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। “हेलसिन्की नगर प्रतिनिधीसंग अन्तर्क्रिया कार्यक्रम” शीर्षकमा आयोजना हुने यो कार्यक्रम आइतबार, २७ जुलाई २०२५ का दिन हेलसिन्कीको माउनुलास्थित Stadin Yhteisötalo मा हुनेछ। पहिले माउनुलाको युवा केन्द्रमा हुने भनिए पनि आयोजकले कार्यक्रम स्थान परिवर्तन भएको छ।
दिउँसो ३:०० बजेदेखि ५:३० बजेसम्म चल्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य हेलसिन्की नगरपालिकाले सहरवासीलाई प्रदान गर्ने विभिन्न सेवा र अवसरहरूबारे नेपाली समुदायलाई विस्तृत जानकारी गराउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रमले विशेष गरी परिवार, बालबालिका, विद्यार्थी, युवा, महिला, बेरोजगार व्यक्ति, वरिष्ठ नागरिक र नयाँ व्यवसाय गर्न चाहने उद्यमीहरूलाई लक्षित गरेको छ।
कार्यक्रममा हेलसिन्कीका नगर सदस्य (सिटी काउन्सिलर) कृष्ण रेग्मीले आफ्नो निर्वाचनपछि गरेका कामहरू र नागरिक सहभागिताबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। सहभागीहरूले उनीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसर पनि पाउनेछन्।
कार्यक्रममा गैर-आवासीय नेपाली संघ फिनल्यान्डद्वारा समुदाय विकासमा गरिएका योगदानका बारेमा पनि जानकारी दिइनेछ।
कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षणको रूपमा नर्डिक लिगल सोलुसन्स (Nordic Legal Solutions) का प्रमुख कार्यकारी अधिकृत तथा आप्रवासन कानुनका विज्ञ श्री शम्सुल आलमको प्रस्तुति रहनेछ। उनले हालै फिनल्याण्डको आप्रवासन कानुनमा भएका परिवर्तनहरू र त्यसले नेपाली समुदायमा पार्ने असरबारे विविध जानकारी प्रदान गर्नेछन्।
आयोजक NRN फिनल्यान्डले यस कार्यक्रममार्फत नेपाली समुदायलाई स्थानीय निकायसँग जोड्ने, आफ्नो अधिकारबारे सचेत गराउने र हेलसिन्कीको नागरिक जीवनमा सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा समयमै उपस्थितिका लागि सम्पूर्ण हेलसिन्कीवासी नेपालीहरूलाई अनुरोध गरिएको छ।

कार्यक्रम तालिका:
स्थान: Stadin Yhteisötalo Saunabaari, Metsäpurontie 25, 00630 Helsinki
मिति: आइतबार, २७ जुलाई २०२५
समय: दिउँसो ३:०० – ५:३०
फिनल्यान्डमा बसोबास गर्ने करिब १२,००० नेपालीहरू मध्ये करिब ६,५०० राजधानी क्षेत्र वरिपरिका सहरहरूमा बस्छन्।





