.संक्षेपमा.
- हेलसिन्की महानगरीय क्षेत्रमा भाडा दर ०.३ प्रतिशतले घट्यो।
- एक कोठे फ्ल्याटहरूमा बस्ने मान्छे पाइन छाडे।
- विद्यार्थी आवास भत्ता नीतिमा परिवर्तनले थप प्रभाव पार्ने।
फिनल्यान्डको राजधानी हेलसिन्की र वरपरको क्षेत्रमा घर भाडा बजारले ऐतिहासिक मोड लिएको छ। तथ्याङ्क इतिहासमा पहिलो पटक स्वतन्त्र बजारका अर्थात् प्राइभेट भाडाका घरहरूको मूल्यमा गिरावट आएको छ।
फिनल्यान्डको तथ्याङ्क विभाग (Statistics Finland) का अनुसार हेलसिन्की महानगरीय क्षेत्रमा निजी भाडाका घरहरूको मूल्य अप्रिल-जुन २०२५ मा गत वर्षको सोही अवधिको तुलनामा ०.३ प्रतिशतले घटेको हो।
भाडा घटाउँदा पनि बस्ने मान्छे नभेटिए पछि घर लगानीकर्ताहरूलाई महिनौंसम्म अपार्टमेन्टहरू खाली राख्नुपर्ने अवस्था सिर्जना भएको छ।
निजी घरहरूको भाडा घटिरहेको बेला राज्य-समर्थित (ARA) आवासहरूको भाडा भने बढिरहेको छ। हेलसिन्कीमा यस्ता घरहरूको भाडा करिब चार प्रतिशतले बढेको छ। यद्यपि यिनीहरू पनि निजी बजारको तुलनामा एक तिहाइभन्दा बढी सस्ता छन्। ARA घरहरूको भाडा बजारको प्रतिस्पर्धाले नभई लागतले निर्धारण गर्ने भएकाले यस्तो भिन्नता देखिएको हो।
घरभाडामा बस्न मान्छे पाइन छाडे
घर लगानीकर्ता युहा पार्भियाइनेनको पूर्वी हेलसिन्कीमा रहेको एउटा स्टुडियो अपार्टमेन्ट गत मार्चदेखि खाली छ। “मैले पहिले नै भाडा दश प्रतिशतले घटाइसकेको छु, तर पनि राम्रो भाडामा लिने व्यक्ति भेट्टाउन गाह्रो भइरहेको छ,” पार्भियाइनेनले फिनिस सार्वजनिक प्रसारण संस्था YLE संगको कुराकानीमा भनेका छन्।
“समस्या मूल्यको भन्दा पनि तिर्न सक्ने क्षमता भएका र जिम्मेवार भाडामा बस्नेहरूको अभाव हो।”
करिब २० वर्षदेखि घरजग्गामा लगानी गर्दै आएका पार्भियाइनेनका लागि हेलसिन्कीको वर्तमान अवस्था पूर्ण रूपमा अचम्म लाग्दो छ।
फिनिस तथ्याङ्क विभागका एक वरिष्ठ तथ्याङ्कविदका अनुसार बजारमा घरहरूको अत्यधिक आपूर्ति भएका कारण भाडामा यो गिरावट आएको हो। अर्थात् अहिले मागभन्दा धेरै घरहरू भाडाका लागि उपलब्ध छन्।
फिनल्यान्डका अन्य क्षेत्रहरूमा भने भाडामा औसत ०.९ प्रतिशतले सामान्य वृद्धि देखिएको छ र माग र आपूर्तिबीच राम्रो सन्तुलन छ।
घर भाडा दिने एजेन्ट हेनरी हाक्सियालाले YLE लाई बताए अनुसार अहिले बजार “भाडामा लिनेहरूको” छ। “केही वर्ष पहिले भाडाका अपार्टमेन्टहरू लगभग आफैँ भाडामा जान्थे,” उनी भन्छन्।
“अहिले भाडामा बस्ने राम्रा मान्छेहरूका लागि कडा प्रतिस्पर्धा छ र घरहरू लामो समयसम्म खाली रहन्छन्।”
उनले घर भाडामा लिनेहरूलाई विभिन्न घरहरू हेरेर मोलतोल गर्न सुझाव दिएका छन्। घरधनीहरूलाई भने भाडा घटाउन वा धरौटी रकममा लचकता अपनाउन उनी सुझाउँछन्।
सरकारी नीतिको पनि भूमिका
घरभाडा बजारमा आएको यो परिवर्तनमा सरकारी नीतिले पनि भूमिका खेलेको छ। आगामी अगस्टदेखि विद्यार्थीहरूलाई दिइने आवास भत्तामा परिवर्तन हुँदैछ, र यसले उनीहरूलाई सस्ता अपार्टमेन्ट वा सामूहिक आवासतर्फ धकेल्न सक्छ। यही कारण महँगा स्टुडियो अपार्टमेन्टहरूको माग अझै घट्ने अनुमान छ।





