.संक्षेपमा.
- रेस्टुरेन्टले करिब ४५०० लाफिङ ग्यासका बोतल बेचेको प्रहरीको अनुमान।
- ग्राहकहरुले लाफिङ ग्यास नशाका लागि किनेका थिए।
- प्रहरीले १२०० बोतल लाफिङ ग्यास बरामद गरेको छ।
हेलसिन्की प्रहरीले एक रेस्टुरेन्टले करिब ४५०० लाफिङ ग्यासका बोतल गैरकानूनी रुपमा बेचेको आशंकामा अनुसन्धान अघि बढाएको छ। उक्त रेस्टुरेन्टबाट नशाका लागि लाफिङ ग्यास किन्ने ग्राहकको संख्या दर्जनौं रहेको प्रहरीले बताएको छ।
सन् २०२३ को अन्त्यदेखि २०२४ को समर सम्ममा यो घटना भएको प्रहरीले जनाएको छ। प्रहरीको आफ्नै निगरानीका क्रममा यो अपराध पत्ता लागेको हो। प्रहरीका अनुसार यसरी गैरकानुनी रूपमा लाफिङ ग्यास बेच्ने काम ‘स्वास्थ्य अपराध’ अन्तर्गत पर्दछ। लाफिङ ग्यासको दुरुपयोगले स्वास्थ्यमा गम्भिर खतरा निम्त्याउन सक्छ।
फिनल्यान्डको कानुन अनुसार व्यक्तिगत प्रयोगका लागि लाफिङ ग्यास राख्नु दण्डनीय छैन। तर नशाको उद्देश्यले बेच्न वा मध्यस्थता गर्नु दण्डनीय अपराध मानिन्छ।
प्रहरीले रेस्टुरेन्टका मालिकबाट करिब १२०० लाफिङ ग्यासका बोतल बरामद गरेको छ। एक बोतलको तौल करिब १.४ किलोग्राम रहेको छ। प्रहरीका अनुसार बोतलहरु प्यालेटमा राखिएका थिए र केही गाडीहरुमा पनि फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानमा रेस्टुरेन्ट मालिकले लाफिङ ग्यास युरोपेली संघ क्षेत्र बाहिरबाट मगाएको खुलेको छ। प्रहरीले उनीमाथि करिब ४५०० बोतल बेचेको आरोप लगाएको छ।
हेलसिन्की प्रहरीका अनुसन्धान प्रमुख जासूस मार्कुस मेत्सानेनले Yle लाई बताए अनुसार प्रहरीको अनुमान कागजातहरु र अन्य प्रमाणमा आधारित छ।
प्रहरीले रेस्टुरेन्टबाट नगद पनि बरामद गरेको छ जुन लाफिङ ग्यास बिक्रीबाट आएको आशंका गरिएको छ।

प्रहरीले रेस्टुरेन्टबाट नगद पनि बरामद गरेको छ जुन लाफिङ ग्यास बिक्रीबाट आएको आशंका गरिएको छ।
मेत्सानेनका अनुसार फिनल्यान्डमा स्वास्थ्य अपराध निकै दुर्लभ छन्, अर्थात् पछिल्लो दश वर्षमा यस्ता केही घटना मात्र भएका छन्।





