0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको नयाँ चार वर्षे योजनाः हरेक नागरिकलाई आफ्नै डाक्टर, यातायात पनि सस्तो

    आज सार्वजनिक हेलसिन्कीको नयाँ रणनीतिमा हेलसिन्की सेन्टर र पासीलाको बिचमा नयाँ ट्रेन स्टेसन बन्ने, सार्वजनिक यातायातको टिकट सस्तिने, र सहरवासीका लागि 'आफ्नै व्यक्तिगत डाक्टर' को व्यवस्था लगायतका कुराहरू समावेश छन्।

    .संक्षेपमा.


    • हेलसिन्कीमा नयाँ रेल स्टेसन र वृहत् यातायात सुधार योजना।
    • सन् २०३० सम्म ८५% उत्सर्जन कटौती लक्ष्य।
    • स्वास्थ्य सेवा र शिक्षामा व्यापक सुधारका कार्यक्रम।
    • पाँच वर्षे उमेरदेखि नै दुई वर्षे पूर्व-विद्यालय शिक्षा कार्यक्रम लागू गरिने
    • सन् २०३० सम्ममा घरबार विहीनता पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य।
    • ६८ वर्ष माथिकालाई दिउँसो ११ बजेदेखि ३ बजेसम्म पौडी पोखरीमा निःशुल्क प्रवेश।

    फिनल्यान्डको राजधानी हेलसिन्कीका नवनियुक्त मेयर डानियल साजोनोभले आगामी चार वर्षका लागि शहरको नयाँ रणनीतिक योजना सार्वजनिक गरेका छन्। योजनाले यातायात, वातावरण संरक्षण, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा व्यापक सुधारको प्रस्ताव गरेको छ।

    योजना अनुसार हेलसिन्कीको मुख्य रेलवे स्टेशन र पासिला स्टेशनको बीचमा रहेको हेलसिन्की कातुमा नयाँ रेल स्टेशन निर्माण गरिनेछ। सार्वजनिक यातायातलाई सस्तो र सुलभ बनाउने लक्ष्यका साथ टिकटको मूल्य घटाइनेछ। वातावरण संरक्षणतर्फ शहरले सन् २०३० सम्ममा कार्बन उत्सर्जनमा ८५ प्रतिशत कटौती गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।

    स्वास्थ्य क्षेत्रमा ‘आफ्नो डाक्टर’ (omalääkäri) मोडेल लागू गरिने र विद्यालय शिक्षामा प्रारम्भिक कक्षाहरूको कक्षा साइज १८ विद्यार्थीमा सीमित गरिने योजना रहेको छ। आफ्नो डाक्टर मोडेलमा इच्च्छुक नगरवासीलाई सधै एउटै डाक्टरले हेर्न सक्नेछन्। यस्तो डाक्टर सरकारी मात्र नभएर प्राइभेट प्राक्टिस गर्ने पनि हुन सक्नेछन्।

    शहरको केन्द्रीय क्षेत्रको विकासका लागि नयाँ वास्तुकला र डिजाइन संग्रहालय निर्माण गरिनेछ।

    कोकोमुस, सोसल डेमोक्र्याट्स, ग्रिन पार्टी, वामपन्थी गठबन्धन र स्विडिश पिपुल्स पार्टी सहित सबै प्रमुख राजनीतिक दलहरूले यी योजनालाई समर्थन गरेका छन्।

    हेलसिन्की नगरका नगर सदस्य कृष्ण रेग्मीले नेपालीलाइनेनसंग कुरा गर्दै यो नयाँ रणनीतिले हेलसिन्की साच्चिकै न्यायपूर्ण, भविष्यमुखी र समावेशी हुन चाहन्छ भन्ने देखाएको बताए। नयाँ रणनीतिमा विकास दिगो हुनुपर्छ र सबैलाई समेट्नुपर्छ भन्ने स्पष्ट मान्यता रहेको पनि उनले बताए।

    “यो रणनीति केवल कागजको टुक्रा मात्र होइन,” उनले भने, “विश्वास र समानताको निर्माण गर्ने हेलसिन्कीको प्रतिबद्धता पनि हो।”

    हेलसिन्कीमा वस्ने आप्रवासी समुदायलाई नयाँ रणनीतिले कसरी समेटेको छ भन्ने प्रश्नको जवाफमा रेग्मीले विभिन्न उदाहरणहरू दिए।

    “जस्तै पहिलो पटक बहुभाषिक बालबालिकाको आवश्यकतालाई तिनीहरूको क्षमता सम्मान गर्दै सम्बोधन गरिँदैछ। कुनै पनि बालबालिकालाई जब साँच्चै आवश्यक हुन्छ तब मात्र S2 वा R2 शिक्षामा राखिनेछ। यो न्यायपूर्ण शिक्षातर्फ ठूलो प्रगति हो।”

    हेलसिन्कीमा वस्ने आप्रवासीहरु पनि सहरको भविष्यको हिस्सा हुन् भन्ने वास्तविकतालाई नयाँ रणनीतिले आत्मसाथ गरेको उनले बताए।

    रणनीति राम्रो भएपनि त्यसको कार्वान्वयन अझै महत्वपूर्ण हुने र नगर सदस्यका रूपमा त्यसमा आफूले निरन्तर काम गर्ने उनले स्पष्ट पारे।

    नयाँ रणनीतिले हेलसिन्की साच्चिकै न्यायपूर्ण, भविष्यमुखी र समावेशी हुन चाहन्छ भन्ने देखाएको छ।

    कृष्ण रेग्मी, हेलसिन्की नगरका नगर सदस्य

    “कार्यान्वयन साहसी र जवाफदेही हुनुपर्छ। मेरो समर्थन विशेष गरि समुदाय नेतृत्वमा आधारित समाधानहरूमा हुनेछ। रोजगारी, आवास र सहरले प्रदान गर्ने अन्य दैनिक जीवनका क्षेत्रमा हुने भेदभावसँग लड्न बलियो उपायहरू आवश्यक छन्। र त्यसमा हामीले निरन्तर काम गर्नेछौं।” रेग्मीले भने।

    के के छन् हेलसिन्कीका अन्य योजना?

    शहरी विकास र सामुदायिक सुधार योजनाहरू

    नयाँ रणनीतिमा इताकेस्कुस क्षेत्रको विकासका लागि विशेष योजनाहरू प्रस्तुत गरिएको छ। स्टोआ सांस्कृतिक केन्द्रको विस्तार, पुहोस क्षेत्रको पुनर्निर्माण र पौडी पोखरीको पुर्ण रुपमा पुनरोत्थान गरिने छ। इताकेस्कुसमा बाहिर कार्यक्रम गर्न मिल्ने स्थल निर्माण गरिने योजना पनि रहेको छ।

    आवास र भूमि नीतिमा महत्वपूर्ण परिवर्तनहरू ल्याइँदैछ। जग्गा बिक्रीका लागि लिलामी प्रणाली अपनाइने र भाडाबाट स्वामित्वमा जाने मोडल कार्यान्वयन गरिने छ। विशेषगरी वृद्ध र विद्यार्थीहरूका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइनेछ।

    सार्वजनिक सुरक्षा र सेवा सार्वजनिक सुरक्षाको क्षेत्रमा बंकर निर्माण र डिजिटल सुरक्षामा विशेष ध्यान दिइनेछ। युरोपेली संघ बाहिरका क्लाउड सेवाहरूमाथिको निर्भरता घटाउने र स्थानीय डिजिटल पूर्वाधार सुदृढ पार्ने योजना रहेको छ।

    लागूपदार्थ दुरूपयोग नियन्त्रण र युवा मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सी-हेपाटाइटिस उन्मूलन कार्यक्रम पनि शुरू गरिने छ।

    विद्यालयहरूमा विशेष कोच र परामर्शदाताहरूको व्यवस्था गरिनेछ। विशेषगरी गैर-फिनिश भाषी बालबालिकाहरूको शिक्षामा सहयोग पुर्‍याउन थप बजेटको व्यवस्था गरिएको छ। पाँच वर्षे उमेरदेखि नै दुई वर्षे पूर्व-विद्यालय शिक्षा कार्यक्रम लागू गरिने तयारी छ।

    यी सबै योजनाहरूको कार्यान्वयनका लागि नगरपालिकाले कर वृद्धि नगर्ने र विद्यमान स्वास्थ्य सेवाहरूको निजीकरण पनि नगर्ने प्रतिबद्धता जनाएको छ। साथै सन् २०४० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न विभिन्न वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गरिने छन्।

    सार्वजनिक कला र सांस्कृतिक सम्पदा

    नगरको सौन्दर्यीकरण र सांस्कृतिक विकासका लागि सार्वजनिक कला बजेट दोब्बर पारिने भएको छ। शहरका विभिन्न भागमा भित्तेचित्र (म्युरल) र कलात्मक प्रदर्शनीहरूको संख्या बढाइनेछ। साथै सांस्कृतिक संस्थाहरू र गैर-नाफामूलक संगठनहरूलाई थप स्थान र सुविधाहरू उपलब्ध गराइने छ।

    हानासारी क्षेत्रको रूपान्तरण पुरानो हानासारी विद्युत् केन्द्र क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता आयोजना गरिने छ। सुभिलाह्ती, सोरनाइनेन जेल र टुक्कुतोरी क्षेत्रको एकीकृत विकास योजना पनि अघि बढाइनेछ।

    हरियाली बढाउन सडक किनारा र चोकहरूमा रूख र बिरुवाहरू रोपिनेछ। विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनहरूको संख्या बढाइनेछ। बन्दरगाहहरूमा जहाजहरूका लागि विद्युतीय आपूर्ति सुविधा विस्तार गरिनेछ।

    खेलकुद र मनोरञ्जन

    ६८ वर्ष माथिका नागरिकहरूलाई दिउँसो ११ बजेदेखि ३ बजेसम्म पौडी पोखरीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। बालबालिकाका लागि विषयगत खेल पार्कहरू निर्माण गरिनेछ। साथै विद्यालय र बाल विकास केन्द्रहरू नजिक यातायात सुरक्षामा विशेष ध्यान दिइनेछ।

    सन् २०३० सम्ममा घरबारविहीनता पूर्णरूपमा अन्त्य गर्ने लक्ष्य राखिएको छ। साथै प्रत्येक टोल क्षेत्रमा गुणस्तरीय सार्वजनिक सेवाहरू, विशेषगरी विद्यालय र बाल विकास केन्द्रहरूको सुनिश्चितता गरिनेछ। नागरिक सहभागिता बढाउन सहभागितामूलक बजेट निर्माण र स्थानीय समुदायहरूलाई सहयोग गर्ने कार्यक्रमहरू पनि सञ्चालन गरिने छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप