0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भान्तामा नवआगन्तुक नेपालीलाई स्वागत तथा अभिमुखीकरण

    कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सत्र पनि राखिएको थियो। विद्यार्थीहरूको मुख्य चासो अध्ययन सकिएपछि फिनिस रोजगार बजारमा कसरी प्रवेश गर्ने भन्नेमा केन्द्रित थियो।

    .संक्षेपमा.


    • नवआगन्तुकहरूलाई फिनिस संस्कृति, प्रणाली एवं व्यवस्थामा समाहित हुन आवश्यक सुझाव प्रदान।
    • आप्रवासन नीति, सामाजिक सुरक्षा (KELA) र तिनले विद्यार्थी तथा आश्रितहरूमा पार्ने प्रभावबारे चर्चा।
    • फिनिस रोजगार बजारको वर्तमान अवस्था र आफ्नो क्षेत्रमा रोजगारी पाउन गर्नुपर्ने तयारीबारे जानकारी।

    भान्ता, फिनल्याण्ड – फिनल्याण्डमा भर्खरै आएका तथा आफ्नो विद्यार्थी जीवन प्रारम्भ गरेका नेपालीहरूलाई लक्षित गरी भान्तामा एक स्वागत तथा जानकारीमूलक कार्यक्रम सम्पन्न गरिएको छ। करिब २ घण्टासम्म चलेको उक्त कार्यक्रममा नवआगन्तुकहरूले जान्नै पर्ने आवश्यक जानकारी, नयाँ वातावरणमा घुलमिल हुने तरिका, मानसिक तथा शारीरिक स्वास्थ्य व्यवस्थापन र फिनल्याण्डमा व्यवस्थित बसोबासका लागि आवश्यक पर्ने कुराहरूबारे छलफल गरिएको थियो।

    कार्यक्रम आयोजकले नेपालीलाइनेनलाई जानकारी गराए अनुसार कार्यक्रममा विशेष गरी तीनवटा विषय समेटिएको थियो। कार्यक्रम आयोजक मध्येका एक भान्ता नगरपालिकाका नगर सदस्य शेखर आचार्यले नवआगन्तुक विद्यार्थीहरूले फिनिस संस्कृति, यहाँको प्रणाली एवं व्यवस्थामा कसरी आफूलाई समाहित गर्न प्रयास गर्नुपर्छ र ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी दिएका थिए। उनले नयाँ परिवेशमा घुलमिल हुनका लागि आवश्यक व्यावहारिक सुझावहरू पनि दिएका थिए।

    इन्टिग्रेसन कोअर्डिनेटर ब्योमा ताम्राकारले फिनल्याण्डको आप्रवासन सम्बन्धी नीतिहरू, त्यसले विद्यार्थी तथा उनीहरूका आश्रित आवेदकहरूमा पार्न सक्ने प्रभावहरूका बारेमा चर्चा गरेकी थिइन्। उनले सामाजिक सुरक्षा प्रणाली (KELA) र त्यस अन्तर्गत प्राप्त हुन सक्ने सुविधाहरूका बारेमा पनि चर्चा गरेकी थिइन्, जुन नवआगन्तुकहरूका लागि अत्यन्त महत्वपूर्ण जानकारी थियो।

    कार्यक्रमको अर्को प्रस्तुति फिनल्यान्डमा धेरै वर्ष बसेका इन्जीनियर/स्ट्रक्चरल एक्सपर्ट विशेष लोहनीको थियो। लोहनीले फिनिस रोजगार बजारको पछिल्लो वस्तुस्थिति, विभिन्न क्षेत्रमा रहेका अवसरहरू र आफ्नो शैक्षिक योग्यता तथा रुचिको क्षेत्रमा जागिर पाउनका लागि के कस्ता तयारीहरू गर्नुपर्छ भन्ने विषयमा विश्लेषण प्रस्तुत गरेका थिए। उनले रोजगारीका लागि आवश्यक सीप विकास र नेटवर्क निर्माणको सुझाव दिएका थिए।

    निराजन थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा दर्जनौं विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सत्र पनि राखिएको थियो, जहाँ सहभागीहरूले आफ्ना जिज्ञासाहरू राखेका थिए। विद्यार्थीहरूको मुख्य चासो अध्ययन सकिएपछि फिनिस रोजगार बजारमा कसरी प्रवेश गर्ने भन्नेमा केन्द्रित थियो।

    यो कार्यक्रम विशेष गरी फिनल्याण्डमा नयाँ रहेका वा विद्यार्थी जीवन सुरु गर्न लागेकाहरूका लागि अत्यन्त उपयोगी साबित भएको आयोजकको दाबी छ। कार्यक्रमको उद्देश्य प्रत्येक नवआगन्तुकले जान्नै पर्ने दर्ता र प्रमुख प्रक्रियाहरू, नयाँ वातावरणमा सहजै घुलमिल हुने र आगामी योजना बनाउने रणनीतिहरू, मानसिक र शारीरिक स्वास्थ्य व्यवस्थापनका उपायहरू, साथै खुला छलफलमार्फत आफ्ना प्रश्नहरूको उत्तर पाउन र अनुभव आदानप्रदान गर्न मद्दत गर्नु थियो। कार्यक्रममा चिया, कफी र कुकिजहरूको पनि व्यवस्था गरिएको थियो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप