0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको ट्राभल फेयरमा सहभागी पर्यटन बोर्ड प्रतिनिधी भन्छन्–डायस्पोराको साथ चाहियो

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत भन्छन्–फिनल्यान्डका मानिसहरूले पर्यटनको दिगोपनामा बढी रुचि राखेको देखिन्छ। हामीले उनीहरूलाई हाम्रो पर्यटन दिगोपनमै आधारित रहेको बताएका छौँ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी अहिले फिनल्यान्डमा छन्। राजधानी हेलसिन्कीमा आयोजित उत्तरी युरोपकै सबैभन्दा ठुलो पर्यटन मेला Matka Travel Fare (Matkamessut) मा नेपाली टोलीको प्रतिनिधित्व गर्दै उनी फिनल्यान्ड आइपुगेका हुन्। मेलामा नेपाल पर्यटन बोर्डका अतिरिक्त नौ वटा नेपाली ट्राभल कम्पनीहरूको पनि उपस्थिति छ।

    फिनल्यान्डका नागरिकहरूको नेपाल भ्रमण प्रतिको चासो, नेपाली पर्यटनको वर्तमान अवस्था, र विदेशमा बस्ने नेपालीहरूले नेपाली पर्यटन प्रवर्द्धनमा पुर्‍याउन सक्ने भूमिकाबारे नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसालले वरिष्ठ अधिकृत सुवेदीसँग कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:


    तपाईंहरूको ट्राभल फेयर र फिनल्यान्डको अनुभव कस्तो भइरहेको छ? यहाँ पहिलो पटक आउनु भएको हो?
    म चाहिँ फिनल्यान्ड यसअघि पनि आएको थिएँ, सन् २०१६ तिर। अहिले चाहिँ नर्डिक क्षेत्रमा भइरहेको यो मात्का फेयरमा भाग लिन आएका हौँ। हामी गत वर्षदेखि यसमा नियमित सहभागी भइरहेका छौँ। पहिले पनि गर्थ्यौँ तर बीचमा रोकिएको थियो।

    यो फेयरकै लागि नेपालबाट ९ वटा ट्राभल कम्पनी लिएर आएका हौँ। यहाँ बुथ छ हाम्रो। यहीँ बसेर हामी नेपाल प्रमोट गर्ने र व्यवसायीहरूले नेपाल भ्रमणका विभिन्न प्याकेजहरू बेच्ने र सम्बन्धहरू विस्तार गर्ने काम भइरहेको छ। हामी मुलतः प्रचार-प्रसारका लागि नै आएका हौँ।

    भनेपछि पर्यटन बोर्डको नेतृत्वमा व्यवसायीहरू सहित आउनुभएको हो?
    हो। नेपाल टुरिजम बोर्ड संसारभरका महत्त्वपूर्ण फेयरहरूमा सहभागी हुन्छ। नर्डिक क्षेत्रमा पर्ने यो ‘नर्डिक फेयर’ मा पनि हामी आएका हौँ। फिनल्यान्डका मानिसहरू पनि नेपालमा माउन्टेन क्लाइम्बिङ र ट्रेकिङ गर्न मन पराउँछन्। त्यसैले यहाँको समुदायलाई हामी उपस्थित छौँ भन्ने राम्रो सन्देश जाओस् भनेर आएका हौँ।

    टुरिजम बोर्ड एक्लै नआई व्यवसायीहरूलाई पनि लिएर आएका छौँ। व्यवसायीहरूले यहाँ प्याकेजहरू बेच्छन्, अन्तरक्रिया गर्छन्, सम्बन्ध बनाउँछन् र B2B लगायतका सबै कुरा गर्छन्।

    व्यवसायीहरूले कस्ता प्याकेजहरू लिएर आउनुभएको छ?
    व्यवसायीहरूले ग्राहकको चाहनाअनुसार प्याकेजहरू कस्टमाइज गर्न सक्छन्। मुख्यतया ट्रेकिङ, सांस्कृतिक भ्रमण, र वाइल्डलाइफ सफारी जस्ता प्याकेजहरू छन्। व्यवसायीहरूले सबै किसिमका सेवा प्रदान गर्न सक्छन्। यदि कसैलाई काठमाडौँ, पोखरा वा अन्य कुनै विशेष क्षेत्रमा जान मन छ भने त्यसका लागि आकर्षक प्याकेजहरू उपलब्ध छन्।

    हामी यहाँ “नेपाल राम्रो छ” भनेर समग्र देशको प्रचार गर्छौँ, व्यवसायीहरूले आफ्ना प्याकेजहरू बेच्छन्। यहाँ तत्काल किनबेच नभए पनि उनीहरूसँग सम्पर्क स्थापित भएपछि मानिसहरूले पछि गएर उनीहरूसँग समन्वय गरी व्यक्तिगत यात्राको योजना बनाउँछन्।

    सुवदी भन्छन्ः गत वर्ष हामी २०१९ को जस्तै आगमन सङ्ख्यामा फर्कियौँ। पर्यटन अहिले राम्रो लयमा छ। त्यसैले यो मौकामा हामीले अझ बढी पहल गर्नुपर्छ र राम्रो बजारमा पुग्नुपर्छ।

    तपाईंहरूले धेरै मानिसहरूसँग कुरा गर्नुभयो होला। नेपालको विषयमा उनीहरूको खास रुचि कस्ता प्याकेजहरूमा देखिन्छ र उनीहरूको चिन्ता चाहिँ के मा छ?
    फिनल्यान्डका मानिसहरूले पर्यटनको दिगोपन (सस्टेनेबिलिटी) मा बढी रुचि राखेको देखिन्छ। हामीले उनीहरूलाई हाम्रो पर्यटन दिगोपनमै आधारित रहेको बताएका छौँ।हाम्रो पर्यटन दिगो छ, जसमा शेर्पा संस्कृति, हिमाल र हाम्रो संस्कृति प्रमुख हुन्। हाम्रो जीवनशैली पनि दिगो पर्यटनलाई नै बढावा दिने खालको छ।

    उनीहरू प्राकृतिक उत्पादनहरूको प्रयोगमा जोड दिन्छन्। हाम्रो संस्कृतिमा परम्परागत सामानहरू प्रयोग हुन्छन् जुन पुनः प्रयोग गर्न सकिन्छ। हामी एकपटक प्रयोग गरेर फ्याँक्ने चलन अभ्यास गर्दैनौँ। यसकारण उनीहरूको हामीसँग बढी सम्बन्ध स्थापित हुन सक्ने देखिन्छ। फिनल्यान्ड दिगोपनको मामिलामा अगाडि भएकाले हाम्रो पर्यटनसँग यसको राम्रो तालमेल छ। यदि हामीले यो बजारमा राम्ररी काम गर्न सक्यौँ भने फिनिस पर्यटकहरू राम्रो संख्यामा नेपाल आउने सम्भावना देखिन्छ।

    बेलाबेलामा नेपालमा घट्ने घटनाहरू र राजनैतिक अस्थिरताका समाचारहरू पनि आइरहन्छन्। उनीहरूले केही त्यस्तो सुरक्षा खतरा वा चिन्ता व्यक्त गरे?
    हो। सोधपुछका क्रममा केही सामान्य प्रश्नहरू त भए। तर यात्रा गर्ने मानिसहरूले त्यस्ता कुराहरू बुझेका हुन्छन्। हाम्रो देशमा सुरक्षा खतरा उत्पन्न हुने वा लामो समयसम्म असर पार्ने खालका कुनै समस्याहरू भएका छैनन्। हालका परिवर्तनहरूलाई पनि उनीहरूले नकारात्मक रूपमा लिएका छैनन्। विश्व समुदायले नै नेपाल आउँदा देशको राजनीतिक वा अन्य अवस्था भन्दा पनि यहाँका हिमाल, ट्रेकिङ, संस्कृति र मन्दिरका कुरामा बढी चासो देखाएका छन्। यसरी फिनल्यान्डका मानिसहरूको पनि नेपालप्रति राम्रो सद्भाव रहेको देखियो।

    तपाईँहरू नेपाललाई ‘प्रोमोट’ गर्दै विदेशमा हिँडिरहनुभएको छ। हाम्रो पर्यटनको अवस्था अहिले कस्तो छ? बिग्रिएको हो कि सुध्रिएको हो कि पुरानै अवस्थामा छ?
    पर्यटक आगमनको कुरा गर्दा हामी कोभिड पूर्वको २०१९ को अर्थात् सबैभन्दा राम्रो समयको स्तरमा पुगेका छौँ। २०२० पछि कोभिडले पर्यटनमा असर पारेको थियो, र त्यसपछिका वर्षहरूमा पनि हामीले कोभिडसँग जुझ्नुपर्‍यो।

    गत वर्ष हामी २०१९ को जस्तै आगमन सङ्ख्यामा फर्कियौँ। पर्यटन अहिले राम्रो लयमा छ। त्यसैले यो मौकामा हामीले अझ बढी पहल गर्नुपर्छ र राम्रो बजारमा पुग्नुपर्छ। फिनल्यान्ड र यो नर्डिक क्षेत्र हाम्रो पर्यटनका लागि निकै राम्रो बजार हो। यहाँ आएर प्रचार-प्रसार गर्न र यस्तो साथ पाउन सक्यौँ भने पर्यटन एकदम राम्रो गतिमा अगाडि बढ्छ।

    कोभिडभन्दा अगाडिको समयमा पुग्न सक्यौँ भने हामीले तोकेको सङ्ख्यात्मक मात्र नभई गुणात्मक लक्ष्यहरू पनि पूरा गर्न सक्छौँ। सङ्ख्याको हिसाबमा पनि यस वर्ष वृद्धि भएको छ।

    फिनल्यान्डमा पनि नेपाली समुदाय बढिरहेको छ। यहाँ बस्ने नेपाली समुदायले नेपालको पर्यटन विकासमा के योगदान दिन सक्छन् भन्ने तपाईँहरूलाई लाग्छ?
    फिनल्यान्डमा बस्ने नेपाली समुदायले धेरै सकारात्मक भूमिका खेल्न सक्छ भन्ने लाग्छ। यो बजारमा को विशेषज्ञ छन्, कस्ता बिजनेस र इन्फ्लुएन्सिअरहरू छन् र कोसँग पहल गर्दा कस्तो नतिजा आउँछ राम्रो हुन्छ भन्ने कुरा हामीलाई भन्दा तपाईँहरूलाई थाहा हुन्छ। त्यसैले हामी सहकार्य गर्नुपर्छ भन्ने मान्यता राख्छौँ।

    हामीलाई लाग्छ यहाँका नेपालीहरूले नै नेपाल प्रोमोट गर्दा झनै राम्रो देखिन्छ। आफूले काम गर्ने ठाउँमा होस् वा पढ्ने ठाउँमा, नेपालका बारेमा भन्ने, प्रचार गर्ने आदी गर्न सकिन्छ। हाम्रो थोरै बजेटलाई पनि सही ठाउँमा लगानी गर्न सक्यौँ भने नतिजा अवश्य आउँछ। त्यसैले हाम्रो सहकार्य आवश्यक छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप