.संक्षेपमा.
- फिनल्यान्डका नेपालीहरूले पनि हर्षोल्लासका साथ जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाए।
- कार्यक्रममा विधिपूर्वक पूजा, हवन, जनै फेर्ने तथा रक्षाबन्धन ग्रहण गर्ने कार्य सम्पन्न।
- कृष्ण जन्माष्टमी, ऋषिपञ्चमी र नेपाली सांस्कृतिक विवाह जस्ता कार्यक्रमको तैयारी हुँदै।
फिनल्यान्डमा बस्ने नेपालीहरूले पनि यो वर्षको जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व उल्लासका साथ मनाएका छन्। यही अवसरमा पशुपतिनाथ आर वाइ (Pashupatinath ry) फिनल्यान्डको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा वैदिक मन्त्रोच्चारणका साथ सामूहिक रूपमा जनै फेर्ने तथा रक्षा बन्धन ग्रहण गर्ने (डोरो बाध्ने) कार्य सम्पन्न भएको छ।
हेलसिन्कीमा हालै सञ्चालनमा आएको चौतारी रेस्टुरेन्ट (Ravintola Chautari) मा आयोजना गरिएको यो कार्यक्रम पशुपतिनाथ फिनल्यान्डले लगातार दोस्रो बर्ष आयोजना गरेको हो। कार्यक्रममा करिब ५० जनाको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले विधिपूर्वक पूजा गरी हवनमा समेत भाग लिएका थिए। नेपालबाट आएका पाहुनाहरूले समेत प्रवासमा आफ्नो महत्त्वपूर्ण पर्व मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए।
“गत वर्ष भन्दा राम्रो भो कार्यक्रम। करिब ५० जना सहभागी भयौँ। नेपालबाट आएका पाहुनाहरूले समेत जनै पूर्णिमा छुट्छ कि भन्ने थ्यो, छुटेन भन्नुभयो। खुसी हुनुभयो।” पशुपतिनाथ आर वाइका उपाध्यक्ष द्रोण सापकोटाले नेपालीलाइनेनलाई भने।
सापकोटाका अनुसार संस्थाले आगामी अगस्ट १६ मा कृष्ण जन्माष्टमीको अवसरमा हेलसिन्कीमै विशेष कार्यक्रम आयोजना गर्ने तैयारी गरिरहेको छ। सो कार्यक्रममा बालबालिकाहरूलाई कृष्ण र गोपिनीको भेषमा सजाइनेछ भने आरती र भजन कीर्तन पनि प्रस्तुत गरिनेछ।
त्यसै गरी संस्थाले अगस्ट २८ मा ऋषि पञ्चमी र अगस्ट ३० मा नेपाली सांस्कृतिक विवाह कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। उपाध्यक्ष सापकोटाले नेपाली विवाह कार्यक्रमलाई फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE ले समेत ‘कभरेज’ गर्ने जानकारी दिए।
फिनल्यान्डमा नेपालीहरूको सङ्ख्या बढेसँगै धार्मिक र सांस्कृतिक गतिविधिहरू पनि बढ्दै गएका छन्।






