.संक्षेपमा.
- चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ३ प्रहरीसहित १८ जना बेपत्ता।
- रसुवागढीस्थित मितेरी पुल पूर्ण ध्वस्त, चीनसँगको सम्पर्क टुट्यो।
- २ सय मेगावाट बराबरको विद्युत् उत्पादन बन्द, भन्सार कार्यालयमा ठूलो क्षति।
नेपालको रसुवामा गएराति आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। चीनतर्फबाट भोटेकोशी नदीमा उर्लिएको बाढीमा परेर तीन जना प्रहरी, ६ जना नेपाली कामदार, दुई नेपाली ड्राइभर र चार जना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले नेपाली मिडियाहरूलाई बताए अनुसार बाढीले रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा बगाएको छ, जसका कारण चीनसँगको स्थलमार्ग सम्पर्क पूर्णतः बिच्छेद भएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूमा सीमा सुरक्षामा खटिएका प्रहरी र पुल निर्माणमा संलग्न कामदारहरू रहेका छन्।
बाढीले रसुवागढी भन्सार कार्यालयको यार्ड र निर्माणाधीन ड्राइपोर्टमा पनि ठूलो क्षति पुर्याएको छ। भन्सार अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार बाढीले जाँच पास हुन बाँकी रहेका नयाँ विद्युतीय गाडी र मालबाहक कन्टेनरहरू बगाएको छ। गाडीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास गर्दागर्दै बाढीले बगाएको उनले नेपाली मिडिया सेतोपाटीलाई बताएका छन्।
बाढीले जलविद्युत् आयोजनाहरूमा पनि गम्भीर क्षति पुर्याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी र त्रिशूली ३ ‘ए’ लगायतका आयोजनाबाट करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ भने ६० मेगावाटको त्रिशूली ३ ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ।

बाढीले भन्सार कार्यालय दस वर्ष अगाडिको अवस्थामा पुगेको छ। जाँच पास हुन बाँकी गाडीहरू र बन्दै गरेको ड्राइपोर्ट पूर्ण रूपमा क्षति भएर त्यहाँ भएका सामान सबै बगाएको छ।
यसैबीच त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाका प्रवक्ताका अनुसार बाढीको जोखिममा परेर रुखमा चढेर बसेका उनीहरूलाई सेनाको हेलिकप्टरले सुरक्षित स्थानमा सारेको हो।





