.संक्षेपमा.
- युरोपको चिसो र एक्लोपन दिल्लीको प्रदूषणभन्दा कष्टकर।
- विदेशमा साथीभाइ र समुदायको अभाव, हरेक काम एक्लै गर्नुपर्ने बाध्यता।
- परिवार र साथीभाइको ‘अक्सिजन’ लिन स्वदेश फर्कने निर्णय।
सन् २०२१ देखि स्विडेनमा बस्दै आएका भारतीय सफ्टवेयर इन्जिनियर अंकुर त्यागीले युरोपको सुविधा सम्पन्न जीवन छोडेर भारत फर्कने निर्णय गरेकाबारे लेखेको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनको उक्त पोस्टका बारेमा प्रमुख भारतीय मिडिया टाइम्स अफ इन्डिया, एनडीटिभी लगायतले समाचार लेखेका छन्।
गत सोमबार सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै उनले युरोपमा सफा हावा र राम्रा सडक भए पनि जीवन सोचेजस्तो सहज नभएको बताएका थिए।
उनले विदेशको एक्लोपन दिल्लीको प्रदूषणभन्दा पनि डरलाग्दो हुने अनुभव सुनाएका थिए।
“यहाँ सबै काम एक्लै गर्नुपर्छ— खाना पकाउने, सरसफाइ गर्ने, बिल तिर्नेदेखि बच्चा हुर्काउनेसम्म।” अंकुर लेख्छन्।
उनले स्विडेनमा हरेक जाडो मौसममा आउने डरलाग्दो सन्नाटासँग एक्लै लड्नुपर्ने पीडा पनि पोखेका छन्।
“यहाँ साथीहरू विनम्र त हुन्छन्, तर टाढा हुन्छन्,” उनी लेख्छन्। “समुदाय भन्ने कुरा विरलै पाइन्छ।”
भारतमा जति नै अस्तव्यस्तता र भ्रष्टाचार भए पनि त्यहाँ मानिसहरूको साथ पाइने उनको बुझाइ छ।
उनले पश्चिमा मुलुकका समस्याहरू बाहिरबाट नदेखिने तर भित्री रूपमा गहिरो चोट दिने खालका हुने उल्लेख गरेका छन्।

उनले पश्चिमा मुलुकका समस्याहरू बाहिरबाट नदेखिने तर भित्री रूपमा गहिरो चोट दिने खालका हुने उल्लेख गरेका छन्।
दिल्लीको प्रदूषणको उच्च जोखिमलाई बेवास्ता गर्दै उनी डिसेम्बर ५ मा भारत फर्कँदै छन्। “हरेक ठाउँको आ-आफ्नै मूल्य हुन्छ, मलाई अब साथीभाइ र परिवारको ‘वास्तविक अक्सिजन’ चाहिएको छ।” उनले भनेका छन्।
उनको उक्त पोस्ट ८०,००० भन्दा बढीले हेरेका छन् र अनेकौँ प्रतिक्रिया दिएका छन्।
पेरिसमा बस्ने एक प्रयोगकर्ताले पनि विदेशमा जति नै सुख भए पनि आफूले अन्ततः भारत नै रोज्ने लेखेका छन्।
अर्का एक प्रयोगकर्ताले सानै उमेरमा विदेश जानेहरू छिटो घुलमिल हुन सक्ने तर पछि जानेहरूलाई भाषा र पहिचानको संकट हुने टिप्पणी गरेका छन्।
केहीले भने उनलाई दिल्लीको प्रदूषणबाट बच्न चेतावनी पनि दिएका छन्। एक प्रयोगकर्ताले केरलाको स्वच्छ हावाबाट दिल्ली पुग्दा आफ्नो साथी एक हप्तासम्म बिरामी परेको प्रसङ्ग उल्लेख गरेका छन्।
केही समय अगाडी अमेरिकामा १७ वर्ष बिताएर भारत फर्किएका एक दम्पतीको भिडियो पनि निकै चर्चामा आएको थियो। उनीहरूले पनि अमेरिकाको छोटो सुत्केरी बिदा, चर्को मेडिकल खर्च लगायतका कारण जिन्दगी निकै तनावपूर्ण बनेको भन्दै भारत फर्कने निर्णय गरेका थिए।
भारतमा सिधै डाक्टरलाई भेट्न सकिने र घरपरिवारको सहयोग पनि प्राप्त हुनेजस्ता कुराहरू उनीहरूले उल्लेख गरेका थिए।





