0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    मनोज अर्याल मेमोरियल कपको दोस्रो संस्करण आयोजना हुँदै, यसरी बितेका थिए अर्याल

    मिर्मिरे स्पोर्टिङ क्लबद्वारा आयोजित दोस्रो मनोज आर्याल स्मृति कपले एक प्रतिभाशाली खेलाडीको विरासतलाई सम्मान गर्दै खेलकुदप्रतिको उनको अगाध प्रेम र समुदायप्रतिको समर्पणलाई जीवन्त राख्ने प्रयत्न गर्दैछ।

    फिनल्यान्डको एस्पोमा रहेको नेपाली युवाहरूको मिर्मिरे स्पोर्टिङ क्लबले मनोज अर्याल स्मृति कपको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

    उक्त प्रतियोगिता आगामी सेप्टेम्बर १३ शनिवारका दिन एस्पोको Laaksolahden Urheilupuisto मा आयोजना हुनेछ।

    गत वर्षको सफलतापछि यो वर्ष पनि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार हेलसिन्की देखि भासासम्मका विभिन्न टिमहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

    यो पटकको विजेताले १५०० युरो र उपविजेताले ५०० युरो नगदका साथै ट्रफी र मेडल प्राप्त गर्नेछन्। गत वर्ष पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिता लालीगुराँस फुटबल क्लबले जितेको थियो।

    प्रतियोगिता मिर्मिरे स्पोर्टिङ क्लबका खेलाडी मनोज अर्यालको सम्झनामा आयोजना गरिएको हो। अर्यालको गत वर्ष निधन भएको हो।

    मुख्य प्रायोजक काभ्य कुजिन र खाद्य साझेदार मोमो म्याजिकको सहयोगमा हुने उक्त प्रतियोगिता मिर्मिरे स्पोर्ट्स क्लबको युट्युब च्यानलमार्फत पनि प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

    को थिए अर्याल?

    फिनल्यान्डको नेपाली समुदायमा यसरी कुनै व्यक्तिको निधनपछि उनको सम्झनामा खेलकुद प्रतियोगिता आयोजना गरिएको यो पहिलो र एक मात्र उदाहरण हो।

    त्यसै कारण अर्याल को थिए, उनको सम्झनामा किन खेलकुद प्रतियोगिताको आयोजना गरियो, र उनी कसरी बितेका थिए भन्नेबारे नेपालीलाइनेनले उनलाई नजिकबाट चिन्ने र अर्याल दुर्घटनामा पर्दाका बखत उनीसँगै रहेका रोनक तिमिल्सिनासँग लामो कुराकानी गरेको छ।

    तिमिल्सिनाका अनुसार करिब १५ वर्षअघि फिनल्यान्ड आएका अर्याल एक मेहनती व्यवसायी, सहयोगी मित्र र सबैका प्रिय पात्र थिए।

    “उहाँ एकदमै सफा मनको मान्छे हुनुहुन्थ्यो। मैले आजसम्म उहाँलाई मन नपराउने एक जना पनि भेटेको छैन,” तिमिल्सिना भन्छन्, “सबैलाई सहयोग गर्न तत्पर रहने, कसैलाई नराम्रो नचाहने। उहाँको व्यक्तित्व नै त्यस्तै थियो।”

    सामाजिक सञ्जालका तस्बिरहरूमा मनोज अर्याल प्रायः हातमा ट्रफी वा गलामा मेडल लगाएर मुस्कुराइरहेका देखिन्छन्। ती तस्बिरहरूले उनको फुटबलप्रतिको लगावकै कथा भन्छन्। तिमिल्सिनाका अनुसार फुटबल अर्यालका लागि निकै प्रिय खेल थियो।

    “मनोज दाइमा फुटबलप्रति निकै लगाव थियो,” तिमिल्सिना सम्झन्छन्। “दुई-दुई वटा कामको व्यस्तताका बिच पनि उहाँ फुटबलका लागि सधैँ समय निकाल्नुहुन्थ्यो।”

    “उहाँमा व्यावसायिक फुटबल खेल्ने इच्छा पनि थियो,” उनी थप्छन्, “उमेर र परिस्थितिले सायद साथ दिएन, तर उहाँको जोस कुनै व्यावसायिक खेलाडीको भन्दा कम थिएन।”

    २०२२ मा मिर्मिरे स्पोर्टिङ क्लबको स्थापनाकालदेखि नै अर्याल क्लबका एक अभिन्न अङ्ग थिए।

    २०२२ मा मिर्मिरे स्पोर्टिङ क्लबको स्थापनाकालदेखि नै अर्याल क्लबका एक अभिन्न अङ्ग थिए।

    फुटबल बाहेक अर्यालले व्यावसायिक जीवनमा पनि सफलताको बाटो कोर्दै थिए। उनले आफ्नै कार्पेन्टिङ (काठको काम/फर्निचर, इन्टरिएर डिजाइन) व्यवसाय सुरु गरेका थिए र आफ्नो काममा निकै लगनशील थिए। उनको व्यवसायले राम्रो गति लिइरहेको थियो।

    यसरी भयो निधन

    अर्यालको गत वर्ष समरमा पौडी खेल्ने क्रममा पानीमा डुबेर हेलसिन्कीमा निधन भएको हो।

    तिमिल्सिनाका अनुसार अर्याल र उनका साथीहरू ताम्पेरेमा फुटबल खेलेर फर्केका थिए। दिनभरिको खेलले उनीहरू स्वाभाविक रूपमा थकित थिए।

    “त्यसै दिन उहाँले एउटा ब्राजिलियन टिमसँग पनि खेल्नुभएको थियो। शरीर निकै गलेको थियो,” घटनाको साक्षी रहेका उनी त्यो क्षण सम्झँदा अझै पनि स्तब्ध हुन्छन्।

    उनीहरू ३ जना थिए। अर्याल र अर्का साथी पौडी खेल्न समुद्रमा छिरे। तिमिल्सिना भने किनारामै बसे।

    तिमिल्सिनाका अनुसार अर्याल कुशल पौडीबाज थिए। कतिपयले घटनालाई मदिरासँग जोडेर पनि हल्ला फैलाए, तर तिमिल्सिनाले उनीहरूले कुनै मदिरा सेवन नगरेको प्रस्ट पार्छन्।

    “उहाँको हरेक पटक पौडिँदा अलि परै रहेको एउटा ढुङ्गा छोएर फर्किने बानी रहेछ। त्यस दिन पनि उहाँ त्यही प्रयासमा हुनुहुन्थ्यो,” उनले भने, “सायद अत्यधिक थकानले गर्दा उहाँको शरीरले साथ दिएन र उहाँ डुब्नुभयो। वहाँ पौडी नजानेको मान्छे पनि हैन। मदिरा खाएर पानीमा गएको पनि हैन।”

    सँगै पौडी खेलेका साथीले अर्याल डुबेको आभास भएपछि उनलाई जसोतसो बाहिर निकाले। उनीहरूले तत्कालै मद्दतका लागि हारगुहार गरे।

    एकपछि अर्को गर्दै चार वटा एम्बुलेन्स आइपुगे।

    “उहाँ धेरै बेर पानीभित्र रहनुभएको थिएन। प्यारामेडिक्सले उहाँको शरीर स्वस्थ र फिट भएकाले छिट्टै निको हुने आशा देखाएका थिए,” उनले भने, “शरीरका अरू अङ्गले काम गरिरहेका थिए, तर मस्तिष्कमा धेरै पानी पसेकाले काम गरेको छैन भनेका थिए।”

    उनलाई तत्काल अस्पताल लगियो, तर केही दिनको अथक प्रयासपछि पनि डाक्टरहरूले उनलाई बचाउन सकेनन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप