संक्षेपमा
- रुसको सीमासँग जोडिएका देशहरूको सुरक्षा र प्रतिरक्षा बलियो बनाउने साझा उद्देश्य।
- प्रधानमन्त्री ओर्पोसहित आठ युरोपेली राष्ट्रका प्रमुखहरू हेलसिन्कीमा भेला।
- हेलसिन्कीको मुख्य भाग र विमानस्थल जाने बाटोमा ट्राफिक अवरोध हुने।
फिनल्यान्डको राजधानी हेलसिन्कीमा आज पहिलो पटक ‘इस्टर्न फ्ल्याङ्क समिट’ आयोजना हुँदैछ। प्रधानमन्त्री पेत्तेरी ओर्पोले युरोपका सात देशका शीर्ष नेताहरूलाई सुरक्षा चुनौती र प्रतिरक्षा तयारीबारे छलफल गर्न बोलाएका हुन्।
ओर्पोसहित समिटमा आठ देशका प्रधानमन्त्रीहरू सहभागी हुनेछन्।
फिनिस सरकारले जारी गरेको विज्ञप्तीका अनुसार यो एक दिने शिखर सम्मेलन विशेषगरी पूर्वी सिमानामा देखिएका सुरक्षा खतरामा केन्द्रित रहनेछ। युरोपको पूर्वी सिमानामा प्रतिरक्षा तयारी र सहकार्यलाई बलियो बनाउनु बैठकको मुख्य एजेन्डा रहेको जनाइएको छ।
बैठकमा स्विडेन, इस्टोनिया, लात्भिया, पोल्यान्ड र बुल्गेरियाका प्रधानमन्त्रीहरू सहभागी हुँदैछन्। यसका साथै रोमानिया र लिथुआनियाका राष्ट्रपतिहरू पनि हेलसिन्की आइपुगेका छन्।
प्रधानमन्त्री ओर्पोका अनुसार यो भेटघाट सुरक्षा खतराबारे गम्भीर छलफल गर्ने उत्कृष्ट अवसर हो। उनले रुससँग सीमा जोडिएका देशहरूले साझा सुरक्षा चुनौती सामना गरिरहेको सरकारी विज्ञप्तीमा बताएका छन्।
प्रहरीले आज निजी सवारीसाधन नचलाउन र सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिएको छ।
“पछिल्लो समय हाइब्रिड अपरेसन, साइबर आक्रमण र हवाई क्षेत्रको उल्लंघन बढेको छ,” ओर्पोले भनेका छन्। युरोपको पूर्वी सिमानामा प्रतिरक्षा प्रणाली अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सवारी आवागमन प्रभावित हुने
यो उच्च स्तरीय बैठकका कारण हेलसिन्कीमा आज सवारी आवागमन प्रभावित हुनेछ। प्रहरीका अनुसार बिहान १० देखि १२ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म ट्राफिक जाम हुन सक्छ।
विशिष्ट पाहुनाहरूको सवारीका कारण सिटी सेन्टर र विमानस्थल जाने सडकमा रोकावट आउनेछ। प्रहरीले आज निजी सवारीसाधन नचलाउन र सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिएको छ।
यो शिखर सम्मेलन ब्रसेल्समा हुने युरोपेली परिषद्को बैठकभन्दा ठीक अघि आयोजना गरिएको हो। प्रधानमन्त्री ओर्पोले गत वर्ष पनि ल्यापल्यान्डमा यस्तै कूटनीतिक भेला आयोजना गरेका थिए।





