.संक्षेपमा.
- फिनिस मिडियाले नेपालको युवा विद्रोह र भ्रष्टाचार विरुद्धको आन्दोलनलाई महत्वका साथ लेखे।
- सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसपछिको हिंसात्मक प्रदर्शन समाचारको केन्द्रमा।
- पूर्व प्रधानन्यायाधीशलाई देशको नेतृत्व सुम्पन माग गरेको विषयले पनि पायो चर्चा।
नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले फिनल्यान्डमा समेत चर्चा पाएको छ।
यहाँका प्रमुख समाचार संस्थाहरूले नेपालको ‘जेन-जी’ पुस्ताले नेतृत्व गरेको सरकार विरोधी प्रदर्शन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसले निम्त्याएको हिंसात्मक उथलपुथललाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन्।
फिनल्यान्डको राष्ट्रिय प्रसारण संस्था YLE ले सोमबारको संकट सुरू भएपछि लगभग प्रत्येक दिन नेपालबारे समाचार लेखेको छ।
आज पनि “नेपालमा प्रदर्शनकारीहरूले पूर्व न्यायाधीशलाई देशको नेतृत्व गर्न माग गरेको” शीर्षकमा समाचार प्रकाशन गरेको छ। समाचारमा काठमाडौंका सडकमा उत्रिएका हजारौं युवाहरूको माग र राजनीतिक नेतृत्वप्रतिको उनीहरूको चरम असन्तुष्टिलाई उजागर गरिएको छ।
फिनल्यान्डको सबैभन्दा ठूलो पत्रिका Helsingin Sanomat ले एक फिनिस नागरिकको अनुभवलाई उद्धृत गर्दै “राजतन्त्रको अन्त्यले सुख ल्याएन” भन्ने शिर्षकमा लेखेको छ।
पत्रिकाले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध असन्तुष्टिको अन्तिम विन्दु मात्रै भएको र विशेषगरी युवाहरूमाझ व्याप्त भ्रष्टाचारप्रतिको निराशा नै विद्रोहको मुख्य कारण भएको विश्लेषण प्रस्तुत गरेको छ।
पत्रिकाले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध असन्तुष्टिको अन्तिम विन्दु मात्रै भएको र विशेषगरी युवाहरूमाझ व्याप्त भ्रष्टाचारप्रतिको निराशा नै विद्रोहको मुख्य कारण भएको विश्लेषण प्रस्तुत गरेको छ।
अर्को प्रमुख पत्रिका Ilta Sanomat ले “सामाजिक सञ्जाल प्रतिबन्धले निम्त्याएको अराजकता: नेपालमा संसद् भवनमा आगजनी, सयौं कैदी फरार” शीर्षकमा सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ।
यी बाहेक MTV, Kauppalehti, र Aamulehti जस्ता अन्य फिनिस मिडियाले पनि नेपालको विषयलाई स्थान दिएका छन्।





