0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    आजका समाचारः युहान्नुस सकियो, फिनल्यान्डमा नेपाल दिवस, र अमेरिकाको इरान आक्रमण

    युहान्नुस पर्वको समापन, फिनल्यान्डमा नेपाल दिवस आयोजना हुने, अमेरिकाको इरान आक्रमण, र Wolt ले अब सेकेन्ड-ह्यान्ड सामान पनि डेलिभरी गर्ने लगायतका समाचार आजको नेपालीलाइनेन समाचार बुलेटिनमा।

    सकियो युहान्नुस

    फिनल्यान्डमा युहान्नुस अर्थात् मध्यसमर पर्व सकिएको छ। हिजोको मौसम तुलनात्मक रुपमा चिसो रहेको र पानी पनि परेका कारण यो वर्ष युहान्नुसमा रमाउनेहरुका लागि मौसमले भने त्यति साथ दिएन।  

    फिनिस प्रहरीले प्रेस नोट जारी गर्दै युहान्नुस पर्वमा भएका विभिन्न घटनाहरूको विवरण दिएको छ। खास गरि मध्यसमर इभ अर्थात् शुक्रबारका दिन मादक पदार्थ सेवन गरी सवारी चलाउने, नशामा लठ्ठिएर डुङ्गा चलाउने, र कुटपिट र अन्य अशान्तिपूर्ण व्यवहारसँग सम्बन्धित धेरै घटनाहरूले प्रहरीलाई निकै व्यस्त राखेको थियो।

    प्रहरीका अनुसार सबैभन्दा गम्भीर घटनामध्ये सालो सहरमा गोली चलेको थियो भने औलुमा झगडाको क्रममा छुरा प्रहार भएको थियो।

    पाइमियोमा एक यात्रुले मोटरवेमा ट्याक्सी चालकलाई कुटपिट गर्न थालेपछि गम्भिर दुर्घटना भएको थियो। कोर्सनासको एउटा घरमा आगो लागेको थियो भने आलायार्भीमा हराएका युवा प्याडलबोर्डरहरूको हेलिकप्टर लगायत विभिन्न साधनको प्रयोग गरि खोजी गरिएको थियो। उनीहरूलाई पछि साथीको समर कटेजमा सकुशल फेला पारिएको थियो।        

    अगस्ट ९ मा फिनल्यान्डमा नेपाल दिवसको आयोजना हुने

    फिनल्याण्डमा आगामी अगस्ट ९ तारिक शनिवारका दिन नेपाल दिवस अर्थात नेपाल डे को आयोजना गरिने भएको छ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्ड र फिनिस नेपाली समाजको संयुक्त आयोजनामा उक्त एक दिवसीय कार्यक्रमको आयोजना हुन लागेको हो। यसअघि एनआरएनए फिनल्यान्डको १ जुन मा सम्पन्न ११औँ बोर्ड बैठकले नेपाल डे आयोजनालाई प्रमुख एजेन्डाका रूपमा छलफल गरेको थियो। अन्य विभिन्न मुलुकहरूमा नेपाल दिवस कार्यक्रमहरू आयोजना गर्ने गरिए पनि फिनल्यान्डमा भने यस्तो कार्यक्रमको आयोजना अहिलेसम्म गरिएको छैन। यद्यपी छिटपुट रुपमा नेपाली सांस्कृतिक इभेन्टहरू भने आयोजना हुँदै आएका छन्।  

    गैर आवासीय नेपाली सङ्घका अध्यक्ष लभ उपाध्यायका अनुसार नेपाल दिवस कार्यक्रम हेलसिन्की स्थित तल्लो माल्मीमा रहेको इभेन्ट्स पार्क अर्थात् Ala-Malmin tapahtumapuisto मा आयोजना हुने भएको हो।    

    नेपाल डे कार्यक्रमले नेपाली संस्कृति, परम्परा र पहिचानलाई फिनल्यान्डमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको पनि उपाध्यायले नेपालीलाइनेनलाई बताए। 

    नेपाल दिवस कार्यक्रमको विस्तृत विवरण छिटै सार्वजनिक गरिने पनि उनले जानकारी दिए। 

    अमेरिकाले इरानमा आक्रमण गर्यो

    इरानविरूद्धको युद्धमा इजरायललाई सघाउँदै अमेरिकाले इरानी आणबिक भट्टीहरूमा बम खसालेको छ। अमेरिकाले इरानको फर्दो न्युक्लियर परियोजनामा ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेको विभिन्न अमेरिकी संचार माध्यमले प्राथमिकताका साथ लेखेका छन्।

    यो बम खसालेपछि फर्दो काम नलाग्नेगरी ध्वस्त भएको हुन सक्ने आकलन गरिएको न्यु योर्क टाइम्सले जनाएको छ।

    त्यस्तै, अमेरिकाले अर्को दुई न्युक्लियर परियोजना नतान्ज र इस्फहानमा सबमरिन (पनडुब्बी) बाट ३० वटा टमाहक क्रुज मिसाइलले आक्रमण गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन परमाणु परियोजनामा हमला गरेको भनेका छन्। बम खसालेर अमेरिकी बम वर्षक विमान इरानी आकाशबाट सुरक्षित फर्किएको ट्रम्पले बताएका छन्।

    ‘हाम्रा बहादुर अमेरिकी सेनाहरूलाई बधाई छ। अब शान्तिको समय हो,’ ट्रम्पले सामाजिक संजालमा लेखेका छन्।

    अमेरिकाले पुनः हमला गर्ने/नगर्ने भन्नेबारे ट्रम्पले आइतबार गर्न लागेको सम्बोधनमा बताउनेछन्।

    अमेरिकी हमलाबाट इरानका आणविक भट्टीहरूमा कति क्षति पुग्यो भन्ने विवरण सार्वजनिक भइसकेको छैन। इजरायलले ती भट्टीहरू ध्वस्त बनाउन आफ्नो बलले नपुग्ने भएकाले बारम्बार अमेरिकालाई सघाउन आग्रह गर्दै आएको थियो।

    भारतले इरानबाट नेपालीलाई पनि उद्दार गर्ने

    युद्धग्रस्त इरानको राजधानी तेहरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने भएको छ। दूतावासले आफ्ना नागरिकसँगै उनीहरूलाई तेहरानबाट बसमा कोम हुँदै मशाद लैजाने भएको हो। मशाद इरानको उत्तरी छिमेक तुर्कमेनिस्तान नजिकको सीमावर्ती सहर हो।

    उनीहरुलाई मशादबाट विमानमार्फत् भारत ल्याउने तैयारी छ। भारतीय दूतावासका अधिकारीहरू मशादमा बसेर आफ्ना नागरिकलाई उद्धार गर्दै स्वदेश पठाइरहेका छन्।

    Speaker 1: शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोक्किँदा एक गर्भवती महिला सहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। धनगढीबाट काँकडभिट्टा जाँदै गरेको बस र मकवानपुरबाट नारायणगढ तर्फ जाँदै गरेको विद्युतीय माइक्रो खहरेपुलमा दुर्घटनामा परेका थिए। दुर्घटनामा परि  ३१ जना घाइते भएका थिए। मृत्यु भएका सात जनामध्ये तीन जना एउटै परिवारका आमा, छोरा र बुहारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार गर्भवती महिलाको ‘डेलिभरी’ का लागि उनीहरू भरतपुर जाँदै थिए। दुर्घटना भएर पुरानो मेडिकल कलेज पुर्‍याउँदा गर्भवती महिला र उनको गर्भमा रहेको बच्चाको पनि मृत्यु भइसकेको प्रहरीले बताएको छ। 

    फिनल्यान्डमा क्रिप्टोकरेन्सी लोकप्रिय  

    फिनल्यान्डमा करिब पाँच लाख नागरिकले क्रिप्टोकरेन्सीमा लगानी गरेको पछिल्लो एक सर्वेक्षणले देखाएको छ। फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE का अनुसार पछिल्ला केही वर्षहरूमा फिनल्यान्डमा क्रिप्टोकरेन्सीको प्रयोग र लगानी निकै तीव्र गतिमा बढेको छ। क्रिप्टो लगानीको यो वृद्धिका पछाडि धेरै कारणहरू छन्। धेरैजसो विश्लेषकहरूले यसलाई कुनै न कुनै रूपमा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतीय चुनावसँग जोडेर हेरेका छन्। अमेरिकी राष्ट्रपतिको चुनावताका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जे.डी. भान्स लगायतले  क्रिप्टो मुद्राका बारेमा सकारात्मक अभिव्यक्ति दिने गरेका थिए। राष्ट्रपति ट्रम्पले त आफ्नै नामको क्रिप्टो क्वाइन समेत सार्वजनिक गरेका थिए।   

    प्याराडक्स म्युजियम भयो पपुलर

    हेल्सिन्कीको मध्यभागमा खोलिएको ‘प्याराडक्स म्युजियम’मा छोटो समयमै  पचास हजार भन्दा बढी आगन्तुकहरू पुगेका छन्। यो संग्रहालय हेलसिन्कीको  Fabianinkatu सडकमा मार्च महिनाको अन्त्यमा खोलिएको थियो।

    प्याराडक्स म्युजियम एक प्रकारको अनुभवात्मक संग्रहालय हो। उक्त संग्रहालयमा दृश्यात्मक तत्वहरू प्रयोग गरी आगन्तुकहरूलाई चकित पार्ने र वास्तविकताप्रतिको उनीहरूको बुझाइलाई चुनौती दिने प्रयास गरिन्छ। यस्तै संग्रहालयहरू पेरिस र लन्डन जस्ता शहरहरूमा रहे पनि फिनल्यान्डमा भने अहिले सम्म सञ्चालनमा थिएन।  

    Speaker 1: खाना र ग्रोसरी डेलिभरी सेवा दिदै आएको कम्पनी ‘वोल्ट’ (Wolt) ले अब प्रयोग गरिएका अर्थात् सेकेन्ड-ह्यान्ड सामान र कपडाहरू पनि डेलिभरी गर्न थालेको छ। कम्पनीले जारी गरेको एक विज्ञप्तिअनुसार वोल्टले पुराना सामान बेच्ने अनलाइन मार्केट ‘बट’  सँगको सहकार्यमा यो सेवा दिन थालेको हो।

    यस सेवाअन्तर्गत खरिदकर्तालाई एक घण्टाभन्दा कम समयमै सामान पुऱ्याउने वाचा गरिएको छ। डेलिभरी गर्ने व्यक्तिले बिक्रेताबाट सामान उठाएर सिधै खरिदकर्तासम्म पुऱ्याउनेछ। बिक्रेताको ठेगाना खरिदकर्ताबाट बढीमा ७.५ किलोमिटरको दूरीमा रहेको अबस्थामा मात्र यो डेलिभरी विकल्प उपलब्ध हुनेछ। एपले खरिदकर्तालाई डेलिभरी दूरीभित्र रहेका सामानहरू स्वचालित रूपमा देखाउनेछ।

    आजको मुद्रा विनिमय दर र मौसम 

    आज बिहानको मुद्रा बिनिमय दर अनुसार १ युरो बराबर १५९ रुपैया ६३ पैसा रहेको छ। मौसम पूर्वानुमान अनुसार आज फिनल्यान्डको दक्षिणी र मध्य भागतिर विहान घाम लाग्ने र दिउसो बादल लाग्ने छ। उत्तरी ल्यापल्याण्डमा भने बादल अलि बढी लाग्ने र अरू ठाउँको तुलनामा चिसो पनि बढी हुने फिनल्यान्डको मौसम विज्ञान विभागले जनाएको छ। तापक्रम १० देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ। दक्षिण फिनल्यान्डमा आज सुर्योदय बिहानको ३ बजेर ५४ मिनेटमा भएको थियो भने सूर्यास्त राति १० बजेर ५१ मिनेटमा हुनेछ। 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप