.संक्षेपमा.
- नयाँ भेरियन्ट NB.1.8.1 (निम्बस) विश्वव्यापी रूपमा फैलदै, फिनल्याण्डमा ५ जनामा संक्रमण पुष्टि।
- यो भेरियन्ट पहिलेका भेरियन्टभन्दा केही बढी संक्रामक हुन सक्ने।
- लक्षणहरू घाँटी दुख्नु, ज्वरो आउनु, खोकी लाग्नु र थकान महसुस हुनु, पेटसम्बन्धी समस्या र पखाला।
कोरोनाभाइरसको एक नयाँ र तीव्र गतिमा फैलिरहेको भेरियन्ट NB.1.8.1 (अर्थात् ‘निम्बस’) विश्वका विभिन्न देशहरूमा फैलिइसकेको विश्व स्वास्थ्य सङ्गठन (WHO) ले जनाएको छ। यसको सङ्क्रमण फिनल्याण्डमा पनि पुष्टि भएको छ। फिनल्याण्डको स्वास्थ्य तथा कल्याण संस्थान (THL) ले फिनल्याण्डमा नयाँ भेरियन्टबाट पाँच जना सङ्क्रमित भएको पुष्टि गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई निगरानीमा राख्नुपर्ने भेरियन्टको सूचीमा समावेश गरेको छ र यो पहिलेका भेरियन्टभन्दा केही बढी सङ्क्रामक हुन सक्ने बताएको छ।
निम्बस भेरियन्ट पहिलो पटक यही वर्षको जनवरीमा एसियामा देखा परेको थियो। यो विशेष गरी चीनमा अप्रिलको अन्त्यदेखि तीव्र रूपमा फैलिएको छ। चीनमा यो भाइरसका कारण बिरामी हुने र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ।
थाइल्यान्डमा पनि केही दिनमै कोरोना सङ्क्रमणको सङ्ख्या ६,००० बाट बढेर ३३,००० पुगेको छ। नयाँ भेरियन्ट दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र स्विडेन लगायत २० भन्दा बढी देशहरूमा फैलिसकेको छ।
फिनल्याण्डमा भने हाल कोरोनाको स्थिति सामान्य रहेको र समग्रमा सङ्क्रमण दर निकै कम रहेको बताइएको छ।
“हामीले केही समय पर्खनु र हेर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले यो भेरियन्टले हालका अन्य भेरियन्टभन्दा केही हदसम्म मानिसको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने अनुमान गरेको छ, तर यो त्यति धेरै चिन्ताजनक भने छैन।” स्वास्थ्य तथा कल्याण संस्थान (THL) की विशेष अनुसन्धानकर्ता एरिका लिन्डले फिनिस प्रसारण संस्था YLE लाई प्रतिक्रिया दिँदै भनेकी छिन्।
लिन्डका अनुसार हाल उपलब्ध खोपहरूले नयाँ भेरियन्टबाट हुने गम्भीर रोगविरुद्ध पनि सुरक्षा प्रदान गर्दछन्। विश्वव्यापी रिपोर्टहरू अनुसार निम्बस भेरियन्टले पहिलेका भेरियन्टहरू भन्दा गम्भीर प्रकृतिको रोग निम्त्याएको देखिँदैन।

फिनल्याण्डमा भने हाल कोरोनाको स्थिति सामान्य रहेको र समग्रमा संक्रमण दर निकै कम रहेको बताइएको छ।
यसका लक्षणहरू पनि अन्य कोरोनाभाइरस भेरियन्टहरू जस्तै घाँटी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस हुने जस्ता सामान्य नै छन्। यद्यपि, निम्बस भेरियन्टले अन्य भेरियन्टको तुलनामा पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्याहरू बढी गराउन सक्ने देखिएको छ।
“यात्रा गर्दा कोरोनाभाइरसबाट मात्र नभई अन्य सबै सरुवा रोगहरूबाट बच्न पनि हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ।” गर्मी यामको छुट्टीको समयमा यात्रा गर्दा भिडभाडमा कोरोनाभाइरसको जोखिम अझै पनि रहेको स्मरण गराउँदै लिन्डले भनेकी छिन्।





