.संक्षेपमा.
- कुल कैदी संख्याको २० प्रतिशत विदेशी नागरिक।
- औसत कैद अवधि ११.४ महिना।
- पहिलो पटक जेल जाने व्यक्तिहरूको संख्या पनि बढ्यो।
फिनल्यान्डको कारागार प्रशासनको पछिल्लो तथ्यांक अनुसार सन् २०२४ मा कैदीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी विदेशी नागरिकहरूको संख्या २० प्रतिशतभन्दा बढीले बढेको छ। अर्थात् फिनल्यान्डका जेलमा रहेका हरेक ५ कैदीमध्ये १ जना विदेशी छन्।
अपराध सजाय कार्यान्वयन विभागको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष दैनिक औसत कैदी संख्या ३,३५६ रहेको छ, जुन अघिल्लो वर्षको अर्थात् सन् २०२३ को तुलनामा २०० भन्दा बढी हो। यो वृद्धिको प्रमुख कारणमा कानूनी परिवर्तन, लामो कैद अवधि, विदेशी नागरिकद्वारा गरिएका अपराध र पूर्पक्ष थुनुवाको संख्यामा वृद्धि रहेको जनाइएको छ।
सबैभन्दा ठूलो कैदी समूह हिंसात्मक अपराधका दोषी (३३%) रहेका छन्, जसमध्ये २०% ज्यान सम्बन्धी र १३% कुटपिट सम्बन्धी अपराधका लागि दोषी ठहर भएका छन्। लागूऔषध सम्बन्धी अपराधमा २३% र यौन अपराधमा ९% कैदीहरू रहेका छन्।
पहिलो पटक कारागार जाने व्यक्तिहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। विगत दश वर्षमा यस्ता कैदीहरूको संख्या ३७ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ। यसले लगभग आधा कैदीहरू पहिलो पटक कारागार परेका छन् भन्ने देखाउँछ।
कारागार प्रशासनले सकारात्मक प्रगतिको रूपमा कैदी भाग्ने दरमा भने कमी आएको जनाएको छ। सन् २०२४ मा पाँच भन्दा कम कैदि भागेका घटना भएका थिए। ती पनि मुख्यतया कारागार बाहिरको कार्यस्थल वा अन्य सरकारी निकायको जिम्मामा रहँदा भएका थिए।
कम्युनिटी सर्भिस अथवा समुदायमा आधारित सजाय भोग्नेहरूको संख्या दैनिक औसत ३,९४१ रहेको छ, जसमध्ये १,७२१ जना सामुदायिक सेवामा छन्। यस्ता सेवा पूरा गर्नेहरूको संख्या सन् २०२३ को तुलनामा ८ प्रतिशतले बढेर १,३९२ पुगेको छ।
सामुदायिक सेवा गर्नेहरूमध्ये सबैभन्दा बढी (४१%) नशामा मातेर सवारी साधन चलाउनेहरू छन्। सम्पत्ति सम्बन्धी अपराध (१९%) र ज्यान तथा शारीरिक आक्रमण सम्बन्धी अपराध (१४%) गर्नेहरू पनि सामुदायिक सेवामा रहेका छन्।

कैदी भाग्ने दरमा भने कमी आएको छ।
सन् २०१५ को तुलनामा हाल कैदीहरूको औसत कारावास अवधि करिब एक महिनाले बढेको छ। यद्यपि, अझै पनि आधाभन्दा बढी कैदीहरू छ महिनाभन्दा कम समयमै रिहा हुने गरेका छन्।





