यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- बिरामीको मुटुको धड्कन र श्वासप्रश्वास नाप्ने उपकरण बिना नै बेहोस बनाइएको भेटियो।
- चिकित्सकले अत्यधिक औषधि दिएको र निजी क्लिनिकले सुरक्षामा ध्यान नदिएको निश्कर्ष।
- शल्यक्रिया कक्ष बाहिर दिइने एनेस्थेसियाका लागि कडा राष्ट्रिय नियम बनाउन सिफारिस।
कुओपियोस्थित पिहलायालिन्ना (Pihlajalinna) मेडिकल सेन्टरमा एमआरआई स्क्यानका लागि बेहोस बनाइएका एक मध्यम उमेरका पुरुषको मृत्यु भएको घटना बारेको छानविन प्रतिवेदन सार्वजनिक भएको छ।
फिनल्यान्डको दुर्घटना अनुसन्धान केन्द्र (Otkes) को प्रतिवेदनले चिकित्सक र क्लिनिकको गम्भीर लापरवाहीका कारण उक्त घटना भएको निष्कर्ष निकालेको छ।
एनेस्थेसिया विशेषज्ञले गतवर्ष २ जनवरीमा बिरामीलाई स्क्यानका लागि बेहोस बनाएका थिए। तर बिरामी होसमा आएनन् र पछि अस्पतालमा उनको मृत्यु भयो।
अनुसन्धानका अनुसार चिकित्सकले बिरामीलाई मापदण्ड भन्दा धेरै एनेस्थेसिया दिएका थिए। साथै अक्सिजनको प्रवाह पनि कम राखिएकाले बिरामीले पर्याप्त अक्सिजन पाउन सकेनन्।
एमआरआई कक्षमा बिरामीको श्वासप्रश्वास वा मुटुको धड्कन नाप्ने कुनै पनि मनिटर जडान गरिएको थिएन। चिकित्सकले केवल आँखाले हेरेर मात्र बिरामीको अवस्था जाँच गरिरहेका थिए।
यसले गर्दा बिरामीको श्वासप्रश्वास रोकियो र उनी अचेत भए। मनिटर नभएका कारण बिरामीको अवस्था बिग्रिएको कुरा समयमै थाहा हुन सकेन।
अझ गम्भीर कुरा त के छ भने आपतकालीन अवस्थामा प्रयोग हुने सीपीआर (CPR) उपकरणहरू समेत सो कोठामा उपलब्ध थिएनन्।
अन्य कोठाबाट उपकरण ल्याउनुपर्दा र बिरामीलाई सार्नुपर्दा जीवन बचाउने उपचार सुरु गर्न ढिलाइ भयो।
थिएन आफ्नै पुर्वाधार
पिहलायालिन्ना मेडिकल सेन्टरसँग सुरक्षित रूपमा एनेस्थेसिया दिने पूर्वाधार नै थिएन। तैपनि बाहिरको कम्पनीसँग सम्झौता गरेर यो सेवा दिइएको थियो। अर्थात् ती डाक्टर पिहलायालिन्नाका कर्मचारी थिएनन्।
मेडिकल सेन्टरका कर्मचारीहरू डाक्टरले दिएको औषधीको मात्राका बारे आश्चर्यमा परेका थिए, तर उनीहरूले उनीहरूले चिकित्सकको निर्णयलाई चुनौती दिएनन्।
माथिल्लो तहको कर्मचारी वा चिकित्सकलाई प्रश्न गर्ने आँट नगर्दा यस्तो घटना भएको Otkes की निर्देशक हान्ना तीरिन्कीले गत बुधबारको पत्रकार सम्मेलनमा स्थानीय मिडियालाई बताइन्।
कुओपियो विश्वविद्यालय अस्पताल (KYS) ले शंका लागेपछि यो घटनाबारे उजुरी दिएको थियो।
पिहलायालिन्नाले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै सम्बन्धित चिकित्सकसँगको सहकार्य अन्त्य गरेको र यो सेवा बन्द गरेको जनाएको छ।
Otkes ले अब शल्यक्रिया कोठाबाहिर दिइने एनेस्थेसियाका लागि स्पष्ट र कडा राष्ट्रिय मापदण्ड बनाउन सरकारलाई सिफारिस गरेको छ।
हाल निजी क्लिनिकहरूमा यस्ता कति प्रक्रिया गरिन्छन् भन्ने यकिन तथ्यांक सरकारी निकायहरूसँग छैन।
Otkes फिनल्यान्डको “दुर्घटना अनुसन्धान केन्द्र” हो। यसले ठूला दुर्घटनाहरू (जस्तै हवाई, रेल वा यस प्रकारका गम्भीर चिकित्सा त्रुटिहरू) को निष्पक्ष छानबिन गर्छ। यसको उद्देश्य कसैलाई सजाय दिनु नभई भविष्यमा यस्ता घटना दोहोरिन नदिनु हो।
फिनल्यान्डमा सार्वजनिक अस्पतालमा एमआरआईको पालो कुर्न लामो समय लाग्ने हुनाले धेरैले निजी क्लिनिक रोज्ने गर्छन्।
यो घटनाले निजी क्षेत्रमा हुने उपचारमा पनि बिरामीले सुरक्षा मापदण्डबारे सचेत हुनुपर्ने देखाएको छ।





