.संक्षेपमा.
- आप्रवासनबारे फिनल्यान्डको बहस ‘विषाक्त’ र ‘पृथक’ रहेको स्टबको धारणा ।
- आप्रवासन बिना फिनल्यान्डको कल्याणकारी राज्य नटिक्ने दाबी।
- विविधता स्वीकार्न र सम्बन्ध विस्तारमा राष्ट्रपतिको जोड।
फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबले फिनल्यान्डको आप्रवासन बहस ‘धेरै विषाक्त’ र ‘पृथक गर्ने खालको’ बनेको टिप्पणी गरेका छन्।
कुओपिओ सहरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आप्रवासन फिनल्यान्डको आर्थिक वास्तविकता र भविष्यको कल्याणकारी राज्यका लागि आवश्यक रहेको कुरा उल्लेख गरे। उनले आफ्नो घरमा पनि एक आप्रवासी (श्रीमती) रहेको बताए।
राष्ट्रपति स्टब बुधबार पूर्वी फिनल्यान्ड विश्वविद्यालयमा विश्व राजनीति र त्यसमा फिनल्यान्डको स्थानबारे बोल्दै थिए। उनले विश्व राजनीति ठूलो परिवर्तनको चरणमा रहेको र नयाँ विश्व व्यवस्था बन्न लागेको पनि बताए।
स्टबका अनुसार फिनल्यान्डजस्ता देशको सीमित शक्ति हुन्छ, त्यसैले प्रभाव बढाउन सहकार्य र विश्वसनीयतामा भर पर्नुपर्छ।
उनले विश्व पश्चिमा, पूर्वी र दक्षिणी गरी तीन ब्लकमा बाँडिएको र ‘ग्लोबल साउथ’ले अर्को विश्व व्यवस्था निर्धारण गर्ने विचार राखे।
आफ्नो मन्तव्यपछिको प्रश्नोत्तरमा स्टबले फिनल्यान्डको आप्रवासन बहसमाथि टिप्पणी गरे। उनले फिनल्यान्डको पछिल्लो आप्रवासन बहस ‘अरु’ लाई अस्वीकार गर्ने खालको भएको जनाए।
उनले फिनल्यान्डको जनसंख्या बूढो भइरहेको र आर्थिक वास्तविकताले श्रममा आधारित आप्रवासनलाई अनिवार्य बनाएको औंल्याए।

उनले फिनल्यान्डको जनसंख्या बूढो भइरहेको र आर्थिक वास्तविकताले श्रममा आधारित आप्रवासनलाई अनिवार्य बनाएको औंल्याए।
“यो जनसंख्या संरचनामा आप्रवासन बिना फिनल्यान्ड पहिलाको जस्तो समृद्ध वा कल्याणकारी राज्य बन्न सक्दैन,” उनले स्पष्ट पारे।
स्टबले आप्रवासनको अवधारणालाई फराकिलो बनाउन पनि आग्रह गरे। उनका अनुसार आप्रवासनलाई ‘दक्षिणबाट आउने र फरक देखिने शरणार्थी’का रुपमा मात्र बुझ्नु गलत हो।
“आप्रवासन धेरै प्रकारको हुन्छ: यो अध्ययन, काम वा प्रेममा आधारित हुन सक्छ,” उनले भने।
आफ्नी श्रीमती सुजेन इनेस-स्टबलाई संकेत गर्दै स्टबले भने, “मेरो घरमा पनि एक आप्रवासी छिन्।” उनले थपे, “हामीले विविधतालाई स्वीकार्न सिक्नुपर्छ।”





