.संक्षेपमा.
- फिनल्यान्ड भरिबाट सन् २०१५ मा जन्मेका सयौँ बालबालिकालाई निमन्त्रणा।
- प्रधानमन्त्रीसँग हात मिलाउन बालबालिकाले गरेका थिए पूर्वाभ्यास।
- साङ्गीतिक समूह KAJ को ‘सरप्राइज’ प्रस्तुति।
फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पोले बालबालिकाका लागि स्वतन्त्रता दिवसको विशेष कार्यक्रम आयोजना गरेका छन्। हेलसिन्कीस्थित राष्ट्रिय ओपेरामा बिहीबार आयोजित यो भव्य कार्यक्रममा सयौं बालबालिका सहभागी भए।
यो वर्षको उत्सवको मुख्य नारा “एकसाथ अझ साहसी” (yhdessä rohkeammin) भन्ने थियो। कार्यक्रममा फिनल्यान्डका ३०८ वटा नगरपालिकाबाट सन् २०१५ मा जन्मेका कम्तीमा दुई–दुई जना बालबालिकालाई बोलाइएको थियो।
करिब ५०० बालबालिका सहभागी उक्त समारोहको सुरुवात परम्परा अनुसार प्रधानमन्त्रीसँग हात मिलाएर भएको थियो।
सार्वजनिक प्रसारण संस्था YLE सँग कुरा गरेका धेरै बालबालिकाले प्रधानमन्त्रीसँग हात मिलाउन र कार्यक्रममा उपस्थितीका लागि आफूले पहिले नै अभ्यास गरेको बताएका थिए।
रातो कार्पेटमा उभिएका साना पाहुनाहरू आफ्नो पालो पर्खिँदा निकै गम्भीर र अनुशासित देखिएका थिए।
रातो कार्पेटमा उभिएका साना पाहुनाहरू आफ्नो पालो पर्खिँदा निकै गम्भीर र अनुशासित देखिएका थिए। उनीहरूले प्रधानमन्त्री लाई पालैपालो अभिवादन गरे र छोटो कुराकानी समेत गरेका थिए।
बालबालिकाको यो उत्सवमा हरेक वर्ष कुनै न कुनै ‘सरप्राइज’ कलाकार उपस्थित हुने चलन छ। यसपटक सांगीतिक समूह KAJ ले आफ्नो प्रस्तुति दिएर सबैलाई चकित पारेका थिए।
विशेषगरी युरोभिजनमा चर्चित Bara, bada, bastu बोलको गीत बज्दा हलको माहोल निकै रमाइलो बनेको थियो। साना पाहुनाहरू गीतको तालमा नाच्दै रमाएका थिए।
Kärsämäki बाट आएकी एक बालीकाले YLE लाई दिएको प्रतिक्रियामा कलाकारको प्रस्तुति आफूलाई असाध्यै मन परेको बताइन्। उनले आफ्नी हजुरआमाले हात मिलाउँदा बलियोसँग समात्नुपर्छ भनेर सिकाएको रमाइलो अनुभव पनि सुनाइन्।
फिनल्यान्डको स्वतन्त्रता दिवस हरेक वर्ष ६ डिसेम्बरमा मनाउने चलन छ। फिनल्यान्डले १०८ वर्ष अगाडि ६ डिसेम्बर १९१७ मा रुसबाट स्वतन्त्रता पाएको हो।







