फिनल्याण्डको टाम्पेरेमा बसोबास गर्दै आएकी अफगानिस्तानी मूलकी ३७ वर्षीया होमाइरा कादरीलाई यस वर्षको ‘उत्कृष्ट शरणार्थी’ (Vuoden pakolainen) घोषित गरिएको छ। फिनिस रिफ्युजी एड (Suomen Pakolaisapu) ले बिहीबार एक कार्यक्रममार्फत यो सम्मानको घोषणा गरेको हो।
अफगानिस्तानबाट आएकी कादरी पेशाले प्रारम्भिक बाल्यकाल अर्थात् डे-केयर शिक्षिका हुन्। उनको परिवारमा श्रीमान, तीन सन्तान, आमाबुवा, एक बहिनी र चार भाइहरू छन्। कादरी सन् २००३ मा पारिवारिक पुनर्मिलनको माध्यमबाट फिनल्याण्ड आएकी थिइन् र त्यसयता उनी फिनिस समाजमा सक्रिय रूपमा संलग्न छिन्।
यो सम्मानको मुख्य उद्देश्य शरणार्थीहरूलाई नयाँ मातृभूमिमा उनीहरूको लक्ष्य र सपनाहरू प्राप्त गर्नका लागि सहयोग पुर्याउनु रहेको फिनिस रिफ्युजी एडले जनाएको छ।
यो सम्मानले आप्रवासन सम्बन्धी राष्ट्रिय बहसमा शरणार्थीहरूको आवाजलाई स्थान दिन र उनीहरूका अनुभवहरूलाई सेयर गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने उक्त एजेन्सीको दाबी छ।
फिनल्याण्डमा ‘वर्ष शरणार्थी’ चयन गर्ने परम्परा सन् १९९८ देखि चल्दै आएको छ। यो सम्मानले हरेक वर्ष एकजना शरणार्थी व्यक्तिलाई उनीहरूको सकारात्मक योगदान र समुदायमा प्रेरणादायी भूमिकाको लागि कदर गर्दै आएको छ।





