.संक्षेपमा.
- रुपाकोट समाज फिनल्यान्डले आयोजना गरेको तीजको दर खुवाउने कार्यक्रम भव्य रूपमा सम्पन्न।
- परम्परागत तीज गीत र मादलको धुनमा गुन्जियो हेलसिन्कीको मुस्तापुरो पार्क।
- करिब एक दर्जन नेपाली रेस्टुरेन्टले गरे दरको प्रायोजन।
रुपाकोट समाज फिनल्यान्डले आउँदै गरेको तीजको अवसरमा हिजो अगस्ट २ शनिबारका दिन आयोजना गरेको दर खुवाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। समाजले हेलसिन्कीमा आयोजना गरेको उक्त कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रम हेलसिन्कीको मुस्तापुरो पार्कमा आयोजना गरिएको थियो।
गुल्मीको रुपाकोटबाट फिनल्यान्डमा आई बसोबास गर्ने नेपालीहरूको संस्था रुपाकोट समाज फिनल्यान्डका अध्यक्ष भक्तिराम भण्डारीको नेतृत्वमा यो कार्यक्रम आयोजना गरिएको हो। समाजले आयोजना गरेको यो कार्यक्रम सफल र अविस्मरणीय रहेको सहभागीहरूले बताएका छन्।
आयोजकका अनुसार आउँदा वर्षहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइनेछ। फिनल्यान्डमा फिनिस-नेपाली समाजले पनि हरेक वर्ष तीज कार्यक्रम आयोजना गर्दै आएको छ।
कार्यक्रममा हेलसिन्की नगर सदस्य श्री कृष्ण रेग्मी र भान्ता नगर सदस्य श्री शेखर आचार्य लगायत फिनल्यान्डमा रहेका नेपाली समुदायका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई थप हौसला प्रदान गरेको थियो।
कार्यक्रमको अर्को आकर्षण भनेको स्थानीय नेपाली रेस्टुरेन्ट व्यवसायीहरूको उदार सहयोग थियो। विशेषगरी रुपाकोटवासीहरूले सञ्चालन गरेका माउन्ट कैलास, फूलबारी, कोशी, चुलो, रोयल पोखरा, क्लोभ, सुनकोशि, डाफे, रेसुंगा, सरगम र लुक्ला गरी ११ रेस्टुरेन्टले दरका लागि स्वादिष्ट परिकारहरू उपलब्ध गराएका थिए।

कार्यक्रममा परम्परागत तीज गीतहरूमा महिला, युवा, तथा नेपालबाट भ्रमणमा आएका ज्येष्ठ नागरिकहरू समेत रमाएर नाचेका थिए।
कार्यक्रममा परम्परागत तीज गीतहरूमा महिला, युवा, तथा नेपालबाट भ्रमणमा आएका ज्येष्ठ नागरिकहरू समेत रमाएर नाचेका थिए। पुराना र नयाँ तीज गीतहरूको साथमा मादलको तालले वातावरणलाई थप सांगीतिक र रमाइलो बनाएको थियो।








