फिनल्याण्डको Uusimaa क्षेत्रमा बढ्दो संख्यामा घरका लागि ऋण लिने ग्राहकहरूले सम्भावित बेरोजगारीको लागि तयारी गरिरहेको बैङ्क तथा वित्तीय सेवा प्रदायक ओसुस पाङ्की (OP) ले जनाएको छ।
OP Uusimaa को तथ्याङ्क अनुसार मार्च २०२५ मा घर किन्न लिइएका ऋणमध्ये २० प्रतिशत ऋण सुरक्षा बीमाले सुरक्षित गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १४ प्रतिशत थियो। आर्थिक अनिश्चितता र भविष्यको बारेमा चिन्ताको कारण ऋण सुरक्षा बीमाको माग बढेको OP ले जनाएको छ।
ऋण सुरक्षा बीमाले बेरोजगारी वा अस्थायी अशक्तताको अवस्थामा ऋण चुक्ता गर्न मद्दत गर्छ। यो बीमाको माग २०२४ को अन्त्यमा र विशेष गरी २०२५ को सुरुमा तीव्र भएको छ।
फिनिस तथ्याङ्क विभागका अनुसार मार्च २०२५ मा उपभोक्ता विश्वास (consumer confidence) अझै पनि कम अर्थात् -८.२ प्रतिशत थियो। जनवरी–मार्च २०२५ को अवधिमा बेरोजगारी दर १०.४ प्रतिशत थियो।
OP Uusimaa की वरिष्ठ उपाध्यक्ष रिक्का कांगासका अनुसार आर्थिक अवस्था र भविष्यका सम्भावनाहरूबारेको अनिश्चितताले मान्छेमा चिन्ता बढाउँछ र उनीहरू सम्भावित परिवर्तनहरूको लागि तयारी गर्न चाहन्छन्। ऋण सुरक्षा बीमामा देखिएको बढ्दो माग त्यसैको संकेत हो।
बेरोजगारीका कारण बीमा भुक्तानी खोज्नेहरू पनि उल्लेख्य रूपमा बढेको OP को तथ्याङ्कले देखाएको छ। उदाहरणका लागि सन् २०२४ मा OP Uusimaa द्वारा जारी गरिएको बेरोजगारीमा आधारित ऋण सुरक्षा भुक्तानी कुल पाँच लाख युरो भन्दा बढी थियो। यो अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले बढी हो।
२०२४ मा दाबी आवेदनहरूको संख्या पनि २०२३ को तुलनामा ३१ प्रतिशतले बढेको देखियो।
साथसाथै २०२५ को सुरुदेखि नै ऋण सुरक्षा बीमा मार्फत बेरोजगारीमा आधारित भुक्तानी गरिएका दाबीहरूमा वृद्धि देखिएको छ। जनवरी–मार्च २०२५ मा भुक्तानी गरिएका दाबीहरू २०२४ को सोही अवधिको तुलनामा १६ प्रतिशतले बढेको छ।

बेरोजगारीका कारण बीमा भुक्तानी खोज्नेहरू पनि उल्लेख्य रूपमा बढेको OP को तथ्याङ्कले देखाएको छ।
युरोपमा ऋण सुरक्षा बीमा नीतिहरूको अग्रणी प्रदायकमध्ये एक AXA Partners का खाता प्रबन्धक रिस्तो साल्लीनेनका अनुसार बेरोजगारी बीमा नीतिले मानिसहरूलाई वित्तीय चिन्ता बिना नयाँ जागिर खोज्नमा ध्यान केन्द्रित गर्न सम्भव बनाउँछ।
उनका अनुसार ऋण सुरक्षा बीमाले कठिन समयमा वित्तीय सुरक्षा प्रदान गर्ने मात्र हैन बेरोजगारीले गर्दा हुने तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ।
“बीमाले मानिसहरूलाई ऋण चुक्ता गर्ने चर्को दबाब बिना आफ्नो भविष्यको योजना बनाउन ध्यान केन्द्रित गर्न सहयोग गर्छ।” साल्लीनेन बताउछन्।





