संक्षेपमा
- हेलसिन्की र तालिनबीचको सञ्चार केबलमा गम्भीर क्षति पुग्यो।
- फिटबर्ग नामक जहाज र चालक दलका सदस्यहरू प्रहरी नियन्त्रणमा।
- इन्टरनेट सेवामा भने हालसम्म कुनै ठूलो अवरोध नदेखिएको दाबी।
फिनल्यान्ड र एस्टोनियाको बिचमा रहेको महत्त्वपूर्ण समुद्री टेलिकम केबल काटेर गम्भीर क्षति पुर्याएको भन्दै फिनल्यान्डका अधिकारीहरूले एउटा शङ्कास्पद पानीजहाजलाई नियन्त्रणमा लिएका छन्।
बुधवार बिहान भएको यस घटनापछि प्रहरीले ‘फिटबर्ग’ नामक उक्त पानीजहाज र त्यसमा रहेका १४ जना चालक दलका सदस्यहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
हेलसिन्की सानोमात पत्रिकाका अनुसार दुई जना चालक दलका सदस्यलाई भने प्रहरीले पक्राउ नै गरेर अनुसन्धान गरिरहेको छ।
हेलसिन्की र तालिन जोड्ने Elisa टेलिफोन/सञ्चार कम्पनीको केबल बुधवार बिहान करिब ५ बजे काटिएको थियो। फिनल्यान्डको सीमा सुरक्षा बलले सो जहाजको एङ्कर अर्थात् हुक समुद्री सतहमा घिस्रिरहेको अवस्थामा फेला पारेको थियो।
जहाज क्यारिबियन देश सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्सको झण्डा बोकेर रुसबाट इजरायल तर्फ हिँडिरहेको थियो।
हाल उक्त पानी जहाजलाई सुरक्षाकर्मीको निगरानीमा फिनल्यान्डको उपिननीयमी सैन्य बन्दरगाहमा पुर्याइएको छ।
फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र प्रधानमन्त्री पेत्तेरी ओर्पोले घटनालाई गम्भीरताका साथ लिएको सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनीहरूले एस्टोनिएन अधिकारीहरूसँग पनि निरन्तर समन्वय गरिरहेको बताएका छन्।
प्रहरीले यसलाई जानाजानी गरिएको क्षति वा सञ्चार अवरोधको प्रयासको रूपमा अनुसन्धान सुरु गरेका छन्।
प्रहरीले यसलाई जानाजानी गरिएको क्षति वा सञ्चार अवरोधको प्रयासको रूपमा अनुसन्धान सुरु गरेको छ।
एलिसा कम्पनीले इन्टरनेट सेवाहरू अन्य वैकल्पिक रुटबाट सञ्चालन भइरहेकाले सर्वसाधारण उपभोक्तालाई खासै असर नपर्ने जनाएको छ।
पछिल्लो समय एस्टोनिया र स्विडेन जोड्ने अन्य केबलहरूमा पनि यस्तै समस्या देखिएको थियो। तीमध्ये केही खराब मौसमका कारण भएको भए पनि यो पछिल्लो घटनालाई सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिएको छ।
विगतमा पनि फिनल्यान्ड र एस्टोनियाको समुन्द्रमा केबल काटिने घटनाहरू हुँदै आएका छन्। यस्ता घटनाहरू रुस प्रायोजित भएको फिनल्यान्ड र इयुले आरोप लगाउने गरेका छन्। यद्यपि रुसले नै गराएको भनेर प्रमाण जुटाउन भने कठिन हुने गरेको छ।





