संक्षेपमा
- इरानमा सुरक्षा बलद्वारा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार।
- देशभर इन्टरनेट ठप्प पारिएकाले वास्तविक क्षतिको विवरण पाउन कठिन।
- फिनल्यान्डका इरानीहरूद्वारा अन्तर्राष्ट्रिय हस्तक्षेप र ऐक्यबद्धताको माग।
इरानमा चर्किँदै गएको सरकार विरोधी प्रदर्शनलाई दबाउन सुरक्षा बलले कडा रूप लिएपछि मृतकको संख्या हजारौँ पुग्न सक्ने अनुमान गरिएको छ।
अधिकारीहरूले देशभर इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिदिएका कारण भित्र भइरहेको हिंसाको वास्तविक तस्विर बाहिर आउन कठिन भएको हो।
मानव अधिकारवादी संस्था ‘ह्राना’ (Hrana) का अनुसार कम्तीमा ५३८ जनाको मृत्यु भइसकेको छ। १०,६०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने अस्पतालहरू घाइतेले भरिएका छन्।
मध्यपूर्वका केही सञ्चारमाध्यमहरूले मृतकको संख्या २,००० पुगेको र यो अझै बढ्ने दाबी गरेका छन्।
फिनल्यान्डमा रहेका इरानीहरूको चिन्ता
हेलसिन्की र फिनल्यान्डका अन्य सहरमा बसोबास गर्ने इरानी समुदाय आफ्ना परिवारसँग सम्पर्क विच्छेद भएपछि अत्यन्तै चिन्तित छन्। उनीहरूले गत शुक्रबारदेखि आफ्नो परिवारसँग कुरा गर्न पाएका छैनन्।
उनीहरूका अनुसार सम्पर्क काटिनु भनेको सरकारले अझै क्रूर दमन गर्ने संकेत हो।
२४ वर्षअघि इरानबाट फिनल्यान्ड आएकी गोल्सान साबानीले उनका भान्जाभान्जीहरू प्रदर्शनमा सहभागी भएको फिनल्यान्डको सार्वजनिक प्रसारक YLE सँगको कुराकानीमा बताएकी छन्।
“हामी प्रदर्शनमा सहभागी छौँ, अब केही समय सम्पर्क हुँदैन, जीवित रहने आशा मात्र छ,” भन्ने सन्देश उनका भान्जाभान्जीहरूहरूले अन्तिम पटक पठाएका थिए।
इरानमा प्रदर्शनकारीहरूले महँगी र तानाशाही व्यवस्थाको अन्त्य माग गरिरहेका छन्।
फिनल्यान्डमा रहेका इरानीहरूबीच इरानको भविष्यलाई लिएर फरक मत देखिएको छ। कोही पूर्व शाहका छोरा रेजा पहलवीलाई नेतृत्व सुम्पिनुपर्ने पक्षमा छन् भने कोहीचाहिँ उदार लोकतन्त्र र वामपन्थी गठबन्धनको पक्षमा उभिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेपको सम्भावना समेत औँल्याएका छन्। यस विषयमा पनि फिनल्यान्डका इरानीहरू विभाजित छन्। कसैले सैन्य सहयोगले तानाशाही अन्त्य हुने विश्वास राख्छन् भने कसैले बाह्य हस्तक्षेपको विरोध गर्छन्।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि धर्मगुरुहरूको शासन छ। हालको प्रदर्शन आर्थिक संकट र नागरिक स्वतन्त्रताको मागलाई लिएर सुरु भएको हो।
इरान सरकारले यसअघि सन् २०२२ मा पनि ठुलो प्रदर्शन दबाउन इन्टरनेट बन्द गरेको थियो, तर यस पटकको प्रतिबन्ध अझै कडा र व्यापक रहेको बताइएको छ





