संक्षेपमा
- सरकारी कामकाजमा अंग्रेजी भाषाको बढ्दो प्रयोगविरुद्ध ‘युद्ध’ सुरु गर्ने फिन्स पार्टीका नेताको उद्घोष।
- अंग्रेजी विस्थापित गर्न ‘Suomeksi, kiitos!’ अभियान सुरु।
- विद्यार्थी भिसामा कडाइ गर्ने पुर्राको घोषणा, नयाँ नियम क्रिसमस अघि नै घोषणा गर्ने तयारी।
फिनल्यान्डको सत्तारुढ दल ‘फिन्स पार्टी’ अर्थात् पेरुस-सुओमालाइसेतले आप्रवासीले फिनिस भाषा सिक्नुपर्ने र फिनिसहरूले पनि आफ्नो भाषाको प्रयोग बढाउनुपर्ने कुरामा जोड दिँदै ‘सुओमेक्सी, कितोस’ (अर्थात् फिनिसमा सेवा दिनुहोस्, धन्यवाद!) नामक नयाँ अभियान सुरु गरेको छ।
हिजो पार्टी परिषद् बैठकको अवसर पारेर उक्त अभियानको घोषणा गरिएको हो।
खासगरी फिनल्यान्डका सहरी रेस्टुरेन्टहरू र अन्य क्षेत्रमा समेत फिनिस भाषामा सेवा पाउनुका सट्टा ग्राहकले नै अंग्रेजी बोल्नु परेको भन्दै उक्त पार्टीका नेता-कार्यकर्ताले विरोध जनाउने गरेका छन्।
पार्टीको परिषद् बैठकमा बोल्दै पार्टी अध्यक्ष तथा फिनल्यान्डकी अर्थमन्त्री रिक्का पुर्राले हेलसिन्कीका रेस्टुरेन्ट, क्याफे र विश्वविद्यालयहरूमा अंग्रेजीको सट्टा फिनिस भाषाको प्रयोग बढ्नुपर्ने बताइन्।
पुर्राले फिनल्यान्डलाई ‘आधा अंग्रेजी बोल्ने देश’ बन्न नदिने र जहाँ फिनिस बोल्नुपर्ने हो त्यहाँ अंग्रेजी स्वीकार्य नहुने स्पष्ट पारिन्। जताततै अंग्रेजी भाषा घुसाउनु अन्तर्राष्ट्रिय हुनु नभई आत्मसम्मानको कमी भएको उनको टिप्पणी छ।
सोही कार्यक्रममा बोलेका पार्टीका उपाध्यक्ष तेमु केस्किसार्याले अंग्रेजी भाषाको ‘अनिवार्य’ प्रयोगविरुद्ध ‘युद्ध’ सुरु गरेको घोषणा गरेका थिए।
उनले फिनल्यान्डमा अंग्रेजी भाषाको प्रयोगलाई ‘अनिवार्य’ जस्तै बनाइएको भन्दै त्यसलाई ‘दिमागको क्यान्सर’ को संज्ञा दिए।
केस्किसार्याका अनुसार फिनिसहरूले ठूलो पल्टिनका लागि एक अर्कासँग अंग्रेजी बोल्ने र लेख्ने गरेका छन्।
सरकारी कार्यालयहरूले समेत फिनिस वा स्वीडिस भाषीलाई अंग्रेजीमा सूचना दिने गरेको र फिनिस एकेडेमीले समेत अनुसन्धानकर्ताहरूसँग अंग्रेजीमा मात्र आवेदन माग्ने गरेको भन्दै उनले आक्रोश पोखे।
उनले मातृभाषाको रक्षाका लागि अंग्रेजी भाषाको अतिक्रमणविरुद्ध लड्नुपर्ने बताए। उनले अहिलेको पुस्तालाई ‘फिन्ग्लिस’ (फिनिस र अंग्रेजी मिश्रित भाषा) को पछि नलागी आफ्नो भाषामा गर्व गर्न आग्रह गरे।
केस्किसार्याका अनुसार फिनिसहरूले ठूलो पल्टिनका लागि एक अर्कासँग अंग्रेजी बोल्ने र लेख्ने गरेका छन्।
पुर्रा भन्छिन्-विद्यार्थी भिसामा कडाइ हुन्छ
पार्टी अध्यक्ष पुर्राले विद्यार्थी आप्रवासनको नियम धेरै खुकुलो भएको भन्दै यसमा छिट्टै कडाइ गरिने स्पष्ट पारिन्। उनले अघिल्लो सरकारले विद्यार्थीहरूलाई परिवारसहित फिनल्यान्ड आउन अति सहज बनाएको भन्दै त्यसको आलोचना गरिन्।
त्यही सहज नियमका कारण विद्यार्थी र तिनका परिवारहरू अहिले ‘खानाको लाइन’ (ब्रेड लाइन) मा बस्नुपर्ने अवस्था आएको पुर्राले दाबी गरिन्।
सरकारले क्रिसमस अघि नै विद्यार्थी आप्रवासन सम्बन्धी नयाँ र कडा नियमहरूको घोषणा गर्ने तयारी गरेको पनि उनले जानकारी दिइन्।
पुर्राले आगामी सरकारी कार्यकालमा कम्तीमा १० अर्ब युरो बचत गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याइन।
रक्षा र आप्रवासनबारे बोल्दै उनले युरोपले आफ्नो सुरक्षाको जिम्मेवारी आफैं लिनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश सही भएको बताइन। युरोपले रक्षा बजेट बढाउनुको साटो आप्रवासन र आप्रवासीको सामाजिक सुरक्षामा ठूलो खर्च गरेको उनको तर्क थियो।





