हरेक दिन घण्टौं रेस्टुरेन्टको तातो चुल्होमा पसिना बगाएर घर फर्किँदा उनी शान्ति र स्नेहको अपेक्षा गर्छन्। तर हेलसिन्कीको एउटा अपार्टमेन्टको ढोकाभित्र उनलाई पर्खिरहेको हुन्छ एउटा चिसो मौनता, तिरस्कार र मानसिक पीडाको अनन्त शृङ्खला।
केही वर्षअघि मात्रै दिल्ली र अन्य कैयौँ मुलुक हुँदै कठिन यात्रा गरेर फिनल्यान्ड आइपुगेका यी नेपाली कुकले एक दशकभन्दा लामो सङ्घर्षपछि श्रीमती र दुई छोराछोरीलाई यहाँ ल्याउन सफल भए। तर जुन खुसीको सपना उनले देखेका थिए, त्यो अहिले चकनाचुर भएको छ।
“नेपालमा हुँदा र अहिलेको परिवारमा आकाश-पातालको फरक छ,” उनी भारी मनले नेपालिलाइनेनसँग आफ्नो पीडा पोख्छन्। “१२-१५ वर्षपछि सँगै बस्न थालेका हौँ, तर अहिले न पारिवारिक माहौल छ, न आपसी विश्वास।”
हेलसिन्कीको एउटा रेस्टुरेन्टमा काम गर्ने नेपाली कुकले आफ्ना आफन्त मार्फत नेपालीलाइनेनलाई सम्पर्क गरेर आफूले घरमा खेप्दै आएको मानसिक हिंसाको पीडा सुनाएका हुन्। यो ‘स्टोरी’ गर्ने क्रममा नेपालीलाइनेनले उनीसँग दुई पटक लामो कुराकानी गरेको छ र उनको परिचय र काम गर्ने स्थानको पुष्टि गरेको छ।
श्रीमतीबाट भोगेको पीडा र त्यसले दिइरहेको मानसिक तनावका बारे उनले एक आफन्तलाई पठाएको ‘टेक्स्ट’ मेसेजहरू पनि नेपालीलाइनेनले हेरेको छ। उक्त आफन्तसँग पनि नेपालीलाइनेनले कुराकानी गरेको छ।
यद्यपि विषयको संवेदनशीलता र परिवारको गोपनीयतालाई ध्यानमा राख्दै उनकी श्रीमतीसँग सम्पर्क गरिएको छैन र यो सबै आरोपबारे उनको के प्रतिक्रिया छ भन्नेबारे नेपालीलाइनेन बेखबर छ।
परिवारको पहिचान खुल्न सक्ने धेरै विवरणहरू (जस्तै हेलसिन्कीमा उनीहरू बस्ने क्षेत्र, उनीहरूको नेपालको घर, उनले काम गर्ने रेस्टुरेन्टको नाम आदि) पनि गोप्य राखिएको छ।
निरन्तर मानसिक पीडा
नेपालको एक पहाडी जिल्लाबाट भारत पसेर कुकको काम गर्दा उनी सानै थिए। उनी भारतबाट सिधै फिनल्यान्ड आएका हैनन्। अरू २-३ देश हुँदै अन्त्यमा यहाँ आउन सफल भएका हुन्।
बिहे गरेर छाडेकी श्रीमती घरै बसिन्, बच्चा-बच्ची हुर्काइन्, तर श्रीमान-श्रीमतीबिच सम्मानको भाव र भावनात्मक सम्बन्धको विकास भने हुनै पाएन।
“सायद लामो समय सँगै नबसेरै होला,” उनी भन्छन्। “श्रीमतीबाट जुन माया र थोरै भए पनि सम्मान पाउँला भनेर सोचेको थिएँ। फिटिक्कै पाइन।”
बाह्र घण्टा काम गरेर घर जाँदा पनि उनले न्यानो स्वागत कहिल्यै पाउँदैनन्। उनी घर पुग्दा श्रीमती प्राय मोबाइलमा व्यस्त हुन्छिन्।
“उनी जहाँ गए पनि मोबाइल सँगै लैजान्छिन्। मैले उनको फोन छुन पनि पाउँदिन।” उनी भन्छन्। “तर मेरो फोन भने उनले जति बेला पनि हेर्न पाउनुपर्ने डिमान्ड गर्छिन्।”
“उनले एक सेकेन्ड पनि मोबाइल नछाडेपछि त अलिअलि मनमा शङ्का त जसको पनि उठ्छ, हैन र?” उनी प्रश्न गर्छन्।
“मबाट सबै कुरा लुकाउन खोज्छिन्। मैले केही सोधे रुखो स्वरले जवाफ दिन्छिन्। मुखै छाडेर जे पायो त्यहि बोल्छिन्।” उनले आफ्नो व्यथा सुनाए। “भनेको सुन्ने, मान्ने फिटिक्कै हैन। मलाई नै काँचै खान खोज्छिन्।”
घर खर्चको अधिकांश हिस्सा श्रीमानकै कमाइबाट चल्छ। घर भाडा महँगै छ, जुन उनी आफै तिर्छन्। तर श्रीमतीले फिनिस सामाजिक सुरक्षा संस्था (KELA) बाट पाउने भत्तालाई आफ्नो निजी सम्पत्तिझैँ व्यवहार गर्छिन्।
“नेपालमा हुँदा पनि मलाई थाहै नदिई ऋण लिएकी रहिछन्, साहुले पैसा माग्न थालेपछि पो मैले थाहा पाएँ,” उनले विगत सम्झिए।
“अहिले सरकारी पैसा खाएर भाषा सिक्दै गर्दा त मलाई यस्तो छ। पछि काम गरेर आफैँ कमाउने भइन् भने कसो गर्लिन् भन्ने लाग्छ।” उनी थप्छन्।
परिवारको यो स्थितिले उनको मनमा गहिरो चोट पुगेको छ। छोराछोरी पनि अधिकांश समय आमाकै पक्षमा उभिन्छन्।
“छोराछोरीले पनि आमाकै कुरा बढी सुन्छन्। उनीहरूले पूरै बाल्यकाल आमासँगै बिताए,” उनले निराशा व्यक्त गरे। “मसँग बस्न थालेको त भर्खरै जस्तो त हो। आमाको विपक्षमा जाने आँट गर्न सक्दैनन्।”
उनी हेलसिन्कीमा रहेका आफ्ना आफन्त र साथीभाइ भेट्न गएको पनि श्रीमतीलाई मन पर्दैन र त्यसो नगर्न दबाब दिन्छिन्। घरमा तनाव अनि सामाजिक एक्लोपनाले उनलाई झनै निसास्सिएको महसुस गराएको छ।
“मलाई लाग्छ फिनल्यान्डमा यस्तै घरेलु समस्याबाट पीडित धेरै नेपाली दाजुभाइ हुनुहुन्छ, दिदीबहिनीहरू पनि हुनुहोला।” उनी लामो सास फेर्दै भन्छन्। “मिडियामा आएर बोल्ने पहिलो व्यक्ति म हुँला, तर पीडा धेरैको छ।”
शरीरमा रोग, काममा खटन
उनलाई लामो समयदेखि एउटा रोगले पनि सताइरहेको छ, जसको लागि नियमित औषधि सेवन गर्नुपर्छ। तर औषधि सेवन गरेपछि आफ्नो दैनिकी सामान्य रूपमा चलाउन सकिने खाले रोग भएकाले त्यसले खासै असर नगरेको उनी बताउँछन्।
उनले गर्ने कुकको काम पनि सजिलो छैन। खटन धेरै नै छ। तैपनि उनको कामप्रति कुनै गुनासो भने छैन।
उनले गर्ने कुकको काम पनि सजिलो छैन। खटन धेरै नै छ। तैपनि उनको कामप्रति कुनै गुनासो भने छैन।
“कामको दुःख त सामान्य हो, मेहनत गर्ने भनेरै आएको हो। यही कामले त आज परिवारलाई यहाँ ल्याउन सकेँ, म कामका बारे केही गुनासो गर्दिनँ,” उनी भन्छन्। “तर घरभित्रको तनावले मलाई हरेक दिन कमजोर बनाइरहेको छ।”
“उस्तै मान्छे भए डिप्रेसनमा जान्थ्यो होला, बहुलाएर हिँड्थ्यो होला।” उनी भन्छन्। “म बल्लतल्ल खेपिरहेको छु।”
के भन्छ कानुन?
हेलसिन्कीमा पारिवारिक हिंसासम्बन्धी क्षेत्रमा विगतमा काम गरेकी एक सामाजिक कार्यकर्तालाई नेपालीलाइनेनले यस्तो प्रकारको ‘केस’मा कस्तो कानुनी व्यवस्था छ भनेर सोधेको छ।
उनले कसैको व्यक्तिगत विषयमा यो वा त्यो भनेर टिप्पणी नगर्ने बताइन्। नेपाली समुदाय सानो भएको र लगभग सबैले एक अर्कालाई चिन्ने हुँदा आफ्नो परिचय पनि नखोलिदिन उनले आग्रह गरिन्।
उनले नेपाली लगायतका आप्रवासी समुदायमा यस्ता घटनाबारे बोल्ने र प्रोफेसनल सहयोग खोज्ने प्रवृत्ति निकै कम रहेको अनुभव सुनाइन्।
परिवारको इज्जत जाने डर, लाज र सङ्कोच, र भाषा नजान्दा पनि धेरै पीडितले पिडा लुकाएर राख्ने गरेको उनले बताइन्।
उनका अनुसार फिनिस कानुनले घरेलु वा मानसिक हिंसामा महिला र पुरुषलाई समान दृष्टिकोणले हेर्छ। श्रीमान् वा श्रीमतीमध्ये एकले अर्कोको फोन जाँच्ने तर आफ्नो लुकाउने व्यवहारलाई स्वीकार्य मानिँदैन। तर यस्ता विषयहरू आपसी समझदारीमा टुङ्ग्याउँदा उत्तम हुने उनको राय छ।
फिनिस कानुन अनुसार परिवारभित्र दुवै पक्षले आफ्नो आम्दानी अनुसार घर खर्चमा योगदान गर्नुपर्छ। श्रीमानले कमाएर परिवारका लागि खर्च गर्ने तर श्रीमतीको कमाइ भने एकलौटी हुने भन्ने एकपक्षीय अवधारणा यहाँ नरहेको उनले बताइन्।
“यदि श्रीमतीको पनि आम्दानी छ भने उनले पनि पारिवारिक खर्चमा योगदान गर्नुपर्छ।” उनले भनिन्। यद्यपि यी कुराहरू पनि आपसी सहमतिमा तय गर्नु उत्तम हुने उनको विचार छ।
कुनै पनि मानिसलाई आफ्नो आफन्त वा साथीभाइ भेट्न जान नदिनु गम्भीर विषय भएको उनले बताइन्। व्यक्तिको स्वतन्त्रतामा कसैले त्यसरी लगाम लगाउन नपाइने उनी बताउँछिन्।
कसैलाई चिच्याउन, थर्काउन, गाली गर्न र कुनै किसिमको बाध्यात्मक अवस्थामा पनि पार्न नपाइने उनले स्पष्ट पारिन्।
तर वैवाहिक र पारिवारिक सम्बन्धमा सधैँ कालो र सेतो छुट्ट्याउन नसकिनै भन्दै उनले फिनल्यान्डमा श्रीमान-श्रीमतीका लागि ‘कपल थेरापी‘ को व्यवस्था रहेको हुँदा सो सुविधा प्रयोग गर्न सल्लाह दिन्छिन्।
मानसिक यातनाका अपराधमा महिला भए पनि कानुनले छुट नदिने उनले प्रस्ट पारिन्। मानसिक यातनाको आरोप प्रमाणित भएमा जरिवाना, पीडितलाई क्षतिपूर्ति र प्रतिबन्ध आदेश (lähestymiskielto), र गम्भीर अवस्थामा सामुदायिक सेवादेखि जेल सजायसम्म हुन सक्ने उनले बताइन्।
नोटः यो फिचरमा प्रस्तुत भएका व्यक्तिले आफ्नो पहिचान पूर्णरूपमा गोप्य राख्न चाहेकाले संबन्धित अर्को पक्षलाई प्रतिक्रियाको लागि सम्पर्क गरिएको छैन।
कहाँ खोज्ने सहयोग?
फिनल्याण्डमा घरेलु र मनोवैज्ञानिक हिंसाका पीडित पुरुषहरूका लागि सहायता खोज्ने प्रक्रिया स्पष्ट छ।
- आपतकालीन अवस्थामा: तुरुन्त आपतकालीन सेवा अर्थात् ११२ मा फोन गर्नुहोस्।
- गैर-आपतकालीन अवस्थामा: नजिकको प्रहरी कार्यालयमा उजुरी, वा अनलाइन उजुरी फारम।
- सहयोगी संस्थाहरू:
- MIELI (09 2525 0111): चौबीसै घण्टा निःशुल्क हेल्पलाइन
- Nollalinja (080 005 005): घरेलु हिंसा पीडितहरूका लागि चौबीसै घण्टा निःशुल्क हेल्पलाइन।
- Miehen Linja (09 276 62 8 99): घरेलु हिंसा पीडित पुरूषका लागि सल्लाह र सहयोग।
- RIKU (अपराध पीडित समर्थन फिनल्याण्ड – 116 006): अपराधका पीडितहरूलाई कानूनी सल्लाह र भावनात्मक समर्थन प्रदान गर्दछ।
- Miesten Kriisikeskus (पुरुष संकट केन्द्र): विशेष गरी पुरुषहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य र सङ्कटकालीन समर्थन सेवाहरू प्रदान गर्दछ।
यी संस्थाहरूले अंग्रेजी र अन्य भाषामा पनि सेवा उपलब्ध गराउँछन्। आवश्यकता अनुसार दोभाषे पनि प्रयोग गर्दछन्। जसले गर्दा भाषाको समस्या भएका आप्रवासीहरूलाई मद्दत लिन सहज हुन्छ।





