(जेन-जी समूहमा आबद्ध अभियन्ता सुदन/सुधन गुरूङ्ग यति बेला चर्चाको शिखरमा छन्। उनका बारेमा धेरै अफवाहहरू पनि फैलाइएका छन्। आजभन्दा ४ वर्ष अगाडी साउन २१, २०७८ का दिन नेपालखबरमा यज्ञराज जोशीले गुरूङ्गका बारे लेखेको फिचर स्टोरीको केही भाग हाम्रा पाठकका लागि समेत पठनीय हुने ठानी प्रकाशन गरेका छौँ। -नेपालीलाइनेन)
सुदन काठमाडौंमै सम्पन्न परिवारमा जन्मे। आमा–बुबाको सम्बन्ध–विच्छेद भए पनि हजुरआमा–हजुरबुबाले उनलाई कहिल्यै कुनै कुराको कमी हुन दिएनन्। बाजेबजैले धेरै पुलपुलाएकाले होला– पढाइमा भने उनको खासै ध्यान गएन।
यसो भएपछि परिवार, आफन्तले ‘यसले केही गरेर खाँदैन जिन्दगीमा’ भनेर कुरा काटिरहन्थे। यो आलोचना उनको मनमा बिझेको थियो।
‘मनमनै केही गरेर देखाउँछु भन्ने सोच्थेँ। त्यसैले एसएलसीपछि ए लेभल पढ्दापढ्दै घरबाट एक्लै बस्ने निर्णय लिएँ,’ सुदनले भने।
उनले घर छाड्ने निर्णय सुनाउँदा हजुरआमा–हजुरबुबाले रोक्ने प्रयास नगरेका होइनन्। तर उनको जिद्दीका अगाडि केही लागेन। त्यसैले हार मान्दै हजुरबुबाले ७ हजार रुपैयाँ थमाए। एउटा स्टोभ किनिदिए। खाना पकाउने सामाग्री, लत्ताकपडा दिँदै कोठामा बस्ने व्यवस्था मिलाइदिए।
त्यतिञ्जेल सुखसयलमा बसेका सुदनलाई एक्कासि कोठे जीवनमा पुग्दा निकै गाह्रो भयो। आफैं खाना बनाउनुपथ्र्यो, लुगा धुनुपथ्र्यो; जानी नजानी सबै काम आफैंले गर्नुपर्थ्याे।
‘धेरै नै गाह्रो भयो। एक्कासि बेग्लै संसारमा पुगेको जस्तो लग्यो,’ उनी सम्झन्छन्, ‘मैले पढाइलाई पनि निरन्तरता दिइनँ।’
कोठामा बसेपछि जीवन चलाउन पैसा चाहिन्थ्यो। उनले कल सेन्टरमा काम सुरु गरे। त्यहाँ पनि अरूको ‘अन्डर’मा बसेर काम गर्नुपर्दा उनको मन कत्ति पनि मानेन।
कलेजका साथी पनि सम्पन्न परिवारकै थिए। उनीहरूसँग क्लब, डिस्को जान्थे। सुदनलाई पनि सँगै लैजान्थे। हुँदाहुँदा सुदनलाई क्लबको लत लाग्यो। एक्लै बस्दा भएको तनाव उनी क्लबमा मज्जाले नाचेर भुलाउँथे।
‘म यसरी खुलेर नाच्थेँ कि तनाव सबै टाढा भएको महसुस हुन्थ्यो,’ उनी भन्छन्।
क्लबमा उनको नजर डीजेमा पर्यो। डीजेले जस्तो म्युजिक बजायो, त्यसमै मान्छेहरू झुम्थे। त्यत्तिकै खुसी हुन्थे। त्यो देखेर डीजेले मान्छेहरूलाई खुसी बाँड्ने रै’छ भन्ने महसुस सुदनलाई भयो र मनमनै सोचे– म पनि डीजे बन्छु।
डीजेबारे इन्टरनेटमा सर्च गर्न थाले। विभिन्न आर्टिकल पढे। उनका साथीहरू पार्टी आयोजना गर्थे। जहाँ सिकेका कुराहरू उनी अभ्यास गर्थे। क्लबमा गएका बेला एकोहोरो डीजेले गरेका काम हेर्थे। यसरी उनले डीजेका सबै काम कण्ठ पारिसकेका थिए।
होटल हायात रजेन्सीमा उनका साथीहरूले एउटा पार्टी आयोजना गर्ने निर्णय गरे। रेजेन्सीको पार्टी भेन्यु रिजर्भ गरियो। प्रचारप्रसार गरियो। टिकट बेचियो। यही पार्टीमा पहिलोपल्ट सुदनले पूर्ण रूपमा डीजेको भूमिका निर्वाह गरे। मानिसहरूलाई आफ्नो नौलाबाट बज्ने संगीतमा नचाए।
‘मान्छेहरू झुमेर नाचेका थिए नै, पहिलो पार्टीबाटै ७०–८० हजार कमाइ भएपछि मेरो ध्यान त्यसैतर्फ केन्द्रित भयो,’ सुदन सम्झन्छन्।
ठमेल, दरबारमार्गका थुप्रै क्लबमा आबद्ध भइसकेका थिए सुदन। सम्बन्धहरू जोडिन थालेका थिए। पछि उनलाई विज्ञापन, कोरियोग्राफरको अफर पनि आउन थाल्यो। पत्रिकाहरूले अन्तर्वार्ता छाप्न थाले। यसैबाट सेलिब्रिटीहरूसँग चिनजान हुन थाल्यो। सँगसँगै आफैं पनि ठूल्ठूला पार्टी आयोजना गर्न थाले। मोफसलमा पनि पार्टी आयोजनाका क्षेत्रमा त्यतिकै प्रसिद्ध भइसकेका थिए। उनलाई धरानलगायत ठाउँबाट पार्टी आयोजनाका लागि बोलाइन्थ्यो।
सन् २०१२ मा उनले ठमेलमा ‘ओएमजी’ नामको आफ्नै क्लब सुरु गरे। त्यतिबेलासम्म काठमाडौंमा एउटै खालका इभेन्ट्स हुन्थे। आयोजना गर्यो, मान्छे बोलायो, यतिमै सीमित थियो। तर विदेशमा विभिन्न थिममा पार्टी हुन्थे। नेपालका पार्टीहरूमा हुने परम्परागत ढर्रा परिवर्तन गर्न फ्राइडे नाइट र विभिन्न थिममा पार्टीको ट्रेन्ड आफूले सुरु गरेको उनी बताउँछन्।
जहाँबाट फेरिए सुदन
२०७२ वैशाख ११ गते शुक्रबार पनि उनको क्लबमा फ्राइडे नाइट आयोजना भयो। राति पार्टी भएपछि उनको क्लबमा रक्सी खाएर गएका दुई जनालाई प्रहरीले समात्यो। उनीहरूले आफूलाई छुटाइदिन अनुरोध गरिरहेका थिए।
अर्को दिन शनिबार बिहान उनीहरूलाई हिरासतमुक्त गराउन सुदन वसन्तपुरस्थित प्रहरी चौकी पुगे। त्यहाँ पुगेका मात्र के थिए, भूकम्पले पूरै जमिन हल्लायो। सबै जना भगाभाग भयो। भागेर चोकमा पुगेका उनले आफ्नै अगाडि सबै भत्किएको देखे।
भूकम्पले वसन्तपुरको अवस्था बिजोग थियो। शनिबार रक्तदान गरिरहेका मानिसहरू पुरिएका थिए। जताजतै घर, मन्दिर ढलेर मान्छे थिचिएका थिए।
‘दिमागले केही सोच्न सकिरहेको थिएन। चिच्याहट, हारगुहार, उद्धार चलिरहेको थियो। त्यहाँ अरूले जे गरिरहेका थिए, मैले पनि त्यही गरेँ। मान्छेहरूलाई निकाल्न माटो खन्दा औँलाका नाङ असह्य दुखिररहेका थिए,’ सुदन सम्झिन्छन्।
‘दिमागले केही सोच्न सकिरहेको थिएन। चिच्याहट, हारगुहार, उद्धार चलिरहेको थियो। त्यहाँ अरूले जे गरिरहेका थिए, मैले पनि त्यही गरेँ। मान्छेहरूलाई निकाल्न माटो खन्दा औँलाका नाङ असह्य दुखिररहेका थिए,’ सुदन सम्झिन्छन्।
त्यही नजिक एक जना युवक खुट्टा खाँचिएर छटपटाइरहेका थिए। उनले दौडेर प्रहरी चौकीमा राखेको स्कुटर ल्याए र ती मान्छेलाई पछाडि बाँधेर वीर अस्पताल पुर्याए। वीर अस्पतालको अवस्था अझ दयनीय थियो। जताजतै घाइते नै घाइते! त्यसपछि उनी अस्पतालमै उद्धार, सहयोगका लागि खटिए।
महाबौद्धबाट एक महिला बच्चा बोकेर आइरहेकी थिइन्। सुदनले बच्चा समाते र अस्पतालतर्फ लागे। तर अस्पतालको गेटमा पुग्नुभन्दा १० सेकेन्डअगाडि ती बालकले अन्तिम श्वास फेरे।
‘आफ्नै शरीरमा एउटा बच्चाले अन्तिम श्वास फेरेपछि म स्तब्ध भएँ। एक दिनअगाडि जिन्दगी अर्कै थियो। आज अर्कै देखियो,’ सुदन भन्छन्, ‘त्यसपछि मेरो दिमागमा अब जसरी पनि मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने आयो।’
त्यसबेला ट्रमा सेन्टरको बिल्डिङमा इमर्जेन्सीबाहेक अन्य उपचार हुन्थेन। वीर अस्पतालले घाइतेहरू अस्पताल आउने क्रम बढेसँगै ट्रमालाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय ग¥यो। तर अस्पतालमा बेड, स्वास्थ्य सामग्रीलगायत केही थिएनन्।
सुरुमा सुदन– एम्बुलेन्समा ट्रेचरमा बिरामी बोक्ने, औषधि, खाना, पानीको व्यवस्था गरिदिने, सान्त्वना दिने, सरसफाइ गरिदिने काममा एक्लै खटिए।
बिरामीको चाप बढेसँगै उनले सामाजिक सञ्जालमार्फत ट्रमा, वीरमा स्वयंसेवक आवश्यक रहेको लेखे। जहाँबाट ‘हामी नेपाल’ स्वयंसेवी संस्था खडा भयो।
डीजे, रात्रिकालीन मनोरञ्जन व्यवसायबाट उनले राम्रै सम्बन्ध बनाइसकेका थिए। सामाजिक सञ्जालमा लेखेको भोलिपल्ट अपत्यारिलो रूपमा सयभन्दा बढी स्वयंसेवक त्यहाँ पुगे।
सुदनले काम बाँडफाँड गरे। बिरामी एम्बुलेन्समा ल्याउनेबित्तिकै एउटा टिम स्ट्रेचर लिएर तयार हुन्थ्यो। त्यसपछि बिरामीलाई रेड, ग्रिन– कुन जोनमा लैजाने अर्को टिम थियो। अर्को टिमले बिरामीलाई चिकित्सकको सल्लाहअनुसार कहाँ लैजाने हो, लैजान्थ्यो। एउटा टिमले बिरामीलाई खाना, औषधि, पानी के आवश्यक पर्ने हो, त्यो आवश्यकताको सम्बोधन गथ्र्यो।
अनि खर्च नि?
‘त्यसबेला क्लबबाट कमाएको अधिकांश रकम मेरो व्यक्तिगत खर्च भएको छ। एउटा कार्टुन बिलहरूले मात्रै भरिएको थियो,’ सुदन भन्छन्, ‘हामी यति खटेरै काम गरौं कि अस्पतालका सरसफाइकर्माीहरू हात बाँधेर बस्थे। हामीले गु–मुत सबै सोहोर्यौं।’
वीर अस्पताल र ट्रमा सेन्टरमा उनीहरूले गरेको स्वयंसेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले राम्रै कभरेज गरे। जुन अहिले पनि युट्युबलगायत अर्काइभमा हेर्न पाइन्छ।
फरक छ ‘हामी नेपाल’
भूकम्पकै बेला सहयोगका नाममा विभिन्न संघ/संस्थाले विभिन्न कार्यक्रम गर्थे। वास्तवमा उनीहरूको पैसा सहयोगका लागि भन्दा पनि प्रशासनमा बढी खर्च हुन्थ्यो। जुन कुरा सुदनलाई चित्त बुझेको थिएन।
उनी कसैले कसैका लागि सहयोग स्वरुप पैसा दिएपछि पूरै पैसा आवश्यकता पर्नेले पाउनुपर्ने विचार राख्थे। सुदनका अनुसार सोही सोचका साथ प्रशासन, तलब, भत्ता, भाडालगायतमा खर्च शून्य गर्ने गर्दै उठेको पैसा सबै आवश्यकता परेका मान्छेलाई जाओस् भनेर हामी नेपाल संस्थाको उदय भयो।
‘कसैको आँसु बेचेर पैसा कमाउनु गलत हो। जति मान्छेले डोनेसन गरेका छन्। त्यो सबै आवश्यकता परेका मान्छेलाई दिनुपर्छ,’ सुदन भन्छन्, ‘त्यसबेला संघ/संस्थाहरूको खर्च– सहयोगमा कम र प्रशासनमा बढी हुन्थ्यो। यही कुरामा परिवर्तन गर्न हामी नेपालको स्थापना भएको हो।’
सुदनको दाबी अनुसार हामी नेपालमा अहिले पनि प्रशासनिक खर्च सकेसम्म उनी आफैंले बेहोर्ने गरेका छन्। केही साथीले प्रशासन खर्च भनेर छुट्टै सहयोग गर्ने गरेका छन्। त्यसबाहेक सहयोगका लागि उठेको रकम सहयोगापक्षीले पाउँछन्। उठेको सहयोग रकम बिलसहित वेबसाइटमा राख्ने अन्तिम तयारी भइरहेको उनले सुनाए।
त्यसपछि सुदन क्लब लाइफमा फर्किन सकेनन्। भूकम्पको दर्दनाक दृश्य देखेका उनको मन क्लबमा मान्छेहरू नाचेको देख्दा बिझाउन थाल्यो। उनी आफैं पनि क्लब जान चट्टकै छाडेर घरजग्गा कारोबार, रियल स्टेट, एडभेन्चर बिजनेसतर्फ लागे।
अहिले ‘हामी नेपाल’मार्फत स्वयंसेवासँगै सुदनले पोखराको फेवातालमा वाटर स्पोर्टस् खेलाउने तयारी गरेका छन्। फेवातालको टेन्डर उनले २५ वर्षका लागि पाएका छन्।
कोरोना कालमा सक्रिय
भूकम्पपछि बाढी पहिरोले देशभर क्षति पुर्याएका बेला सुदन र उनको स्वयमसेवक टोली खटिन्थ्यो। तर त्यति सक्रिय भने थिएन। कोरोनाका कारण पहिलो लकडाउन भएसँगै रोजगारी गुमाएका, भोकभोकै परेका, रगत, अक्सिजन, एम्बुलेन्स, यातायात आवश्यक परेका खबरहरु सार्वजनिक हुन थाल्यो। यसबेला सुदन र उनको टोली पुनः एक्सनमा आएको हो।
कोरोनामा क्वारेन्टिन लगायतको सही व्यवस्थापन गर्न नसकेको भन्दै इनफइजइनफ आन्दोलन सुरु भएको थियो। जसको अग्रमोर्चामा सुदन र उनको टिम पनि थियो।
त्रिवि शिक्षण अस्पतालमा उनीहरुको टोलीले कोरोना गम्भीर विरामीका लागि उपचारमा सघाउ पुग्ने प्लाज्मा बैंकको स्थापना गरे। कोभिड निको भएका मान्छेहरुलाई घर घरबाट ल्याएर प्लाज्मा दिन अनुरोध गरिन्थ्यो।
दोस्रो लकडाउनमा कोरोना संक्रमितहरु बढेपछि वीर अस्पतालको नयाँ भवनलाई कोरोना बिरामीका लागि प्रयोगमा ल्याइने निर्णय भएको थियो तर विभिन्न बहानामा त्यो सञ्चालनमा ल्याइएको थिएन। उता बेड नपाएर टेकुलगायत अस्पतालमा बिरामीहरु बाहिर नै पाल टाँगेर राखेका दृश्य सुदनलाई बिझायो।
उनले वीरको सञ्चालक चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसीलाई फोन गर्दै अस्पताल सञ्चालनमा आउन नसक्नुको कारण सोधे। भीसीले जनशक्ति नभएर भन्ने जवाफ दिएपछि १०–१५ जना स्वयमसेवक लिएर सुदन वीर अस्पताल पुगे।
पूरानो अस्पतालमा पूराना बेडहरुलाई रंग लगाउँदै नयाँ बनाइँदैथ्यो। ती बेडहरु सबै नयाँ भवनमा सार्न उनीहरुले मद्दत गरे। बेड नपुगेपछि उनले आफ्ना साथीभाईलाई बेडका लागि अनुरोध गरे। विभिन्न व्यक्तिहरुबाट उनले १५० वटा बेड जुटाए।
तीन दिनमा उनीहरुले वीर अस्पतालको नयाँ भवनमा २१७ वटा बेड तयार पारेका थिए।
तीन दिनमा उनीहरुले वीर अस्पतालको नयाँ भवनमा २१७ वटा बेड तयार पारेका थिए। तर टेकुमा बाहिरै राखेर विरामीको उपचार भइरहेको थियो। वीरमा भने उनीहरुले बनाएका बेडहरु पनि खाली हुँदा उनलाई नराम्रो लाग्यो।
‘सबै कुरा तयार हुँदा पनि वीरका बेडहरु भने खाली थिए। कुर्सीमा बसेका जिम्मेवार मान्छेले केही गर्न नसकेको परिणाम थियो त्यो। काम गर्न नसक्ने व्यक्तिले पद छाडिदिए भैगयो नि,’ सुदन आक्रोशित हुँदै सोध्छन्, ‘पछि डा. जागेश्वर गौतम आएपछि एकहप्तामा अस्पताल सञ्चालनमा आयो। जागेश्वरलाई तालि बजार हामीले स्वागत गर्यौँ। गौतमले सक्छन् भने पहिलेका पदाधिकारीहरुले किन सक्दैनन्?’
(नेपालखबरको स्टोरी यहाँ पढ्न सक्नुहुन्छ।)





