.संक्षेपमा.
- चोरी र हिनामिना भएको रकम २० हजार युरो भन्दा बढी।
- आरोपीलाई ७ महिनाको निलम्बित जेल सजाय।
- सञ्चालकलाई महिनौंसम्म आर्थिक संकट र तनाव।
हेलसिन्की जिल्ला अदालतले हेलसिन्कीको माल्मीस्थित एक रेष्टुरेन्टमा काम गर्ने म्यानेजरलाई कम्पनीको रकम चोरी र हिनामिना गरेको अभियोगमा दोषी ठहर गरेको छ।
उक्त रेस्टुरेन्टका मालिक नेपाली व्यवसायी प्रकाश ढकाल हुन् भने म्यानेजर स्थानीय फिनिस महिला हुन्। अदालतले उक्त महिलालाई ढकालको पन्चो भिल्ला (मेक्सिकन) रेष्टुरेन्टबाट नगद चोरी र ठगी गरेको प्रमाणित गर्दै गत महिना सजाय सुनाएको हो।
अदालतको फैसलाको सात पेज लामो पूर्ण पाठ नेपालीलाइनेनले हेरेको छ। साथै रेस्टुरेन्ट व्यवसायी ढकालसँग पनि नेपालीलाइनेनले घटना कसरी भएको थियो भन्नेबारे कुरा गरेको छ।
अदालतको फैसला अनुसार रेष्टुरेन्ट म्यानेजरको जिम्मेवारीमा रहेकी महिलाले १ अप्रिल २०२३ देखि २ जनवरी २०२४ को बीचमा यी अपराध गरेकी हुन्।
उनले रेष्टुरेन्टको बिक्रीबाट जम्मा भएको रकम बैंकमा दाखिला गर्नुको साटो ११,७२२.३३ युरो आफैंले राखेकी थिइन्। यसका साथै उनले रेष्टुरेन्टको काउन्टर (क्यास बक्स) मा राखिएको खुद्रा पैसाबाट पनि ४,३२६ युरो चोरी गरेकी थिइन्।
नगद चोरी बाहेक उनले काम नै नगरेको समयको पनि तलब लिएकी थिइन्। उनले २११ घण्टा भन्दा बढी समय काम गरेको भन्दै झुठो विवरण पेश गरेर कम्पनीबाट थप ४,४०० युरो तलब बुझेकी थिइन्। उनले कुल २० हजार युरो भन्दा बढी रकम हिनामिना गरेकी थिइन्।।
“सिफ्ट राखेर काम नै नगर्ने। आठ घण्टाको सिफ्ट राखेर एक घण्टाको काम गर्ने। अनि डाक्टरको पेपर बिना नै बिरामी छु भनेर बिरामी बिदा बस्ने गरेकी थिइन्।” रेस्टुरेन्ट सञ्चालक ढकालले नेपालीलाइनेनलाई भने। “मैले विश्वास गरेर सबै जिम्मेवारी दिएको थिएँ। तर त्यही विश्वासको फाइदा उठाइन्। एउटा जिम्मेवार म्यानेजरले गर्नुपर्ने काम नगरेर पुरै लापरबाही गरिन्। “
सञ्चालकलाई ठूलो धक्का
घटनाले ढकालको रेस्टुरेन्टलाई गम्भीर आर्थिक असर पारेको अदालतको फैसलामा उल्लेख छ। ढकालका अनुसार नगद चोरी र अपचलन भन्दा गम्भीर असर म्यानेजरको लापरबाही र गैर-जिम्मेवारपूर्ण व्यवहारले पारेको थियो। त्यसका कारण कम्पनीलाई लगभग एक लाख युरोको क्षति भएको ढकालको आकलन छ।
ढकालले अदालतमा दिएको बयानमा पनि रकम हिनामिना र म्यानेजरको लापरबाहीका कारण कम्पनीले ठूलो नगद अभाव झेल्नुपरेको बताएका छन्। कम्पनीले समयमा बिलहरू तिर्न अफ्ठ्यारो परेको र अन्य कर्मचारीको तलब भुक्तानीमा समेत ढिलाइ भएको थियो।
म्यानेजरले गरेको हिनामिनाको प्रभाव लामो समयसम्म रहेको र रेष्टुरेन्टले एक जना सिफ्ट म्यानेजरलाई आर्थिक कारण देखाउँदै कामबाट निकाल्नु परेको समेत अदालतले फैसलामा उल्लेख गरेको छ।
उक्त म्यानेजरलाई हटाएर आफूले हेर्न थालेपछि कम्पनी फाइदामा गएको ढकालले नेपालीलाइनेनलाई बताए।
उक्त म्यानेजरलाई हटाएर आफूले हेर्न थालेपछि कम्पनी फाइदामा गएको ढकालले नेपालीलाइनेनलाई बताए।
फैसला र क्षतिपूर्ति
अदालतमा दोषीले आफूले गल्ती गरेको स्विकारेकी थिइन्। यद्यपि उक्त अपराधलाई ‘गम्भीर हिनामिना’ र ‘ठगी’ को रूपमा नभएर ‘साधारण प्रकृतिको हिनामिना’ र ‘ठगी’को रूपमा वर्गीकरण गरिनु पर्ने उनको जिकिर थियो।
अदालतले उनको अनुरोधलाई अस्वीकार गर्दै म्यानेजर जस्तो जिम्मेवार पदमा बसेर विश्वासघात गरेको, अपचलन गरेको रकम धेरै ठुलो रहेको, र उनको अपराधका कारण ढकालको व्यवसाय नै आर्थिक सङ्कटमा फसेको भन्दै ‘गम्भीर हिनामिना’ र ‘ठगी’मा दोषी ठहर गरेको हो।
अदालतले उनलाई ७ महिनाको निलम्बित जेल सजाय सुनाएको छ।
साथै अदालतले दोषीलाई हिनामिना गरेको सम्पूर्ण रकम ब्याजसहित फिर्ता गर्न आदेश दिएको छ। दोषीले पीडित कम्पनीलाई २०,४४८.३३ युरो क्षतिपूर्ति र ३,३६१.५७ युरो कानुनी खर्च तिर्नुपर्नेछ।
“श्रीमानसँग छुट्टिएकी महिला हुन्, साना-साना बच्चा छन्। उनलाई जेल सजाय होस् भन्ने मेरो पनि चाहाना थिएन।” ढकालले भने, “तर चोरेको पैसा त फिर्ता गर्नुपर्यो भन्ने थियो।”
ढकालका अनुसार अदालतमा दोषीले “जे गर्दा पनि पैसाले नपुगेपछि चोर्न थालेको र एकदिन, दुईदिन हुँदै चोर्ने बानी लागेको” बताएकी थिइन्।
उनको मासिक तलब ३,५०० युरोभन्दा बढी भए पनि धेरै ऋण, छोराछोरीको खर्च र उनी एकल महिला भएका कारण उनको मासिक खर्च उच्च रहेको आफूले थाहा पाएको ढकालले बताए।
कम्पनीका एकाउन्टेन्टले क्यास काउन्टरमा जम्मा भए बराबरको पैसा बैङ्क एकाउन्टमा जम्मा नभएको बताएपछि ढकाल झस्केका थिए।
त्यसपछि उनले पैसा राख्ने ठाउँमा सिसी क्यामरा जडान गरेका थिए। ढकालका अनुसार सिसी क्यामरा राखेको भोलिपल्टै म्यानेजरले डिपोजिट गर्नुपर्ने पैसा चोरेर आफैले राखेको दृश्य क्यामरामा कैद भएको थियो।
ढकाल भन्छन्ः चोर र ठगको राष्ट्रियता नहुने रैछ
नेपालीलाइनेनले व्यवसायी ढकालसँग “यो सबै घटनाबाट के सिक्नु भयो त?” भनेर सोधेको थियो।
ढकालले फिनल्यान्डमा आफू दुई पटक चोरीको सिकार भएको अनुभव सुनाए।
“पहिले कोत्कामा पनि मेरो सुटकेसहरू चोरी भएको थियो,” उनले भने। “फिनिसहरू त हुन्, के चोर्लान् र भनेर त्यतिकै अपार्टमेन्टको प्यासेजमा राखेको थिए। त्यही घरमा बस्नेले चोरेछन्।”
“त्यसपछि आएका प्रहरीलाई ‘फिनल्यान्डमा पनि के चोरी होला र भनेर त्यतिकै छोडेको’ भनेको थिएँ। प्रहरीहरू त हाँसे।” ढकालले भने। ” ‘चोरी र अपराध नहुने भए हामी प्रहरीहरू किन हुन्थ्यौँ र!’ भने।”
“चोरी, ठगी, र अपराध जसले पनि गर्न सक्दो रहेछ। यो देशको मान्छेले गर्छ, अर्कोले गर्दैन भन्ने नहुने रहेछ। त्यही सिकियो!” ढकालले हाँस्दै भने।





