.संक्षेपमा.
- फिनल्याण्डमा पछिल्ला दुई वर्षमा टिक-बोर्न इन्सेफलाइटिस (TBE) का घटनाहरूमा तीव्र वृद्धि।
- जलवायु परिवर्तन र किर्नाहरूको विस्तारका कारण संक्रमण बढ्दो।
- TBE विरुद्ध खोप प्रभावकारी, तर किर्नाको टोकाइबाट बच्नु नै उत्तम रोकथाम।
के तपाई फिनल्यान्डमा बाहिर धेरै हिँडडुल गर्ने, जङ्गलतिर जाने आदि गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने किर्ना अर्थात् Punkki को टोकाइबाट बच्न विशेष ख्याल गर्नुहोला।
किनकी फिनल्याण्डमा किर्नाले सार्ने खतरनाक रोग टिक-बोर्न इन्सेफलाइटिस (TBE) को संक्रमण विगत दुई वर्षमा नाटकीय रूपमा बढेको छ। स्वास्थ्य तथा कल्याण संस्थान (THL) को तथ्याङ्क अनुसार विशेषगरी उत्तरी ओस्ट्रोबोथनिया र उत्तरी साभो क्षेत्रमा TBE भाइरस संक्रमणका घटनाहरूमा अचानक वृद्धि देखिएको छ। जलवायु परिवर्तन र किर्नाहरूको भौगोलिक विस्तारलाई यस वृद्धिको सम्भावित कारण मानिएको छ।
उत्तरी ओस्ट्रोबोथनिया स्वास्थ्य सेवा क्षेत्र TBE संक्रमणको तीव्र वृद्धिका कारण विशेष रूपमा प्रभावित भएको छ। यस क्षेत्रमा लामो समयसम्म केही मात्र घटनाहरू देखिए पनि सन् २०२३ मा १५ र गत वर्ष (२०२४) मा २० वटा TBE संक्रमणका घटनाहरू पुष्टि भएका थिए। यस वर्षको वसन्त ऋतुको अन्त्यसम्ममा पनि केही नयाँ संक्रमणहरू देखिइसकेका छन्। उत्तरी साभोमा पनि गत वर्ष TBE भाइरस संक्रमणमा उल्लेखनीय वृद्धि भएको थियो। कुओपियो शहरमा मात्र ९ वटा केस देखिएका थिए।
टिक-बोर्न इन्सेफलाइटिसलाई प्रायः सामान्यभन्दा कडा उपचार चाहिन्छ र यसले कसैकसैको ज्यान नै पनि लिन सक्छ।
औलु विश्वविद्यालय अस्पताल (OYS) न्यूरोसेन्टरका न्यूरोलोजी विशेषज्ञ डा. लौरा टेर्भोनेनका अनुसार, “औलु विश्वविद्यालय अस्पतालमा यो रोगको प्रकोप स्पष्ट रूपमा देखिएको छ। पहिलेभन्दा धेरै केसहरू छन् र धेरैलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपरेको छ।” यद्यपि कहिलेकाहीँ यो रोग लगभग थाहै नपाई पनि निको हुन सक्छ।
THL का अनुसार जलवायु परिवर्तनसँगै किर्नाहरूको सक्रियता अवधि लम्बिएको छ र यसले संक्रमणका घटनाहरू पनि बढाएको छ। मानिसहरू किर्नाले सार्ने रोगहरूबारे बढी सचेत पनि भएका छन् र निदान पनि बढेको छ।
वातावरणीय र जलवायु परिवर्तनसँगै फिनल्यान्डका भित्री भूभागमा पनि रोगका घटनाहरू बढ्ने प्रक्षेपण छ। किनकी किर्नाहरू उत्तरी ल्यापल्याण्ड बाहेक लगभग सम्पूर्ण फिनल्याण्डमा फैलिसकेका छन्।
कस्तो रोग हो TBE?
यो भाइरल रोग हल्का ज्वरो, टाउको दुखाइ र थकानका साथ निको पनि हुन सक्छ। तर न्यूरोलोजी विशेषज्ञ डा. टेर्भोनेनका अनुसार ज्यान जाने खतरा पनि हुन्छ। उनले आफैंले सन् २०२४ को समरमा तीन जना टिक-बोर्न इन्सेफलाइटिसका बिरामीहरूको उपचार गरेकी थिइन्। “एउटा संक्रमण हल्का थियो, एउटा मध्यम रूपमा गम्भीर थियो र दुर्भाग्यवश एक बिरामीको मृत्यु भयो,” उनले भनिन्।
टिक-बोर्न इन्सेफलाइटिसका लक्षणहरूमा ज्वरो, कडा टाउको दुखाइ, भ्रम र बान्ता पर्दछन्। गम्भीर अवस्थामा चेतना गुम्ने, ऐंठन हुने र पक्षाघातका लक्षणहरू देखिन सक्छन्।
छालामा किर्नाले टोकेको देखिएमा TBE संक्रमणको सम्भावना बढ्छ। यो रोग मस्तिष्क-मेरुदण्ड तरल पदार्थको नमूनाबाट पत्ता लगाइन्छ र नतिजा रगत परीक्षणबाट पुष्टि गरिन्छ। TBE खोपले यो रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ। तीन डोज खोपले दशमध्ये नौभन्दा बढी TBE का घटनाहरूलाई रोक्न मद्दत गर्दछ।
डा. टेर्भोनेनका अनुसार टिक-बोर्न इन्सेफलाइटिसको लागि भाइरस मार्ने औषधि छैन, त्यसैले यसको उपचार लक्षणात्मक हुन्छ।
“विशेषगरी सघन उपचारमा रहेका बिरामीहरूलाई बोरेलियोसिस जस्ता ब्याक्टेरियाजन्य संक्रमण हुन सक्छ। त्यस्तो अवस्थामा हामीले एन्टिबायोटिक औषधि प्रयोग गरेका छौं।” डा. टेर्भोनेन भन्छिन्।
TBE को उपचार हप्तौंसम्म चल्न सक्छ र यो रोगले दीर्घकालीन लक्षणहरू पनि छोड्न सक्छ।
किर्ना क्षेत्र कसरी पहिचान गर्ने?
किर्ना फिनल्यान्डका लगभग सबै क्षेत्रमा पाइन्छ। तुर्कु विश्वविद्यालय र औषधि कम्पनी फाइजरद्वारा सञ्चालित ‘पुंकी लाइभ’ (Punkkilive.fi) सेवाले फिनल्याण्डमा हालै हजारौं किर्नाहरू रहेको देखाएको छ। गत वर्षको तुलनामा यस वर्ष धेरै किर्ना देखिएको पुंकी लाइभमा उल्लेख छ। यस वर्ष अहिलेसम्म करिब ४९,००० किर्ना देखिएका रिपोर्ट गरिएका छन्, जबकि गत वर्ष कूल करिब ६२,००० देखिएका थिए।
टुर्कु विश्वविद्यालयका जीवविज्ञान विभागका एसोसिएट प्रोफेसर इरो भेस्टेरिनेनका अनुसार, ‘पुंकी लाइभ’ सेवाले मानिसहरूले कति किर्नाहरू भेट्छन् र रिपोर्ट गर्छन् भन्ने मापन गर्छ। यसबाट किर्नाहरूको वास्तविक संख्याबारे सीधा निष्कर्ष निकाल्न भने सकिँदैन।

किर्नाले बोरेलियासिस (लाइम रोग) र टिक-बोर्न इन्सेफलाइटिस जस्ता खतरनाक रोगहरू सार्छन्।
साइबेरियन किर्ना (टाइगा किर्ना) को सक्रियता मे-जूनमा चरम हुन्छ भने साधारण किर्ना वसन्त/प्रारम्भिक गर्मी र ढिलो गर्मी/शरद ऋतुमा सक्रिय हुन्छ।
किर्नाले बोरेलियासिस (लाइम रोग) र टिक-बोर्न इन्सेफलाइटिस जस्ता खतरनाक रोगहरू सार्छन्।





